एसियाड क्रिकेटमा नेपाल भारतसँग २३ रनले पराजित

Advertisement

काठमाडौँ । चीनको हाङझाउमा जारी एसियाली खेलकुद प्रतियोगिता (एसियाड) अन्तर्गत आज भएको क्वाटरफाइनलमा पुरुष टी २० क्रिकेटमा नेपाल भारतसँग २३ रनले पराजित भएको छ । 

टस जितेर पहिले ब्याटिङ  गरेको भारतले निर्धारित २० ओभरमा चार विकेटको क्षतिमा २०२  रन बनायो । भारतका लागि ओपनर यशस्वी जयसवालले शतकीय पारी खेले । उनले ४९ बलमा आठ चौका र सात छक्का प्रहार गर्दै एक सय रन बनाए । 

Advertisement

साथै रिङ्कु सिंहले ३७ तथा ऋतुराज गायक्वाड र शिवम दुवेले समान २५–२५ रनको योगदान दिए । नेपालका लागि दीपेन्द्र सिंह ऐरीले दुई तथा सोमपाल कामी र सन्दीप लामिछानेले एक–एक विकेट लिए । 
    
दुई सय तीन रनको लक्ष्य पछ्याएको नेपाल निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा एक सय ७९ रन मात्रै बनाउन सक्यो । नेपालका लागि दीपेन्द्र सिंह ऐरीले चार छक्काको सहायतामा ३२ रन बनाए । साथै सन्दीप जोरा र कुशल मल्ले समान २९–२९ रन बनाए भने कुशल भुर्तेलले २८ रनको योगदान दिए । करण केसी १८ रनमा अविजित रहे । 

भारतका लागि आवेश खान र रवी विस्नोइले समान तीन–तीन विकेट लिए भने अर्शदीप सिंहले दुई तथा साई किशोरले एक विकेट लिए । जितसँगै भारत सेमिफाइनलमा प्रवेश गरेको छ । यो हारसँगै नेपाल प्रतियोगिताबाट बाहिरिएको छ ।

Advertisement

Advertisement