घरजग्गा कर्जामा धितोको सीमा खुकुलो, राष्ट्रियस्तरका विकास बैंकलाई सुविधा थप

Advertisement

काठमाडौं । नेपाल राष्ट्र बैंकले काठमाडौं उपत्यका पनि घरजग्गाका लागि जाने कर्जामा बैंकहरूले धितोको ५० प्रतिशतसम्म रकम लगानी गर्नसक्ने व्यवस्था गरेको छ । 

राष्ट्र बैंकले बिहीबार बैंक वित्तीय संस्थालाई परिपत्र जारी गर्दै हाल काठमाडौंभित्रको घरजग्गा कर्जामा धितोको सीमा ५० प्रतिशतसम्म पुर्याएको हो । यसअघि यस्तो सीमा काठमाडौं उपत्यकामा ४० प्रतिशत थियो भने उपत्यका बाहिर ५० प्रतिशत नै थियो । 

Advertisement

साथै, राष्ट्र बैंकले घरजग्गाको धितोमा लिइने व्यक्तिगत ओभरड्राफ्ट कर्जामा समेत ५० प्रतिशतसम्म कर्जा पाइने व्यवस्था गरेको छ । त्यस्तै बैंकहरूले असल कर्जामा राख्नुपर्ने कर्जा नोक्सानी व्यवस्था समेत घटाइएको छ ।

अब बैंकहरूले असल कर्जामा १.२५ प्रतिशत मात्रै नोक्सानी व्यवस्था गरे पुग्ने छ । यसअघि यस्तो व्यवस्था १.३ प्रतिशत थियो । बैंकहरूले अब कर्जा तथा सापटको ब्याजदर निर्धारण गर्दा एउटै प्रकृतिका कर्जा तथा सापटको ब्याजदर अन्तर २ प्रतिशत बिन्दुभन्दा बढीले फरक पार्न नपाउने छन् । 

बैंकहरूले प्राइभेट इक्विटी तथा भेन्चर क्यापिटलको शेयरमा गरिएको कुल लगानी रकमलाई पुँजी कोष गणना गर्दा प्राथमिक पुँजीमै जोड्न पाउने, राष्ट्रियस्तरका विकास बैंकलाई समेत वाणिज्य बैंकसरह निक्षेप संकलनमा कुनै सीमा नलाग्ने व्यवस्था गरिएको छ । 

राष्ट्र बैंकले बैंकहरूले चालु आर्थिक वर्ष २०८०–८१ मा अतिरिक्त पुँजी कोषमा ०.५ प्रतिशत रकम राख्नु पर्ने व्यवस्था कार्यान्वयनमा ल्याएको छ ।

Advertisement