सुन तस्करीमा संलग्नलाई चिनियाँ प्रहरीले पक्राउ गर्न थाल्यो, रसुवाका चार जना बेपत्ता

Advertisement

काठमाडौं । सुन तस्करीमा संलग्न नेपाली नागरिकलाई चिनियाँ प्रहरीले पक्राउ गर्न थालेको छ । 

चिनियाँ नाकाबाट सुन बोकेर आएका केही नेपाली नागरिक चीनमै पक्राउ परेको नेपाल प्रहरीले जनाएको छ । 

Advertisement

प्रहरी स्रोतका अनुसार चार जना रसुवाका नागरिक सम्पर्क बिहीन भएका छन् । उनीहरु चीन प्रवेश गर्ने पास लिएर रसुवागढी नाकाबाट चीन प्रवेश गरेका थिए । तर लामो समयसम्म सम्पर्कमा नआएको प्रहरीले बताएको हो । प्रहरीले सम्पर्कमा नरहेका नागरिकको परिचय भने खुलाएको छैन । 

प्रहरी स्रोतले कर्पोरेटनेपालसँग भन्यो, ‘पछिल्लो समय चिनियाँ प्रहरीले सीमा नाकामा अवैध सुन बोकेर आउने व्यक्ति पक्राउ गर्न सुरु गरेको छ, पछिल्लो २ हप्तादेखी अस्थायी पास लिएर चीनको नाका प्रवेश गरेका केहि नागरिक चिनियाँ प्रहरीले पक्राउ गरेको खबर प्राप्त भएको छ।’

स्रोतका अनुसार ती नागरिकबाट करिब ६ किलो सुन बरामद गरेको चिनियाँ प्रहरीले नेपाल प्रहरीलाई जानकारी दिएको छ । यसरी जफत भएको सुन भने चिनियाँ पार्टीले बिल बुझाएर जरिवाना तिरी फिर्ता लैजाने गरेका छन् । सुन बोक्ने भरिया भने २ वर्षसम्म जेल बस्नुपर्ने नियम छ ।

पछिल्लो समय चिनियाँ प्रहरीले पनि सीमा नाकामा सुन बोकेर हिड्ने नेपालीलाई पक्राउ गर्न सुरु गरेको रसुवा भन्सारका एक कर्मचारीले बताए । ती कर्मचारीले पनि रसुवाका केही नागरिक सम्पर्क बिहीन भएको पुष्टी गरे । 

सीमा नाकामा यसरी आउने सुनको चिनियाँ पार्टीले बिल देखाउने गरेको छ । यस्तो  सुन नेपालीले बोकेपछि भने उसले चिनियाँ भूमिमा स्रोत देखाउन सक्दैन र प्रहरीले पक्राउ गर्ने गरेको छ । नेपाली भरियाले एक किलो सुन सम्बन्धित स्थानमा पुर्याउन सके प्रतिकेजी ८० हजार रुपियाँ समेत प्राप्त गर्ने गरेका छन् ।

त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट साउन २ गते ६०.७१६ किलो सुन जफत भएपछि नेपाल सुन तस्कर‍ीको ठूलो ट्रान्जिट पोइन्ट भएको खुलेको हो । भन्सार नाकाबाट सनु ल्याउन कडाई गरेपछि तस्करीहरुले स्थल मार्गबाट सुन तस्करी गर्न सुरु गरेका  हुन् । 

चीनसँग सिमा जोडिएका नाकाहरुबाट धमाधम सुन भित्रिन थालेपछि चिनियाँ प्रहरीले पनि सतर्कता बढाएको हो ।

Advertisement

Advertisement