हिम मजदुरहरुको गाउँका फिन्जो

Advertisement

काठमाडौं । धार्मिक, सांस्कृतिक एवं पर्यटकीय हिसाबले महत्वपूर्ण रहेको दोलखाको गौरीशंकर गाउँपालिका पर्यटकीय गन्तव्यका रुपमा प्रसिद्ध छ । गौरीशंकर हिमालको दृश्यले वर्षेनी हजारौं पर्यटक लोभ्याउने यो हिमाल शिव पार्वतीको प्रतिकको रुपमा लिइन्छ । 

धार्मिक आस्थाकै कारण गौरीशंकर हिमाल मानिसहरुलाई आरोहण गर्न प्रतिबन्ध छ । यसै भर्जिन हिमाललाई आधार मानेर नेपालको प्रमाणिक समय समेत निर्धारण गरिएको छ । 

Advertisement

च्छो रोल्पा हिमतालको अवलोकनका क्रममा पैदल यात्रीहरूले छुटाउनै नहुने पर्यटकीय गन्तव्य हो, रोल्वालिङ वेदिङ गाउँ । माउन्ट केटु विन्टर विश्वको रेकर्ड तोड्ने पर्वतारोहीहरु पनि यसै गाउँका बासिन्दा हुन् । 

यही गाउँमा च्छो रोल्पा हिमतालको काखमा चिसोसँगै लुकामारी खेल्दै, कहिले डुबुल्की मार्दै, लेकाली घाँस र चरनमा याक र चौरी गोठालो भएर पर्वतारोही फिन्जोको बाल्यकाल बित्यो । उनीसँग वेदिङ गाउँमा हिउँसँगै खेलेर ६६ वसन्त बिताएको ताजा अनुभव छ । 

रोल्वालिङ वेदिङका समाजसेवी ङाङ्दे लामा र छोक्की शेर्पाको माइलो छोराका रुपमा वि.सं. २०१५ सालमा जन्मिएका फिन्जोको बाल्यकाल रोल्वालिङ हिमालको काखमा अवस्थित वेदिङ गाउँमा च्छो रोल्पा हिमताल वरपरको लेकमा याक र चौंरीको गोठालो बनेर बितेको थियो । 

फिन्जोका बुबा ङाङ्दे लामा वेदिङस्थित साङ्गाछोयालिङ  गुम्बाका प्रमुख लामा थिए । उनलाई राजा महेन्द्रको पालामा लामा देश दर्शनका लागि पटकपटक सहभागिता जनाउने अवसर मिलेको थियो । त्यसबखत उनले राजा महेन्द्रबाट पदक समेत पाएका थिए । पचहत्तर जिल्लाबाट देश दर्शनका लागि भेला भएका विद्धान् लामाहरुलाई राजा महेन्द्रले दुई ढुंङ्गा बीचको तरुल भनेको के हो ? भन्ने प्रश्नको जवाफमा ‘चीन, नेपाल, भारत’ भन्ने उत्तर दिन सफल भएबापत् ङाङ्दे लामा राजाबाट विभूषित भएका थिए । उनकै पालामा साङ्गाछोयालिङ गुम्बा बनाउने कामको थालनी भएको थियो । 

साहसी हिमआरोहीहरुको गाउँ भनेर चिनिने वेदिङवासीको मुख्य पेसा भनेकै पर्वतारोहण हो । फिन्जो पनि १२ वर्षको कलिलो उमेरमा ५० केजीको भारी बोकेर विदेशी पर्यटकको पोर्टर बनेका थिए । शुरुमा भारी बोक्ने र पैसा कमाउनुपर्ने बाध्यताले यस क्षेत्रमा लागेका उनले पर्वतारोहणको यात्रा भने सन् १९८५ बाट शुरु गरेका थिए । रोल्वालिङबाट सात हजार मिटरको उचाइमा रहेको टासीलाप्चा पास गर्दै, हिमाल र हिउँसँग लुकामारी खेल्दै थामे हुँदै सगरमाथा बेस क्याम्पसम्म विदेशी पर्वतारोहीको भरिया र कुल्ली बनेकै अनुभवले फिन्जोलाई हिमाल आरोहण गर्ने प्रेरणा मिलेको थियो । 

उनले सन् १९९१ मा पहिलो पटक सगरमाथा आरोहण सम्पन्न गरेका थिए । त्यसपछि फिन्जोले सन् १९८५ देखि २००४ सम्म अवधिमा ५ पटकसम्म सगरमाथा आरोहणको सफल यात्रा गरेर विश्व कीर्तिमानी कायम गरे । उनले आरोहणका क्रममा नेपालको झण्डालाई सगरमाथाको शिखरमा राखेर नेपाल र नेपालीको नाम संसारमा चिनाएका छन् ।

यस कार्यले फिन्जोलाई हौसला मात्रै थपेन, संसारभरि चिनिने अवसर पनि मिल्यो । उनको यो यात्रा यतिमा मात्रै रोकिएन । फिन्जो आठ हजार मिटर उचाइका अरु हिमालहरु पनि आरोहण गर्न सफल भए । प्रायः वर्षेनी ३ सिजनमा हिमाल चढ्नेहरुको घुँइचो लाग्ने हुँदा विभिन्न देशका पर्वतारोहीहरु सँगसँगै हिमाल आरोहण गर्नु, ट्रेकिङ गाइड गर्नु, हिमाल चड्नु, र हिउँको चिसोसँगै खेल्नु उनको दैनिकी जस्तै थियो । पर्वतारोहणका कठिन यात्राका दिनहरुमा फिन्जोले थुप्रै तीतामीठा अनुभव मात्र बटुलेनन् नेपाल र नेपालीलाई संसारभर चिनाउन सफल भए । 

अहिले पनि उनी ट्रेकिङ् गाइड र समाज सेवामा त्यतिकै सक्रिय छन् । गरिबी र अभावबाट बच्नका लागि विदेशी पर्यटकको भारी बोकेर पैसा कमाउनुपर्ने बाध्यताले थालिएको पोर्टर कामले फिन्जोलाई एउटा सफल पर्वतारोही, टुरिष्ट गाइड र समाजसेवीका रुपमा चिनाएको छ । फिन्जो समाज सेवामा पनि निकै सक्रिय छन् । फिन्जोको आफ्नै पहलमा वेदिङमा थुप्रै विकास निर्माणका काम भएका छन् । 

उनकै सक्रियतामा माथिल्लो तामाकोसीबाट वेदिङ सम्म १६ किमि राष्ट्रिय बिद्युत् प्रशारण लाइन पुर्याइएको छ । वेदिङ खोलामा तटबन्धनका लागि तार जालीले बाँध्ने काम भएको छ । थोमालुङ खोलाको झोलुङ्गे पुल निर्माणको काम पनि उनको योगदान रहेको छ । यही आर्थिक बर्षका लागि वेदिङ झरनाको पहिरो रोकथामका लागि तीन सय पचास मिटर तटबन्धन निमार्णका लागि सरकारसँग तारजालीको माग गरिएको छ । 
   
फिन्जोकै पहलमा वेदिङमा टेलिफोनको टावर स्थापना गरिएको छ । टावर स्थापना भएपछि सिमी गाउँबाट माथि मोबाइलको नेटवर्कको सहारा यहीँ टावर मात्रै छ । यहाँसम्म टुजी नेट पनि चल्ने गरेकोले सामाजिक सञ्जालमा वेदिङवासी जोडिन पाएका छन् । उनकै सक्रियतामा अहिले वेदिङबाट च्छो रोल्पा, ना गाउँ र दुधकुण्ड आसपासको हिमाली बस्तीका लागि लक्षित गरी टुजी जीएस एम मोबाइल टेलिफोनको टावर निर्माण भइरहेको छ ।  
गौरीशंकर गापा वडा नम्बर ९ स्थित ना गाउँमा मोबाइल टावर ढुवानी खर्चका लागि नेपाल दरसञ्चार प्राधिकरण ग्रामीण दूरसञ्चार विकास शाखाबाट रकम माग भई काम अगाडि बढाइएको छ । फिन्जोकै पहलमा स्वास्थ्य चौकी स्थापना भएको छ । आधारभूत तहको विद्यालय समेत स्थापना गरेका छन् । अहिले उनको सक्रियतामा माथिल्लो तामाकोशीदेखि वेदिङसम्म मोटर बाटो पुर्याउन पहल गरिएको छ । 

२०७२ सालको विनाशकारी भूकम्पले निम्त्याएको महाविपत्तिमा एमआई १७ हेलिकोप्टरको प्रयोग गरी डब्लुएफपीको खाद्य कार्यक्रमअन्तर्गत राहतस्वरुप खाद्यान्न वेदिङवासीलाई बाँड्ने काममा होस् या साँगाछोयालिङ गुम्बा निर्माणका लागि २१ टिप हेलिकोप्टरबाट ढुवानी गरी गुम्बा निर्माणको काम उनकै पहलमा सम्भव भएका छन् ।

साथै उक्त गुम्बाको भान्साघरको छाना र माने हाङको छानालाई १५० थान जस्तापाता उपलब्ध गराई छानो छाउने काम गरेका छन् । अहिले वेदिङ गाउँबाट ना गाउँ, च्छो रोल्पा हिमतालसम्म बिद्युत् प्रसारणका लागि राष्ट्रिय प्रसारण लाइनको तार, खम्बा र जडान कार्य अगाडि बढिरहेको छ । यद्यपि थुप्रै जटिलता र विकटताले भरिएको वेदिङमा अहिलेसम्म यातायातको सुविधा भने पुगेको छैन् । 

सगरमाथा राष्ट्रिय निकुञ्जको लुबुचे एभरेस्ट बेस क्याम्प नजिकै होटल र लज सञ्चालन गरेको अनुभवले फिन्जोलाई दिङ्बुचेमा रहेको गेष्ट हाउस सञ्चालनमा ठूलो मद्दत पुगेको छ । उनका तीन छोरा छन् । अहिले उनी सपरिवार सगरमाथा बेस क्याम्प नजिकै दिङ्बुचेस्थित आफ्नै गेष्ट हाउसमा बस्दै आएका छन् ।

व्यक्तिगत जीवनभन्दा सामाजिक जीवनमा बढी रमाउन चाहने फिन्जो आफ्नो गाउँ आफैं बनाउनुपर्छ, गाउँको विकास नभई जनताको जीवनस्तर उठाउन सकिँदैन् । सबै काममा फाइदा मात्रै हेरेर हुँदैन, समाज सेवा पनि गर्नुपर्छ भन्ने मान्यता राख्छन् । उनका विचारले जोकोहीको मन छुन्छ । मैले मेरो गाउँको विकासका लागि पहल नगरे कसले गर्दिन्छ ? म अगाडि नसरे गाउँमा न बिजुली पुग्थ्यो । न टेलिफोनको टावर ठडिन्थ्यो । न त स्वास्थ्य चौकी बन्थ्यो । न स्कुल नै स्थापना हुन्थ्यो । अनि मैले मेरो गाउँको लागि पहल नगरे बाहिरका मान्छेले गर्ने कुरा हुन्छ र ?

आफ्नो जीवनकालमा निकै संघर्ष गर्दै यहाँसम्म आइपुगेका फिन्जोलाई उनले गरेको योगदानको कदरस्वरुप विभिन्न समयमा विभिन्न संघसंस्था र सरकारले समेत सम्मान एवं विभूषित गरेको छ । अन्तर्राष्ट्रिय रुपमा समेत पर्वतारोहीका रुपमा चिनिने फिन्जो शेर्पा गोरखा दक्षिण बाहु तेस्रो २०५९, राष्ट्रिय सेवा सम्मान २०७४, माउन्ट एभरेस्ट सेवा पदक पर्यटन मन्त्रालय, नेपाल माउन्टेनरिङ एसोसिएसन सेवा पदक, माउन्ट एभरेस्ट सेवा पदक, भूगुम्बा सेवा पदक, लगायत थुप्रै सम्मान तथा पदकहरुले सम्मानित समेत भइसकेका छन् । 
 
बाँचुन्जेलसम्म समाज सेवा गर्ने फिन्जोको सोचाइ रहेको छ । अहिले पनि उनी निष्ठापूर्वक समाजसेवामा सक्रिय छन् । समाज सेवाकै क्रममा राजधानी काठमाडौं र वेदिङ ओहोरदोहोर गरिरहन्छन् । शहरमा बस्दा फिन्जोको दैनिकी गाउँका विकासे योजनाका फाइल लिएर सिंहदरबारभित्रका मन्त्रालय र सरकारी कार्यालयका फाँट र शाखाहरुमा बित्ने गरेको हुन्छ भने गाउँमा बस्दा टे«किङ गाइड र स्थानीय विकास निर्माणका काममा सक्रिय भएर दिन बित्ने गर्छ । 

राजधानी काठमाडौंबाट नजिकैको अर्गानिक पर्यटकीय स्थलका रुपमा चिनिने रोल्वालिङ वेदिङ गाउँ, च्छो रोल्पा हिमताल र दुधकुण्ड क्षेत्रलाई उत्कृष्ट पदयात्राका रुपमा अझै व्यापक प्रचारप्रसार गर्न सके पर्यटन पवर्द्धनमा छिटो विकास हुने उनको विश्वास छ । यसतर्फ सम्बन्धित निकायको बेलैमा ध्यान पुगे हुन्थ्यो भन्ने फिन्जोको चाहना छ । 

Advertisement