कोप२८ जलवायु शिखर सम्मेलनमा बाइडेन सहभागी नहुने

Advertisement

वासिङ्टन । अमेरिकी नेतृत्वलाई उजागर गर्ने अपेक्षामा वार्तामा भाग लिएको दुई वर्षपछि दुबईमा हुने पछिल्लो संयुक्त राष्ट्रसंघीय जलवायु शिखर सम्मेलन अमेरिकी राष्ट्रपति जो बाइडेनले गुमाउने एक अमेरिकी अधिकारीले आइतबार बताएका छन् ।

बिहीबार सुरु हुन लागेको कोप२८ मा राष्ट्रिय नेताहरू र पोप फ्रान्सिससहित करिब ७० हजार मानिस सहभागी हुने अपेक्षा गरिएको छ । यो अहिलेसम्मको सबैभन्दा ठूलो संयुक्त राष्ट्रसंघीय जलवायु शिखर सम्मेलन हुनसक्छ । 

Advertisement

राष्ट्रपति बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसका लागि ह्वाइट हाउसले जारी गरेको तालिकामा यो साता उहाँहरू दुबई जाने उल्लेख छैन । बाइडेनको व्यस्ततामा वायु ऊर्जामा अमेरिकी लगानी उजागर गर्नका लागि कोलोराडोको भ्रमण, अङ्गोलाका राष्ट्रपतिसँग बैठक र राष्ट्रिय क्रिसमस ट्रिको प्रकाश सामेल छन् । 

बाइडेनले यो साता कोप२८ मा वा डिसेम्बर १२ को वार्ताको अन्त्यको दोस्रो सत्रमा भाग लिने योजना नबनाएको एक अमेरिकी अधिकारीले पुष्टि गर्नुभएको छ । दुबईमा एउटा उच्चस्तरको अधिकारीलाई पठाउने वा नपठाउने भन्नेबारेमा  बाइडेन प्रशासनले छलफल गरिरहेको नाम नछाप्ने शर्तमा ती अधिकारीले बताए । 

पूर्वविदेशमन्त्री, सिनेटर तथा अमेरिकी जलवायु दूत जोन केरीले अमेरिकाका लागि प्रत्येक दिन बैठकको नेतृत्व गर्नुहुनेछ । बाइडेनले कोप२८ मा भाग नलिने निर्णयको कारणबारे ती अधिकारीले केही बताएनन् । यद्यपि बाइडेनले एक महिनाभन्दा लामो समयदेखि इजराइल र हमासबीचको युद्धमाथि ध्यान केन्द्रित गरिरहनुभएको छ र अमेरिकी राष्ट्रपति निर्वाचनका लागि एक वर्षभन्दा पनि कम समयमा घरेलु एजेन्डालाई उजागर गर्न खोजिरहेका छन् । 

बाइडेनसम्म अमेरिकी राष्ट्रपतिका लागि प्रत्येक कोप शिखर सम्मेलनमा भाग लिने चलन थिएन । आफ्ना पूर्ववर्ती डोनाल्ड ट्रम्प पेरिस जलवायु सम्झौताबाट बाहिरिएपछि अमेरिकाले पुनः जलवायुमाथि विश्वव्यापी नेतृत्वको भूमिका निर्वाह गर्ने प्रतिज्ञा गर्नका लागि सन् २०२१ मा बाइडेनले ग्लासगोको भ्रमण गरेका थिए ।  

ह्वाइट हाउस जान खोजिरहेका ट्रम्प जलवायुप्रति संशयवादी हुन् र यो कार्य अमेरिकाका लागि अत्यन्त महङ्गो हुने बताउँछन् ।  

राष्ट्रपति बाइडेनले गत वर्ष पुनः इजिप्टको शार्म अल–शेखमा कोप२७ को एउटा छोटो भ्रमण गरेका थिए । तथाकथित मुद्रास्फीति न्यूनीकरण ऐन र विद्युतीय कारका लागि प्रोत्साहनसहित हरित अर्थतन्त्रका लागि अर्बौं डलरको लगानी गर्दै उनले घरेलुस्तरमा जलवायुलाई उच्च प्राथमिकता दिएका थिए ।  

कोप२८ शिखर सम्मेलनअघि केरीले आफ्ना चिनियाँ समकक्षी झि झेनहुआसँग विस्तारित वार्ता गरेका थिए । उनीहरूले विश्वका सबैभन्दा दुई ठूला हरितगृह ग्यास उत्सर्जक आ–आफ्ना मुलुकले दुबईमा प्रगतिका लागि मिलेर काम गर्ने वाचा गरेका थिए । रासस/एएफपी  

Advertisement

Advertisement