नक्कली भुटानी शरणार्थी प्रकरणः खाणको निवेदनमा मङ्सिर २८ गते सुनुवाइ हुने

Advertisement

काठमाडौँ । उच्च अदालत पाटनमा नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वमन्त्री बालकृष्ण खाणको निवेदनमाथि यही मङ्सिर २८ गते सुनुवाइ हुने भएको छ ।

उक्त अदालतका न्यायाधीशद्वय प्रकाश खरेल र जनक पाण्डेको संयुक्त इजलासमा यही मङ्सिर १५ गते राय बाँझी निर्णय सुनाएपछि उक्त विवादलाई तेस्रो न्यायाधीशसमक्ष पेश गरी सुनुवाइ गर्ने तय भएको थियो । 

Advertisement

न्यायाधीश पाण्डेले थुनामा पठाउने जिल्ला अदालत काठमाडौँको आदेश बदर गरी र रु ३० लाख धरौटीमा छाड्ने राय दिएका थिए भने न्यायाधीश खरेलले धरौटीमा छाड्न नमिल्ने राय दिएका थिए । 

उच्च अदालत पाटनका प्रवक्ता तीर्थराज भट्टराईका अनुसार पूर्वमन्त्री खाणको मुद्दामा दुई न्यायाधीशको राय बाँझिएपछि निवेदन तेस्रो न्यायाधीशको इजलासमा पठाउने आदेशअनुसार यही मङ्सिर २८ गते एकल इजलासमा सुनुवाइ गर्ने तय भएको छ ।

अदालतले  उक्त विवादमा नौजना प्रतिवादीको हकमा थुनामा पठाउने काठमाडौँ जिल्ला अदालतको आदेशलाई सदर गरेको थियो भने छ जना प्रतिवादीको हकमा थुनामै राख्ने काठमाडौँ जिल्ला अदालतको आदेश बदर गरी धरौटी माग गर्ने आदेश दिएको थियो ।

त्यसैगरी, लक्ष्मी महर्जन, आशिष बुढाथोकी, टङ्ककुमार गुरुङ र केशव तुलाधरलाई साधारण तारेखमै थुनामुक्त गर्ने आदेश गरेको थियो ।

Advertisement