रवि र गगनबीच बाजी, हारेमा राजनीति छोड्न दुवै तयार

Advertisement

काठमाडौं । गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रमुख प्रतिपक्षी दल कांग्रेसका महामन्त्री गगन थापाले दावी गरेअनुसार आफूहरुले सहकारी संस्थाबाट ऋण लिएको प्रमाण देखाए आफू सदाका लागि राजनीति छोड्न तयार रहेको तर देखाउन नसके गगनले राजनीति छोड्न तयार हुनुपर्ने शर्त राखेका छन् । 

संसदबाट बाहिरिने क्रममा शुक्रबार लामिछानेले उक्त बाजी थाप्न तयार भएका हुन् । लामिछानेले बोलेपछि प्रतिक्रिया दिँदै गगनले रविको शर्त आफूलाई मन्जुर रहेको बताए । गगन थापाले आफूसँग रविले सहकारीबाट ऋण लिएको प्रमाण रहेको दोहोर्याए । 

Advertisement

थापालाई रविले आफूले सहकारीमा ऋण मागेको प्रमाण देखाउन चुनौती दिँदै सो शर्त अघि सारेका थिए । संसदमा कांग्रेसको निरन्तर अवरोधपछि आक्रोसित रहेका मन्त्री लामिछानेले प्रमाण देखाए आफू संसदीय छानविन होइन्, राजनीति नै छाड्न तयार रहेको तर देखाउन नसके गगनले राजनीति छोड्नुपर्ने बताएका थिए । 

रविले भने, ‘माननीय गगन थापाले आज गृहमन्त्रीले आफैंले हस्ताक्षर गरेर ऋण मागेको मसँग प्रमाण छ भन्नुभयो । मेरो चुनौती उहाँले त्यो प्रमाण दिनुभयो भने संसदीय समिति त के कुनै ठूलो कुरा होइन, किर्ते गरेको कुरा होइन, मैले लोन माग्नको लागि निवेदन दिएर ऋण मागेको प्रमाण छ भन्नुभएको छ नि, त्यो दिनुभयो भने म राजनीति छोड्दिन्छु । दिन सक्नुभएन भने उहाँले राजनीति छाड्नुपर्ने हुन्छ ।’

उनले आफूलाई लगाइएको आरोपसम्वन्धमा संसदीय छानविन सामान्य कुरा भएको बताए । त्यो भन्दा पहिला आफूले सदनमा बोल्न पाउनुपर्ने अडान राख्दै छानविनबाट आफू डराएको नभई आफूले बोल्ने कुराबाट कांग्रेस डराएको बताए । 

यता थापाले गृहमन्त्री आफू संलग्न नभए संसदीय छानविन समिति बनाउन गृहमन्त्री किन डराएको ? किन आत्तिएको ? भन्दै प्रश्न गरे । सहकारीबाट लाखौं मानिस पीडित रहेको र उनीहरुको न्यायका लागि आफूहरुले यो कुरा उठाएको तर्क गर्दै उनले गृहमन्त्रीमाथि कहीँ अभियोजन भएको छैन, अनुसन्धान भएको छैन भनेर झुट बोल्ने ? भनी प्रश्न गरेका थिए । 

रुपन्देही प्रहरी कार्यालयले गरेको अनुसन्धान, त्यहाँको अदालतमा भएका प्रमाणहरू पेश गरौँ ? भन्दै थापाले सहकारीमा आफैँले लिखित गरेर माग फारम भरेर ऋण लिएको प्रमाण पेश गरौँ ? भन्दै चेतावनी दिएका थिए । 

Advertisement

Advertisement