पर्यटन व्यावसायीको गुनासो– जलविद्युत आयोजनाहरुले नदीजन्य पर्यटन संकटमा पर्यो

Advertisement

काठमाडौं । त्रिशूली नदीमा सुपर त्रिशूली जलविद्युत आयोजना (१०० मेगावाट)को विगत एक महिनादेखि निर्माणकार्य भइरहेको छ । 

उक्त आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदनले जलविद्युत आयोजना बनाउँदा त्रिशूली क्षेत्रमा सञ्चालनमा रहेका राफ्टिङ तथा अन्य पर्यटकीय गतिविधिमा निकै असर पुर्याउने र अर्बौंको लगानी रहेका होटल तथा, रिसोर्टलगायतका पर्यटकीय व्यावसायमा प्रत्यक्ष असर पुग्ने औंल्याएको छ । 

Advertisement

नेपाल एसोसिएसन अफ र्याफ्टिङ एजेन्सिज (नारा) अध्यक्ष शिव अधिकारीका अनुसार त्यस क्षेत्रमा ८१ वटा र्याफ्टिङ कम्पनी र २० वटा रिसोर्टमा गरी पाँच अर्बको लगानी छ । जलविद्युत कम्पनीहरुले सर्वेक्षण नै नगरी निर्माणको कार्य सुरु गरेको बताउँदै अधिकारीले भने, ‘नदी पर्यटनको पर्यावरणीय दृष्टिकोणले सबै भन्दा महत्वपूर्ण त्रिशूली नदी हो । यसलाई जोगाउन पर्छ । त्रिशूली नदीमा निर्माण भइरहेको जलविद्युत तुरुन्त बन्द हुनुपर्छ भन्ने हाम्रो माग हो ।’ 

उनले बन्द नगरिए प्रधानमन्त्रीको कार्यालय, सर्वोच्च अदालत जाने बताए । त्यो पनि भएन भने आफूहरु अन्तर्राष्ट्रिय ग्लोबल वार्मिङमा मुद्दा हाल्ने अधिकारीले चेतावनी दिए । उनले भने, ‘राज्यले नमाने कति कुरा अन्तर्राष्ट्रिय रुपमा पनि गर्नुपर्छ । उदाहरणको लागि त्रिशूली जस्तो महत्वपूण नदी, कर्णाली जस्तो नदी, सगरमाथा हिमाल, लुम्बिनी जस्ता ठाउँहरु नेपालको मात्र होइन, हामी नेपालीहरु भाग्यमानी हौं कि यो नेपालमा छ । तर यी कुराहरु संसारभरले गर्व गर्ने ठाउँहरु भएकोले यो ठाउँहरु बचाउनु र सुरक्षित हुनुपर्छ ।’ 

उनले जलविद्युत आयोजना बनाउने नाममा अरु नदीहरुको पर्यटन समाप्त गर्दै लगेको सरकारले त्रिशूलीलाई पनि समाप्त पार्न खोजेको भन्दै नेपालमा रहेका नदी नालाहरु साहसिक जलयात्रा पर्यटनका लागि विश्वमै उत्कृष्ट रहेको बताए । नेपालको पर्यटन क्षेत्रको महत्वपूर्ण स्तम्भको रुपमा रहेको जलयात्रा व्यावसाय नदीनालाहरुमा बढ्दै गएको अतिक्रमण विशेष गरेर जलविद्युत बाँध तथा नदीजन्य पदार्थको अनियन्त्रित उत्खननले गर्दा संकटपूर्ण अवस्थामा रहेको अधिकारीको भनाई छ ।

त्रिशूलीमा प्रस्तावित सुपर त्रिशूली जलविद्युत आयोजनाका कारण पर्यटकीय रोजाइका साथै अर्बौंको लगानीमा सञ्चालित राफ्टिङ व्यवसाय, रिभर रिसोर्ट, होटल तथा समस्त पर्यटन उद्योगमा हुने ठूलो क्षति पुग्ने, त्यस क्षेत्रमा सञ्चालनमा रहेको राफ्टिङ् तथा नदीमा आश्रित अन्य पर्यटन व्यावसायमा असर पुर्याउने, जसका कारण नेपालको पर्यटन क्षेत्रको बारेमा विश्वभर नै नकारात्मक सन्देश प्रवाह हुने पर्यटन व्यवसायीको भनाई छ । 

प्रभावित पक्षसँग समन्वय नगरी गरिएको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन एकतर्फी रुपमा तयार गरेर मनगणन्ते तथ्य प्रस्तुत गरिएको दावी गर्दै उनले थप अध्ययन गरि प्रतिवेदन पुनः लेखन गराउनुपर्ने बताए । अधिकारीले परियोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदनमा उल्लेख गरिएका जलयात्रा पर्यटनसँग सम्बन्धित तथ्यांक मनगणन्ते तथा निराधार रहेका बताउँर्दै भने, ‘जस्तै, उक्त प्रतिवेदनमा ६ वटा र्याफ्टिङ कम्पनी र १२ कामदार उल्लेख गरिएको छ । तर वास्ताविकता ८२ र्याफ्टिङ कम्पनी नाराका सदस्य र तीन हजारभन्दा बढी र्याफ्टिङ गाइड, उनीहरुमा आश्रित परिवार छन् । त्यसैगरी, प्रतिवेदनमा जलयात्रा व्यावसाय, अन्य पर्यटकीय संरचना तथा साँस्कृतिक महत्वका घाटमा असर पर्न जाने गरि असर न्युनीकरणका उपाय अबलम्बन गरिने भएता पनि त्यसको विषयमा प्रष्टरुपमा कहाँ के गरिने ? भन्ने विषयमा उल्लेख भएको पाइँदैन । यो जलविद्युत आयोजना बन्दा भविष्यका सन्तती प्रकृति र साहसिक नदी पर्यटनसँग रमाउने अधिकारबाट बन्चित हुनेछन् ।’

पर्यटन व्यावसायी तथा श्रमिकहरुले मातृ नदी (मदर रिभर)को रुपमा पुज्ने गरिएको त्रिशूली नदीमा सन् ६० को दशकमा जलयात्रा सुरुवात भएको र विश्वभरका जलयात्रा पर्यटकको पहिलो रोजाइमा यो नदी पर्ने गरेको उनले बताए । 

त्रिशूली नदिमा यसरी नै अतिक्रमण गर्दै जाने, जलविद्युत आयोजना बनाउँदै जाने हो भने नेपालको साहसिक जलयात्रा पर्यटन मृत प्रायः हुने भन्दै अधिकारीले यसले विश्व पर्यटन समुदायमा नकारात्मक सन्देश जाने बताए । नुवाकोटको देविघाटदेखि चितवन र तनहुँमा पर्ने देवघाटसम्मको क्षेत्र धार्मिक, साँस्कृतिक, ऐतिहासिक तथा भौगर्भिक रुपमा विशेष महत्वको रहेको उनको भनाई छ । 

अध्यक्ष अधिकारीले नेपाल भ्रमण गर्ने ८० प्रतिशतभन्दा धेरै पर्यटकको नजरमा पर्ने यो नदीमा जलविद्युत आयोजना निर्माण हुने हो भने नेपालको पर्यटन क्षेत्रलाई ठूलो धक्का लाग्ने बताए । जलविद्युत निर्माण पर्यटकीय हिसाबले कम महत्वका अन्य नदी तथा स्थानमा गर्न सकिने उनको सल्लाह छ । नेपालमा छ हजारभन्दा धेरै नदीनाला रहेको र ८३ हजार मेगावाटभन्दा बढ़ी जलविद्युत उत्पादन गर्ने क्षमता रहेको, अहिले विद्युत उत्पादनका लागि वैकल्पिक क्षेत्रहरु पनि विकास हुँदै गएको बताउँदै अधिकारीले त्रिशूली, भोटेकोशी जस्ता नदीको विनाश गर्न नहुने सुझाव दिए । 

उनले जलविद्युतका कारण आज मर्स्याङदी नदीमा र्याफ्टिङ हुँदैन, माछा पनि पाउँर्दैन् भन्दै कालीगण्डकीमा ७–८ दिन र्याफ्टिङ गर्न सकिनेमा अहिले सो नदी पनि त्यस्तै भएको, माछा पनि नरहेको, सुख्खा हुँदै गएको उदाहरण दिए । यसले विश्व तापक्रम वृद्धिमा सहयोग गर्ने र जलवायु परिवर्तनमा असर पर्ने अधिकारीले बताए ।   

प्रस्तावित सुपर त्रिशूली जलविद्युत आयोजना बनाउन नहुने भन्दै जलयात्रा पर्यटन व्यावसायीहरूले शनिबार प्रदर्शनमा उत्रिएका थिए  । ब्लु इनर्जी नेपालले बनाउन लागेको यो आयोजनामा याक एण्ड यती समूह, हायात होटलको समेत लगानी रहेको बताइन्छ ।

त्रिशूली बचाउ महाअभियानका संयोजक तथा पर्यटन व्यवसायी मेघ आलेको संयोजकत्वमा भएको विरोध कार्यक्रममा नारा, हिमालयन रिभर गाइड एसोसिएसन, वातावरण विज्ञ, कानुनविद्, जलयात्रा पर्यटनसँग सम्वन्धित् सङ्घसंस्था, स्थानीयको उपस्थिति थियो ।

Advertisement