राजश्व अनुसन्धान विभागद्धारा १४ करोड सजाय मागदावीसहित १२ जनाविरुद्ध मुद्दा दायर

Advertisement

काठमाडौं । राजश्व अनुसन्धान विभागले राजश्व चुहावट तथा विदेशी विनिमय अपचलनमा १२ जनाविरुद्ध मुद्दा दायर गरेको छ । विभागले १४ करोड रुपियाँ बिगो माग दाबी गर्दै मुद्दा दायार गरेको हो।

विभागले उच्च अदालत पाटन, उच्च अदालत बुटवल तथा जिल्ला अदालत रसुवामा अभियोग दायर गरेको हो । राजश्व छलि तथा विदेशी विनिमय अपचलनमा संलग्न ११ जना अभियुक्त उपर अभियोग दायर गरेको विभागको भनाई छ । 

Advertisement

विभागले सुदीप शर्मा, फुसाङबु शेर्पा र सायो दिङ्गलाइ विदेशी विनिमय अपचलनको कसुरमा पाँच करोड ६७ लाख सजाय मागदावी गरी रसुवा जिल्ला अदालतमा मुद्दा दायर गरेको छ । यो मुद्दा पुस २ गते दायर भएको हो । उनीहरुले विदेशी विनिमय पनि अपचलन गरेको अभियोग समेत लागेको छ । 

त्यस्तै, विभागले अभियुक्तहरु करम दिन सेख र केशव चापागाइँउपर राजश्व चुहावटको कसुरमा ६८ लाख रुपियाँ सजाय मागदावी गर्दै मुद्दा दायर गरेको छ । चिनी चोरी पैठारी गरी भन्सार महशुल छली गरेको अभियोगमा निजहरुपर उच्च अदालत पाटनमा सोमबार अभियोग पत्र दायर गरिएको हो । 

विभागले राजश्व चुहावट नियन्त्रणको दण्डात्मक रणनीतिअन्तर्गत अनुसन्धान तथा अभियोजनलाई तथ्यमा आधारित बनाउँदै अभियोग दायर गरेको जनाएको छ । 

राजश्व चुहावटको कसुरमा अभियुक्तहरु चक्रबहादुर कुँवर, निमकाजी श्रेष्ठ, खेमबहादुर गुरुङ, दीपक कार्की र सन्देश लामिछानेउपर एक करोड ७२ लाख सजाय मागदावी गरी मंगलबार उच्च अदालत पाटनमा अभियोग दायर गरिएको हो । भन्सार जाँचपास कार्यमा संलग्न दुई कर्मचारीहरु पनि अभियोग पत्र दायरसँगै निलम्बनमा परेका छन् । 

राजश्व चुहावटकै कसुरमा विभागले अभियुक्त राजेन्द्रप्रसाद व्वजुविरुद्ध छ करोड ६२ लाख रुपियाँ सजाय मागदावी गरी उच्च अदालत बुटवलमा अभियोग दायर गरिएको छ । 

Advertisement