‘नेपालमा श्रमिकको अभावको कारण भारत र बंगलादेशबाट श्रमिकहरु ल्याएर काम लगाउनुपरेको छ’

दैनिक हजारौं युवाले देश छोड्न थालेपछि महासंघका अध्यक्ष पनि चिन्तित, तत्काल रोक्न आग्रह

Advertisement

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले दैनिक हजारौं युवाले देश छाड्न थालेपछि चिन्ता प्रकट गरेका छन् ।  बुधबार महासंघको एक कार्यक्रममा उनले युवाहरुको विदेश जाने क्रमलाई तत्काल रोक्न सरकारलाई आग्रह पनि गरे । 

ढकालले उद्योगहरुमा श्रमिकको अभाव भइरहेको अवस्थामा स्वदेशका हजारौ जनशक्ति बाहिरिएको भन्दै दैनिक हजारौं युवाहरु विदेशिनुको कारण सरकारको कमजोरी रहेको बताए । उनले नेपालमा चरम बेरोजगारी भए पनि नेपाली उद्योगहरुमा श्रमिकको अभावको कारण भारत र बंगलादेशबाट श्रमिकहरु ल्याएर काम लगाउनुपरेको बताए । 

Advertisement

सरकारले दक्ष जनशक्तिलाई विदेश जानबाट रोकेर नेपालमा नै रोजगारीको व्यवस्था गर्न आवश्यक रहेको ढकालको भनाई छ । उनले नेपालका जिम्मेवारी निकायहरुले आफ्नो मात्रै कुरा गर्ने तर जनताको पक्षमा काम नगरेकाले समस्या आएको बताए । 

अध्यक्ष ढकालले वन मन्त्रालयले वन, भौतिक पूर्वाधारले पूर्वाधार, अर्थ मन्त्रालय र राष्ट्र बैंकले आफ्ना मात्रै कुरा गर्ने गरेकोले धेरै विद्यार्थी र युवाहरु बाहिर जान बाध्य भएको बताउँदै हजारौ युवाहरुसँग नेपालको अबौं विदेशी मुद्रा बाहिरिएको बताए । 

ढकालले भने, ‘हरेक दिन हजारौं मानिसहरु विदेश गइरहेका छन् । नेपालका उद्योगहरुलाई श्रमिक आवश्यक परेको छ । श्रमिकहरु नपाएर भारत र बंलादेशबाट श्रमिक ल्याएर काम लगाइ रहेका छौं । एकातिर नेपालमा चरम बेरोजगारी छ । बेरोजगारी छ भन्दै गर्दा बाहिरबाट मान्छेहरु ल्याएर काम गराउनुपरेको छ । सबैको सहकार्यमा दक्ष जनशक्ति नेपालमा नै राख्नेगरी काम गर्नु आवश्यक छ । तर अहिले नेपालका जिम्मेवारी निकायहरुले आफ्नो मात्रै कुरा गर्ने गरेका छन् ।’ 

उनले थपे, ‘नेपालका यति धेरै विद्यार्थीहरु बाहिर गएका छन्, त्यति नै विदेशी मुद्रा बाहिरिएको छ । एक लाख ५४ हजार, एक लाख १० हजारले एनओसी लिइसक्यो । धेरै मानिसहरु बाहिर जाने भए । सरकारले यसलाई तत्काल करेक्शन गर्नुपर्छ । अहिले देशको आवश्यकता के हो ? भनेर त्यही अनुसार निर्णय गर्नु जरुरी छ । उद्योग वाणिज्य महासंघले श्रम शक्ति स्वदेशमा नै राख्ने गरी काम गरिरहेको छ । सिटिभिटि तथा चिकित्सा शिक्षा आयोगले पनि आफ्ना मात्रै कुरा गर्नुभयो ।’

अध्य ढकालले सरकारले समयमा नै विचार गरेर दैनिक हजारौ नेपाली युवाहरु विदेश जाने क्रमलाई तत्काल करेक्शन गर्न आवश्यक रहेको बताए । उनले सरकारले अहिले देशको आवश्यकतालाई हेरेर निर्णय गर्न आवश्यक देखिएको उल्लेख गरे । 

Advertisement

Advertisement