पुस १२ देखि पोखरा सडक महोत्सव, ४–५ लाख पर्यटक भित्राउने उद्देश्य

Advertisement

काठमाडौं । यही आउँदो पुस १२ देखि २५औं पोखरा सडक महोत्सवको आयोजना हुने भएको छ । पाँच दिनसम्म चल्ने महोत्सव रेष्टुरेण्ट एण्ड बार एशोसियशन (रेवान) पोखराले आयोजना गर्न लागेको हो । 

अङ्ग्रेजी नयाँ वर्षको स्वागतार्थ रेवानले हरेक बर्ष यस्तो महोत्सव गर्ने गरेको छ । रेवानले पत्रकार सम्मेलन गरी महोत्सवबारे  जानकारी गराएको हो । पर्यटकीय नगरी पोखराको लेकसाइड क्षेत्रमा आयोजना हुने यो कार्यक्रममा ४–५ लाख पर्यटक भित्राउने उद्देश्य रहेको रेवानका अध्यक्ष नरेश भट्टराईले बताए । 

Advertisement

उनले पोखराको पर्यटन प्रवर्द्धनमा एउटा बेग्लै पहिचान बनाउन सफल यो महोत्सव विगतका वर्षहरुमा राजनैतिक अस्थिरता, भूकम्प, नाकाबन्दी र कोरोना महामारी जस्ता विषम परिस्थितिमा पनि निरन्तरता दिँदै आएको बताए । 

भट्टराईले महोत्सवमा ८० लाख आम्दानी हुने अनुमान गर्दै यस बर्ष रजत जयन्ती भव्य रुपमा मनाउने तयारीमा रहेको बताए । लेकसाइडको करिव ३ किलोमिटर क्षेत्रमा हुने महोत्सव ‘सडक मै खाउँ, सडकमै रमाउँ’ भन्ने नाराका साथ आयोजना गर्न लागिएको हो । 

परिवर्तित समयसँगै महोत्सवलाई अलि पृथक र थप आर्कषक कसरी बनाउन सकिन्छ भनेर विभिन्न सरोकारवालाहरुको सल्लाह सुझावहरु पनि लिएका उनले बताए । महोत्सवमा मुख्य आर्कषणको रुपमा विभिन्न जातजातीको साँस्कृतिक कार्यक्रम, मौलिक भेषभुषा प्रर्दशनसँगै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खानाको प्रदर्शन, दोहोरी गीत प्रतियोगिता, झाँकी प्रदर्शन, रात्रीकालिन कन्सर्ट, बोट रेस, वेटर रेस, टंग अफ वार, भलिवल प्रतियोगिता, सचेतनामूलक सडक नाटक, सेल्फी फोटो बुथ, पोखराको पर्यटनको विकास, प्रवर्द्धन, अवसर तथा चुनौतीहरुको विषयमा केन्द्रिकृत गरी टक सो कार्यक्रम, स्वदेशी हस्तकला, चित्रकला, मुर्तिकला तथा कृर्षि, वनस्पती लगायतका कृर्षि उपजहरुलाई प्राथमिकता साथ प्रदर्शनीको व्यवस्था गरिने, बालबालिकाहरुका लागि चित्रकला र पोखराका विभिन्न साहसिक खेलकुदहरुको डकुमेन्टी प्रर्दशनका साथै पर्यटकीय गन्तव्यको प्रवर्द्धन, महोत्सव क्षेत्रमा सञ्चालन गर्दै आएका व्यावसायीहरुले सडक महोत्सवको अवधारणा अनुरुप सोही व्यवसाय निर्धारित पसल अगाडी ल्याई सजिसजावटका साथ व्यवसाय प्रवर्द्धन गरिने भट्टराईले जानकारी दिए ।

फिस्टेल गेटदेखि गैराको चौतारा हुँदै जरेवर लेकसाइडसम्म हुने महोत्सव पर्यटनमैत्री वातावरणमा सभ्य र भव्य रुपमा सम्पन्न गर्ने आयोजकको भनाई छ । 

नेपाल पर्यटन बोडका मणिराज लामिछाने पर्यटन गतिविधि सुस्त भइरहेको अवस्थामा यस महोत्सवले चलायमान बनाउन भूमिका खेल्ने बताए ।

Advertisement