हरि बुढामगरले सगरमाथा आरोहणमा ज्यान गुमाएकाहरुको परिवारलाई गरे आर्थिक सहयोग

Advertisement

काठमाडौं । कृतिम खुट्टाको भरमा विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरी विश्व कीर्तिमान बनाएका पूर्व ब्रिटिश गोर्खा सैनिक हरि बुढामगरले सगरमाथा आरोहणका क्रममा ज्यान गुमाएका शेर्पा समुदायका परिवारलाई राहतस्वरुप आर्थिक सहयोग गरेका छन् । 

गत वर्षको वसन्त ऋतुमा सगरमाथा आरोहण गर्दा हिमपहिरो आदि घटनामा ज्यान गुमाएका ६ जना शेर्पाका परिवारलाई उनले जनही एक एक लाख सहयोग गरेका हुन् । बुढामगरले सहयोग रकम संकलन गरी पीडित परिवारलाई दिएका हुन् । आफ्नो आरोहण सफल बनाउन शेर्पाहरुले महत्वपूर्ण योगदान भएकाले सो गुन तिर्न आफूले पीडित परिवारलाई सानै भए पनि सहयोगको प्रयास गरेको बताए । बुढामगरले हरेक बर्ष यस्तो सहयोग गर्न संस्था नै खडा गरेका छन् । 
 
शनिबार ललितपुरमा आयोजित कार्यक्रममा सगरमाथा आरोहण दलमा सहभागी हुने क्रममा ज्यान गुमाएका शेर्पाका परिवारलाई सहयोग रकम हस्तान्तरण गर्दै भने  ‘मैले सगरमाथा चढ्दै गर्दा नै ज्यान गुमाएका शेर्पाहरुको परिवारको लागि केही सहयोग गर्ने सोच बनाएको थिएँ । मैले सगरमाथा चढें । चढेपछि अब चाहिँ ज्यान गुमाएका शेर्पाहरुको परिवारलाई कसरी सहयोग गर्नेहोला भनेर सोचिरहेको थिएँ । किनभने अहिले म जहाँ छु, त्यो शेर्पा दाजुभाईहरुले नै सफल भएको हो ।’ 

Advertisement

शेर्पाहरुबाट आफूले धेरै कुरा पाएको बताउँदै उनले अब उनीहरुको लागि के गर्नुपर्छ भनेर आफूले रकम संकलन गरी सहयोगको सुरुवात गरेको बताए । उनले आफूले सक्दो सहयोग गर्दा जिम्मेवारी पूरा गरेको जस्तो हुने बताए । बुढामगरले भने, ‘पीडित परिवारलाई विभिन्न सामानको आवश्यकता थियो होला । के दिने थाहा भएन् । त्यही भएर पैसा नै दिँदा ठिक होला भनेर सहयोग गरेको हो ताकी उहाँहरुले आफ्नो आवश्यकताअनुसार खर्च गरोस् । मेरो मुख्य उद्देश्य उनीहरुको बालबालिकाको एक–दुई महिनाको स्कुलको शुल्क मात्र दिन सक्यो भने पनि वा स्कुलको कपडा मात्रै किनदिन सक्यो भने पनि वा जाडोमा परिवारले न्यानो कपडा मात्र किन्नसक्यो भने पनि केही राहत मिल्छ भन्ने सोचेर सहयोग गरेको हो ।’

बुढामगरले यसरी हिमाल आरोहणका क्रममा ज्यान गुमाउने शेर्पाहरुको परिवारको सहयोगका लागि आफ्नो नामबाट ‘हरि बुढामगर फाउन्डेशन एभरेष्ट ग्राण्ड’नामक अभियान र कोष पनि खडा गरेका छन् । अब यही कोषबाट उनले हरेक बर्ष यस किसिमको सहयोग प्रदान गर्नेछन् । बुढामगरले थपे, ‘सगरमाथामा जतिले ज्यान गुमाउनु हुन्छ, उहाँहरुको परिवारलाई यो कोषबाट सहयोग जानेछ । यसको बजेट यति नै हुन्छ भन्ने छैन् । जति पनि हुन्सक्छ । जति संकलन हुन्छ, म त्यति नै सबैलाई वितरण गर्नेछु । कोष ठूलो हुँदैगयो भने सहयोग अन्य हिमालमा ज्यान गुमाएका परिवारलाई पनि गर्न सकिन्छ । अहिले सगरमाथामा मात्रै राख्नुको कारण के हो भने मैले सगरमाथामा एउटा इतिहास नै रच्ने मौका पाएँ । आशा छ, यो काम मेरो जीवनभर गर्नसक्छु ।’

बुढामगरले गत जेठ ५ गते सगरमाथाको सफल आरोहण गरेर कीर्तिमान बनाएका थिए । कृतिम खुट्टाको बलमा सगरमाथा चढ्ने उनी पहिलो हुन् । यसअघि बुढामगरले कृत्रिम खुट्टाको सहारामा सगरमाथा आधार शिविर पुगी कीर्तिमान कायम गरेका थिए । अफगानिस्तानको लडाइँमा घुँडाभन्दा माथिसम्म दुवै खुट्टा गुमाएका उनले कृत्रिम खुट्टाको सहाराले सगरमाथा आधार शिविर पुगेर स्काइड्राइभिङ पनि गरेका थिए । यसबाहेक उनले विश्वका थुप्रै हिमाल आरोहण गरिसकेका छन् । 

Advertisement