आर्थिक मन्दीका कारण ‘सरेण्डर’को माग गर्ने बीमितहरु बढेः सीईओ पाण्डे

Advertisement

काठमाडौं । सानिमा रिलायन्स इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) शिवनाथ पाण्डेले पछिल्लो समय ‘सरेण्डर’ गर्न (बीमालेख फिर्ता गर्न अर्थात समर्पण गर्न) माग गर्ने बीमितको संख्या निकै बढेर गएको बताएका छन् । 

कर्पोरेट नेपालसँगको कुराकानीमा उनले बीमालेख समर्पणको अवधि दुई वर्षबाट बढाएर तीन वर्ष कायम गरिएको बेलामा पोलिसि फिर्ता गराउने बीमितहरुको संख्यामा ह्वात्तै वृद्धि भएको बताएका हुन् ।

Advertisement

पाण्डेले भने, ‘यो त आर्थिक मन्दीकै प्रभाव होला अहिले बीमालेख फिर्ता गराउन चाहने बीमितहरुको संख्यामा वृद्धि भएको छ । हामीकहाँ त्यस्ता किसिमका निवेदनहरु पनि दैनिक रुपमा परिरहेको छ । सबैभन्दा पहिला त मानिसहरुले दालभात खाने हो, अनि त्यसपछि बीमा गर्ने हो । अहिले कस्तो भयो भने विगतमा बीमा गराएका कतिपय बीमितहरुले त्यही गास, बास, कपासकै लागि बीमालेख सरेण्डर गर्नुपर्ने अवस्था आएको छ ।’

यता बीमा क्षेत्रको नियमनकारी निकाय नेपाल बीमा प्राधिकरणले भने बीमा कम्पनीहरुले कम्तीमा पनि पाँच वर्षको अवधिसम्म सरेण्डर अवधि लम्बयाउने योजना बनाइरहेको छ । आर्थिक मन्दीकै कारण मानिसहरु धेरै समस्यामा पर्न थालेपछि प्राधिकरणले यो निर्णय गर्न ढिलाई गरेको हो । 

प्राधिकरणका कार्यकारी निर्देशक तथा प्रवक्ता राजुरमण पौडेलले बजारको आवश्यकता र माग जस्तो आउँछ, आफूहरुले पनि त्यस्तै निर्देशन दिने बताए । उनले भने, ‘पहिले बीमा बजारमा सरेण्डरले कम्पनीहरुको व्यावसयामा स्वस्थ प्रतिस्पर्धा गरेन भन्ने थियो । हामीले त्यति बेला नै दुई वर्षमा रहेको सरेण्डर अवधि तीन वर्ष बनाएका थियौं । त्यसपछि पनि सरेण्डरको अवधि अझै लम्ब्याउनुपर्छ भन्ने जीवन बीमक संघको सुझाव हामीले पाएका थियौं । कानुनसँगै महत्वपूर्ण भनेको व्यवहारिक पाटो पनि हुँदोरहेछ । त्यसै हुनाले हामीले सरेण्डरको अवधिलाई तत्काल पाँच वर्ष बनाउने कुरा अघि बढाएका छैनौ ।’ 

पौडेलले आर्थिक मन्दीको कारण पछिल्लो समयमा सरेण्डरको अवधि दुई बर्ष नै कायम गर्न प्राधिकरणमा बीमितहरुको माग आएको स्वीकार गरे । उनले त्यस्तो अवस्था सिर्जना हुुनुको पछाडी बीमालेखमा कैफियत भएको नभई देशमा देखिएको आर्थिक मन्दी नै मुख्य कारण रहेको बताए । पौडेलले बीमा क्षेत्रमा भएका कतिपय विपन्न वर्गका बीमालेखहरु आर्थिक अभावका कारण फिर्ता हुने बताए । 

केही सीईओहरुले भने योजनवद्धरुपमा हुने ‘प्लान सरेण्डर’ मात्रै घातक रहेको तर अन्य सरेण्डर भने बीमितले आफ्नो आवश्यकता अनुसार गर्दा आफूहरुलाई समस्या नरहेको बताउने गरेका छन् । 

Advertisement