अबको बजार लघुबीमा कै हो– गार्डियन लाइफका सीईओ भण्डारी

Advertisement

काठमाडौं । विगतदेखि ओझेलमा पर्दै आएको लघुबीमा व्यवसायले अब सकारात्मक गति लिने गार्डियन लाइफका प्रमुख कार्यकारी अधिकृत (सीईओ) चिरायु भण्डारीले बताएका छन् । 

कर्पोरेट नेपालसँगको कुराकानीमा उनले अन्य ठूला बीमा कम्पनीका बारेमा जनता धेरथोर जानकार रहे पनि लघुबीमाबारे भने जानकारी निकै कम रहेको बताउँदै तर भविश्य लघुबीमा कै राम्रो रहेको बताए । 

Advertisement

भण्डारीले भने, ‘लघुबीमाको बजार बढ्दो क्रममा छ । बिस्तार बिस्तारै यसले गति लिइरहेको छ । अहिले हामीले सबैभन्दा पहिले स्थानीय तह र सो मातहतका निकायहरुमा बीमाको अपरिहार्यता बारेमा जानकारी गराईरहेका छौं । साथै सर्वसाधारणमा पनि लघुबीमा बारे आवश्यक ज्ञान फैलँदै गएको पाएका छौं ।’ 
 
उनले सुरुवाती चरणमा कुनै पनि कम्पनीले आफ्नो बजारीकरण गर्नुुपर्ने भएकाले अहिले लघुबीमा पनि त्यही चरणमा रहेको बताए । त्यस्तै, लघुबीमाको हकमा भने हालसम्म नागरिकहरुमा देखिएको आकर्षणलाई राम्रै मान्न सकिने भण्डारीको अनुभव छ । 

उनले लघुबीमाको उद्देश्य नै कमजोर आयस्तरका मानिसहरुलाई उकास्ने र उनीहरुको जोखिम बहन गर्ने भएकाले हाल न्यून शुल्क, थोरै बीमांकका बीमा मात्र आफूहरुले गर्ने बताए । त्यस्ता स–साना किसिमका जोखिम पनि आयस्तर कम भएका मानिसहरुलाई ठूलो हुने र सानो आर्थिक क्षतिमा उनीहरुले ठूलो भार महशुस गर्ने गाउँघरको अवलोकनमा आफूले देख्ने गरेको बताउँदै सीईओ भण्डारीले आगामी दिनमा त्यस्ता विपन्न मानिसहरुलाई पाँच लाख रुपियाँसम्मको बीमा आफूहरुले गर्ने बताए । 

भण्डारीले बीमाशुल्क तिर्ने क्षमता भएका नागरिकहरुले पनि बीमाको महत्व थाहा नपाएर बीमाबाट टाढा बसेको स्थलगत अनुभवबाट देखेको बताए । 

लघुबीमाको विकल्प छैन्
सीईओ भण्डारीले नेपाली माटो सुहाउँदो बीमाको रुपमा लघुबीमा उदाएकाले आगामी दिनमा यो बीमाको विकल्प नरहेको दाबी पनि गरे । उनले ठूलो रकमका करोडौंको बीमा गर्ने व्यक्तिसँगभन्दा सामान्य मजदुरी गर्ने मानिसहरुको परिवारहरुमा नै बीमाको खाँचो अझ बढिरहने पनि औल्याएका छन् ।

भण्डारीले एक आर्थिक वर्षसम्म आफ्नो गृहकार्य परीक्षणकै रुपमा रहने बताए । तत्काल लघुबीमाको व्यवसायलाई आशंका गर्ने भन्दा पनि सबैको सहयोगमा यसलाई फस्टाउन र गरिबहरुलाई बीमामा जोडन सबैको ध्यान जानुपर्ने उनको भनाई छ । 

नयाँ बीमा ऐन र सरकारको बजेट वक्तव्यबाट आएको कार्यक्रम भएकोले पनि लघुबीमा आजकै आवश्यकता हो भन्नेमा दुविधामा पर्नुपर्ने अवस्था नरहेको भण्डारीको तर्क छ । उनले ग्रामीण तहका समस्यालाई बुझेर नागरिकहरुलाई बीमामा जोड्नतर्फ आफूहरु केन्द्रित रहेको बताए । 

साथै सीईओ भण्डारीले आफूहरु ठूला कम्पनीसँग जुध्न आएको नभई कमजोर आर्थिक अवस्था भएकालाई रक्षावरण गर्न आएको बताउँदै नेपाली माटो सुहाउँदो बीमाको रुपमा लघुबीमा आएकाले आगामी दिनमा यसको विकल्प नरहेको दोहोर्याए । 

उनले ठूला रकमका करोडौंको बीमा गर्नेसँग भन्दा सामान्य मजदुरी गर्ने मानिसहरुको परिवारहरुमा नै बीमाको खाँचो बढी रहने बताए । भण्डारीले एक आर्थिक वर्षसम्म आफ्नो गृहकार्य परीक्षणकै रुपमा रहने बताए । 

Advertisement