हिमालमा ज्यान गुमाउने आरोहीहरुका विधवा श्रीमतीहरुका पीडा र अपेक्षा

Advertisement

काठमाडौं । हिमाल आरोहण गर्ने क्रममा विभिन्न कारणले आरोहीहरुको ज्यान जाने गर्दछ । जोखिमपूर्ण हुँदाहुँदै पनि साहसिक कार्य गरेर नाम लेखाउन हिमाल आरोहण गर्नेहरु हुन्छन् भने उनीहरुको आरोहण सफल बनाउन सहयोगी भूमिका मा विशेषगरी शेर्पा आरोहीहरुले काम गरेका हुन्छन् । 

उनीहरु हिमाल चढ्दा कहिले हिमपहिरो परी, कहिले स्वासप्रवासको समस्याले, कहिले अक्सिजन सक्किएर, कहिले अन्य कारणले ज्यान गुमाउन पुग्छन् । सौखका लागि हिमाल चढ्नेहरुले ज्यान गुमाउँदाको चर्चा जति हुन्छ, तर पेट पाल्नका लागि सहयोगी भूमिकामा हिमाल चढ्नेहरुले ज्यान गुमाउँदा खासै चर्चा हुन्न । 

Advertisement

हिमाल आरोहण गर्दा घाइते हुनेहरु र आरोहणका क्रममा ज्यान गुमाउने आरोहीका परिवारहरुको पीडा निकै दर्दनाक छ, जसपट्टि सरकारको ध्यान पुगेको छैन् । कलिलै उमेरमा पति वियोगमा परेका, त्यसमाथि कलिला आफ्ना बालबालिकाको लालनपालन र पठनपाठन गनुपर्ने दायित्व बोकेका महिलाहरु आफूहरुप्रति राज्य अनुदार बनेको गुनासो गर्छन् । यस्ता विधवा महिला र टुहुरा बालबालिकाप्रति हिमाली पर्यटन क्षेत्रका अगुवाहरु समेत गम्भीर बन्न सकेको देखिन्न । उनीहरुले दबाब दिएर यस्ता महिला र बालबालिकाको जीवनयापन र पठनपाठन सहज बनाउन सकेका छैनन् । 

सरकारी उपेक्षाका कारण धेरै शेर्पा युवाहरु हिमाल आरोहणसम्वन्धी पेशा छोडेर विदेश पलायन हुने क्रम बढ्दो छ । यो क्रम बढ्दै जाने हो भने केही बर्षमा हिमाल आरोहणमा सहजीकरण गर्ने शेर्पाहरु पाउन मुस्किल हुने र नेपालको हिमाली पर्यटन धरासायी हुनसक्ने विश्लेषणसमेत हुन थालेको छ । 

हिमाल आरोहीबाट रोयल्टीवापत मोटो रकम अशुल गर्ने सरकारले उक्त रकमको केही हिस्सा हिमाल आरोहणमा ज्यान गुमाउनेको परिवार र घाइतेहरुको जीवनयापन र पठनपाठनमा खर्च गर्नुपर्ने शेर्पा समुदाय र हिमाली पर्यटनमा लागेका संघसंस्था र व्यक्तिले माग गर्दै आएका छन् । तर सरकारले यसमा कुनै सुनुवाई गरेको छैन् । हिमाल आरोहणका क्रममा ज्यान गुमाउनेहरुका श्रीमतीहरुले जीवनयापनका लागि सहजीकरण गर्ने काम सरकारले गर्नुपर्ने बताउँछन् । 

सरकारले हिमाल आरोहीबाट रोयल्टी मात्र संकलन गर्ने र तर उनीहरुप्रतिको दायित्व निर्वाह नगरेको आरोहीहरुको पहिलेदेखि गुनासो रहँदै आएको छ । गत वर्षको वसन्त ऋतुमा सगरमाथा आरोहणका क्रममा हिमपहिरोमा परी ज्यान गुमाउने शेर्पा आरोहीहरुका श्रीमतीहरुले आफूहरुलाई गरिखान र परिवार पाल्न सरकारले सीपमूलक तालिम दिनुपर्ने, छोराछोरीको पठनपाठनमा सहयोग गरिदिनुपर्ने बताउँछन् । उनीहरुको भनाईः 

च्यामु शेर्पा (स्वर्गीय लाक्पा नुरु शेर्पाको श्रीमती)
सरकारले हाम्रो पसिना मात्र खाइरहेको छ । हाम्रो श्रीमानहरुले हिमालमा बगाएको पसिना, दुःख गरी कमाएर त सरकारले विदेशी तथा नेपाली आरोहीहरुबाट लाखौं, करोडौं रुपियाँ रोयल्टी संकलन गर्छ । तर त्यसबाट हामीले केही पनि पाएको छैन् । पाउँछ भन्ने पनि आशा हट्दै गएको छ । मेरो श्रीमान हिमालमा काम गर्थ्यो । त्यही हिमालमै बिलायो । घरको कमाउने मान्छे नहुँदा परिवारमा के बित्छ ? सरकारलाई केही चासो पनि छैन् । सरकारबाट केही सहयोग मिल्छ भन्ने आशा पनि छैन् । पैसा कमाउन धेरै दुःख हुन्छ । 

श्रीमानहरु हिमालमा जान्छन् र घर परिवारमा फर्किएर आउला नआउला भन्ने मनमा चिन्ता हुन्छ । घर परिवारको खर्च हेर्दै आएको श्रीमान नहुँदा श्रीमतीहरुलाई धेरै गाह्रो हुन्छ । परिवारको हेरचाह गर्न, घरमा छोरा मान्छे नहुँदा कति पीडा हुन्छ ? श्रीमान हुँदा म सोलुखुम्बुको फाकडिङमा सिजनको बेला होटल चलाउनुका साथै कहिलेकाँही भारी पनि बोक्थ्यो । तर गत वर्षको वसन्त ऋतुमा सगरमाथामा उहाँ बित्यो । मेरो दुई जना छोरी छ । ठूलो १२ र सानो चाहिँ ७ वर्षको छ । दुई जना नै गाउँमा स्कुल पर्ढैछन् । ठूलो कक्षा ५ मा र सानो कक्षा १ मा । उनीहरुको पढाइ र घर खर्च अब श्रीमान नै नभएपछि सबै मेरो काँधमा छ । त्यसैले सबै मैले नै हेर्दैछु । अहिले म ४० वर्षको पुग्यो । मलाई केही नभएसम्म त म जसोतसो गर्दै उनीहरुलाई हेरचाह गरौंला तर यदी म पनि उनीहरुको बुबा जसरी केही कतै बितिहाले उनीहरुको भविष्य के होला ? भनेर मनमा चिन्ता छ । 

मेरो श्रीमानले सगरमाथाको ९ पटक सफलतापूर्वक आरोहण गरेको थियो । त्यति पटक सफल आरोहण गर्दा पनि सरकारले केही गरेन् । सरकारले शेर्पाहरु हिमाल आरोहण गर्दागर्दै मृत्यु हुँदा पनि केही गर्दैन् । सरकारले हाम्रो बालबालिका हेरिदिए, उनीहरुको शिक्षामा सहयोग गरिदिए हुन्थ्यो । स्कुलको लागि सरकारले सहयोग गरिदिए राम्रो हुन्थ्यो । हाम्रो बच्चालाई हामीले सक्नेसम्म त गछौं । 

पासाङ लाहमु शेर्पा (स्वर्गीय पेमा तेन्जिङ शेर्पाको श्रीमती)
श्रीमानको मृत्यु हुनुअघि म पढ्र्दै थियो । हालै मैले स्नातक तहको पढाइ सकेर बसिरहेको छु । अझै पढाइ गर्ने सोचिरहेको छु । तर मेरो साढे दुई वर्षको बच्चा छ । बच्चा अहिले सानै छ । श्रीमान त्यसरी हिमालमा बित्नुभयो । सरकारले हामी जस्ता हिमाल आरोहणमा ज्यान गुमाएका परिवारहरुको लागि केही गरिदिए हुन् थियो भन्ने छ । तर केही गरिदिने भन्ने आशा मनमा छैन् । म अहिले ३१ वर्षको भयो । हामीलाई आर्थिक रुपमा जीवन चलाउन व्यावसायिक तालिमहरु दिए सहयोग हुने थियो । हामीलाई सीपमूलक तालिमहरु दियो भने ‘स्किल’ विकास हुने थियो । व्यावसायिक तालिमले हामी केही व्यावसाय गरेर आफू र परिवारलाई हेर्न सक्थ्यो । सरकारले हामी जस्ताको लागि तालिम चाहिँ दिनुपर्छ । सीटीईभीटी (प्राविधिक शिक्षा तथा व्यावसायिक प्रशिक्षण प्रतिष्ठान)बाट मान्याता प्राप्त तालिम पायो भने हामीलाई बाहिर पनि काम लाग्छ । 

लेमी शेर्पा (स्वर्गीय लाक्पा रिता शेर्पाको श्रीमती)
मेरो पढाइ पनि छैन् । भएको श्रीमानको साथ पनि छुट्यो । दुई जना छोरी छ । एउटा १७ महिनाको छ । अर्को ७ वर्षको छ । श्रीमानको साथ यसरी छुटछ भन्ने कहिले पनि सोचेको थिएन । तर यो दिन पनि देख्न पर्यो । घरमा कमाउने मान्छे नै बित्दा निकै गाह्रो भएको छ, आर्थिक रुपमा पनि । सरकारले हामीलाई आर्थिक रुपमा पनि सहयोग गरिदिए निकै सहजीकरण हुन्थ्यो । दुई जना छोरीहरुलाई कसरी पढाउने ? हुर्काउने ? चिन्ता छ । उनीहरुलाई पढाउन इक्छा छ । तर आर्थिक रुपमा म सक्षम छैन् । हामीले तालिमहरु पायो भने भविष्यमा पनि गरिखाने बाटो हुन्छ । 

स्पोन्सर (प्रायोजक) पाए छोरीहरुलाई पढाउने इच्छा छ । उनीहरुको लागि केही कतैबाट सहयोग मिल्छ कि भन्ने आशा छ । हामी त जसोतसो काम गरेर खाउँला । तर छोरीको भविष्यको चिन्ता छ । श्रीमान हुन्जेल त श्रीमानले कमाएर ल्याउँथ्यो र बालबालिकालाई हेर्थ्यो । घरमा हेर्ने कमाउने मान्छे नै नभएपछि धेरै गाह्रो हुँदो रहेछ । म २७ वर्षको भयो । म एक्लै कहाँ गएर कमाएर ल्याउने ? के गर्ने ? सरकारले अहिलेसम्म त केही गरेको छैन् । तर पनि केही गर्दिए ठूलो सहयोग मिल्ने आशा छ । शेर्पाहरु हिमालमा काम गरेर परिवार पालिरहेका छन्,  आफ्नो ज्यानको जोखिम मोल्दै । त्यही पनि सरकारले केही गर्दैन । 

मिङमा डोमा शेर्पा (स्वर्गीय दछिरी शेर्पाको छोरी) 
म अहिले स्नातक तेस्रो तहमा पढ्दै छु । मेरो आमा खेती किसानी गर्नुहुन्छ । हाम्रो परिवारको आयस्रोत नै बुबा हुनुहुन्थ्यो । उहाँले नै कमाएर ल्याउनुहुन्थ्यो । तर अहिले हामीलाई नै छोडेर हिमालमा बित्नुभर्यो । उहाँले हाम्रो लागि काम गर्दागर्दै बित्नुभयो । यसरी शेर्पाहरुले हिमालमा रातदिन दुःख कस्ट गर्छन् तर सरकारले उनीहरुको लागि केही गरिदिन भने सोचेको पनि छैन् । शेर्पाहरु हिमालमा काम गर्न जाने भनेको रहर होइन् । पैसा कमाउन गएको हो । 
सरकारको ध्यान ग्रामीण क्षेत्रमा पुगेको छैन् । ग्रामीण भेगका मान्छेहरुको आयस्रोत नै हिमाल चढ्ने, आरोहीहरुको भारी बोक्ने हो । उनीहरुको लागि अन्य कामको व्यवस्था गरिदिएको भए सायद मेरो बुबा हामीसँग हुनुहुन्थ्यो । हिमालमा काम नगरेको भए यस्तो घटना हुँर्दैन थियो कि भन्ने पनि मनमा आउँछ । हिमालमा हिउँपहिरो आउँदा सरकारले केही गर्दैन । जस्तै भूकम्प जाँदा सरकारदेखि लिएर सबैले सहयोग गर्छन् । तर हिमालमा काम गर्नेहरुलाई कतैबाट पनि सहयोग मिल्दैन् । भूकम्प जाँदाखेरी जसरी भूकम्प पीडितलाई राहत दिन्छन् । त्यस्तो खालको सानो भए पनि सहयोग गरिदिए हुन्थ्यो । हिमालमा परि मृत्यु भएका परिवारहरुको बालबालिका शिक्षामा ध्यान दिएर जबसम्म उनीहरुले आफै कमाउनसक्ने अवस्थामा पुग्दैन, तबसम्म सरकारले हेरिदिए राम्रो हुन्छ । 

सानी शेर्पा (स्वर्गीय आङ कामी शेर्पाको श्रीमती)
म अहिले २८ वर्षको भए र मेरो साढे चार वर्षको छोरी छ । भएको श्रीमान पनि हिमालमा निधन भयो । पैसा आउने ठाउँ पनि छैन् । कमाउने मान्छे हुँदा र नहुँदा निकै अवस्था हुँदोरहेछ । सरकारले हामीलाई आर्थिक र निःशुल्क तालिमको व्यवस्था गरिदिए आफ्नो, छोरीको र परिवारको हेरचाह गर्न सहज हुन्थ्यो । अहिले म कक्षा ११ मा भर्ना गरी प्राइभेटमा पढिरहेको छु । म पढिसकेपछि मेरो छोरी र परिवारको लागि केही गर्नसक्छु कि भन्ने मनमा छ । मेरो छोरीलाई चाहिँ आर्मीले पढाइमा सहयोग गरिरहेको छ । छोरीलाई आर्मी स्कुलबाटै कक्षा १२सम्म पढाइदिनुहुन्छ । 

Advertisement