सुन तस्करीः ६ किलो सुन प्लेनबाटै गायब, सूचना चुहिन थालेपछि ट्रान्जिटबाटै फिर्ता !

Advertisement

काठमाडौं ।  सुन तस्करीमा नयाँ–नयाँ तरिका अपनाइन थालेको छ । सुन धमाधम पक्रिन थालेपछि तस्करहरुले नयाँ नयाँ चुक्ति लगाउन थालेका हुन् । 

मंसिर २६ गते भन्सार विभागका महानिर्देशक शोभाकान्त पौडेललाई एउटा सूचना आयो । युनाइटेड अरब इमिरेट्स (दुबई)बाट फ्लाइट नम्बर एफजेड ११३३ को फ्लाई दबईको जहाजमा एक व्यक्ति सुन लिएर आउँदैछ । 

Advertisement

यो सूचना पाउने बित्तिकै महानिर्देशक पौडेलले त्रिभुवन अन्तर्राष्ट्रिय भन्सार कार्यालयका कर्मचारीहरुलाई मैदानमा खटाए । दुबईबाट पासपोर्ट नम्बर ०९६१४२१४ नम्बरका भुवन कुँवर क्षेत्री ६ किलो सुन सहित आएको र सो व्यक्तिलाई पक्राउ गर्न भन्सारको टोली विमानस्थल पुग्यो । 

मंसिर २६ गते बेलुका ८ बजेर ४० मिनेट जाँदा ल्यान्डिङ भएको सो जहाजमा क्षेत्री बिजनेस क्लासको टिकट काटेर आएका थिए । भन्सारको टोलीले ती व्यक्तिलाई खानतलासी गर्दा कुनै सुन भेट्न सकेन । 

सुन कता गायब भयो भनेर टोलीले जहाजको अन्य भागमा खानतलासी गर्यो तर भेट्न सकेन । भन्सारको टोलीले नियन्त्रणमा लिएपछि भने क्षेत्रीले सुन मोजामा लुकाएर विमानकै कर्मचारीलाई पास गरेको आशंका गरिएको छ। 

टोलीका एक सदस्यले भने, ‘क्षेत्रीले साथमा सुन ल्याएको लगभग पक्का भएको छ, तर सुन कसरी लकाइयो भन्ने विषय अज्ञात रहेको छ ।’ भन्सारको टोलीले विमान चालक दलका सदस्य र एयर होस्टेजलाई नै सुन तस्करीमा रहेको आरोप लगाएको छ । 

भन्सारको टोली खानतलासिमा पुगेसँगै केही एयर होस्टेज हतार हतार बाहिरिएको टोलीका एक सदस्यले कर्पोरेट नेपाललाई जानकारी दिए । 

क्षेत्रीलाई हाल केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)को जिम्मा लगाइएको छ । सिआइबीको अनुसन्धानमा क्षेत्रीले नक्कली नेपाली नागरिकता बनाई पासपोर्ट पनि नक्कलीनै बनाएको खुल्न आएको छ । क्षेत्री हालसम्म २७ पटक भन्दा बढी दुबई आउँदै जाँदै गरेको प्रहरीले पत्ता लगाएको छ। 

क्षेत्रीलाई नियन्त्रणमा लिएर जहाजका अन्य सदस्यमाथी पनि अनुसन्धान सुरु गरिएको छ। 

त्रिवी विमानस्थलबाट सुन ल्याउने सबै बाटोहरुको बारेमा खुलासा गरिदिएको महानिर्देशक पौडेलले बताएका छन् । महानिर्देशक पौडेलले भने, ‘हामीले त्रिअ विमानस्थलबाट सुन ल्याउने सबै बाटोको विषय बाहिर ल्याइदिएका छौं, अब सम्बन्धित निकायले सुन तस्करी नियन्त्रणका लागि आवश्यक कदम चालोस्।’

महानिर्देशक पौडेलका अनुसार सुन तस्करीको सुराकी आएपनि केही शंकास्पद व्यक्तिहरु ट्रन्जिटबाटै फर्किने गरेका छन् । सुन तस्करीहरु पक्राउ पर्ने भएपछि ट्रान्जिटबाटै फर्किन थालेका हुन् ।  पछिल्लो पटक १६ किलो सुन बोकेर आएका एक व्यक्ति काठमाडौं नै नआइकन बीचबाटै फर्किएको विभागले जानकारी दिएको छ। 

पछिल्लो पटक १४ किलो सुन समातेर राम्रो अनुसन्धान गरेको भन्सार विभागले सुन तस्करीको विषयमा ठूलो खुलासा गरेको छ । सुन तस्करीका लागि विमान सञ्चालक देखी त्रिअ विमानस्थल सञ्चालनको जिम्मेवारी पाएको नागरिक उड्यन प्राधिकरणका कर्मचारीहरु समेत मुछिएका छन् । सुन तस्करीको लागि शौचालयमा दराज र भिआइपी कक्षको समेत दुरुपयोग भएको विभागले सार्वजनिक गरेको छ । 

Advertisement