वार्षिक २० हजार बिरामी पुग्छन् तातोपानी

Advertisement

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–४, सिङ्गास्थित तातोपानी कुण्डमा डुबेर प्राकृतिक उपचार गराउन र नुहाउन विभिन्न ठाउँबाट वार्षिक २० हजारभन्दा बढी बिरामी आउने गरेका छन् । प्राकृतिक चिकित्सालयको नामले परिचित यो कुण्डमा पुस पहिलो सातादेखि दैनिक पाँच सयभन्दा बढी बिरामीलगायत अन्यले डुबेर उपचार गराइरहेका कुण्ड व्यवस्थापन समितिका अध्यक्ष कृष्ण खड्काले बताए ।  

अहिले दैनिक पाँचसय बिरामी, सर्वसाधारण तथा पर्यटकले पनि स्नान गर्दै आइरहेका छन् । तातोपानी रहेको मुख्य कुण्डमा नियमित चार सय बिरामीले र बाहिरको पोखरीमा एक सय सर्वसाधारण र पर्यटकले स्नान गर्ने गरेको उनको भनाइ थियो । सदरमुकाम बेनीबजारदेखि नौ किलोमिटर पश्चिममा पर्ने तातोपानी कुण्ड प्राकृतिक चिकित्सालयका रुपमा देशविदेशमा चर्चित छ । यहाँ एक हप्तादेखि १२ दिनसम्म डुबेपछि रोग निको भएको सम्बद्ध बिरामीले बताए ।
    
विभिन्न नाम चलेका अस्पतालमा उपचार गराएर निको नभएका बिरामीसमेत पछिल्लो समय तातोपानीमा आउन थालेका अध्यक्ष खड्काले बताए । विगत १३ वर्षदेखि ढाड र घुँडा दुख्ने समस्याबाट ग्रसित बागलुङ अमलाचौरका ६३ वर्षीय डण्डपाणि चापागाईंले विगत तीन वर्षदेखि हिउँदयाममा तातोपानीमा डुब्न आउने गरेको बताए । 

Advertisement

Advertisement