सहकारी क्षेत्र बचत तथा ऋणको कारोबार गर्ने मात्रै नबनोस्ः सभामुख घिमिरे

Advertisement

काठमाडौं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले कृषिलाई आधुनिक ढंगबाट अघि बढाइ उत्पादन वृद्धि गर्नुपर्ने आवश्यकता औंल्याएका छन् । 

काठमाडौंमा आज आयोजित नेपाल कृषि सहकारी केन्द्रिय संघ लिमिटेडको १६औं साधारण सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । केही वर्ष अघिसम्म नेपाल कृषिमा आत्मनिर्भर रहेको भएपनि पछिल्लो समय कृषिमा परनिर्भर बन्दै गइरहेको बताए । 

Advertisement

उनले व्यक्तिले मात्रै कृषि क्षेत्रको उपार्जन गर्ने र उत्पादकत्व वृद्धि गर्नेकुरा सम्भव नरहेकाले सबै मिलेर कृषिमा आत्मनिर्भर बन्नुपर्ने बताए । कृषि क्षेत्रलाई राज्यले दिनुपर्ने प्राथमिकता र कृषि क्षेत्रलाई समेत समेटेर बनाइएको सहकारी ऐन, २०७४ पछि पनि कृषिमा कुनै प्रभाव नपरेको बताए । 

उनले सहकारी क्षेत्र वचत तथा ऋणको कारोबार गर्ने किसिमको मात्रै हुनु नहुने जिकिर गरे । कृषिलाई आधुनिक ढंगबाट अघि लैजाने, बाँजो जमिनलाई उर्वर बनाउने कुन ठाउँमा के कुरा उत्पादन गर्ने ? यसको बजारीकरण कसरी गर्ने र सम्भव भएसम्म कृषिलाई यान्त्रीकरणबाट अघि बढाउने बारेमा अध्ययन हुन जरुरी रहेको बताए ।  

सभामुख घिमिरेले सरकारले किसानहरुलाई आफ्नो नीतिअन्तर्गत समेट्नलाई तीन खम्बे अर्थनीति लिएर सहकारीको माध्यमबाट, राज्यले लगानी गर्ने र निजी क्षेत्रलाई पनि समावेश गर्ने सिद्धान्त अपनाएर प्रभावकारी रुपमा काम गर्दै जानुपर्ने बताए । उनले सहकारी आन्दोलनलाई प्रभावकारी ढंगबाट अघि लैजान र छरिएर रहेका किसान, साना किसानहरुलाई एक ठाउँमा ल्याइ काम गर्न आग्रह गरे । 

Advertisement