काठमाडौं गेष्ट हाउस समूहद्धारा ‘केजीएच पाटन’ सञ्चालन

Advertisement

काठमाडौं । काठमाडौं गेष्ट हाउस (केजीएच) समूहले ललितपुर पाटनको मुटुमा आठ करोड रुपियाँ लगानीमा ‘केजीएच पाटन होटल’ सञ्चालनमा ल्याएको छ । 

व्यावसायी कर्ण शाक्यको केजीएच ग्रुप अफ होटल्सको यो पहिलो हेरिटेज होटल हो । केही समयअघि सञ्चालनमा आइसकेको यो होटल सम्पदा संरक्षण र प्रवर्द्धनप्रतिको आफूहरुको प्रतिवद्धताको एउटा प्रतिक केजीएच पाटन भएको यस होटलका सीईओ राजन शाक्यले बताए । 

Advertisement

उनले नेपालको विरासतमा प्राप्त सांस्कृतिक गौरव विश्वसामु देखाउने पर्यटन उत्पादनहरू विकास गर्न आफूहरुले अगुवाइ गरेको बताउँदै भने, ‘केजीएच पाटन नेपाली कलाले सजिएको छ, जसले यस ठाउँमा कलात्मक आभालाई थप उक्साउने विश्वास लिइएको छ ।’ 

यो होटलमा स्ट्यान्डर्ड डिलक्स, डिलक्स स्टुडियो र सुपेरियर डिलक्स गरी २० वटा रुम रहेका छन् । राजन शाक्यका अनुसार होटलमा नेपाली चित्रकारहरुले बनाएका विभिन्न चित्रहरु राखिएका छन् । पर्यटकहरुले होटलभित्र सबै नेपालीपन महशुस गर्नेछन् । 

करिब पाँच आना जग्गामा निर्माण भएको केजीएच पाटनमा ४५ जनासम्म पर्यटक अटाउने क्षमता छ । सीईओ शाक्यले थपे, ‘हामीकहाँ आएका पर्यटकहरुले छोटो समयमा, भनौ ५ मिनेटमा पाटन दरबार स्क्वायर पुग्नसक्ने छन् । हाम्रो होटल पाटनको बिचमा रहेकोले पर्यटकहरु सहजरुपमा दरबार स्क्वायर लगायत घुम्नसक्छन् ।’ 

‘केजीएच पाटन’मा २५ वटाभन्दा बढी चित्रकला राखिएका छन् । होटलमा हाल ९ जना कर्मचारी काम गर्छन् । केजीएच ग्रुपअन्तर्गत ठमेलमा काठमाडौं गेस्ट हाउस, हत्तिसारमा माया मनोहर बुटिक होटल, बुढानीलकण्ठमा पार्क भिलेज रिसोर्ट, पोखराको लेकसाइडमा वाटरफ्रन्ट रिसोर्ट, पोखराको साराङकोटमा हिमालयन फ्रन्ट होटल, चितवनमा मारुनी अभयारण्य लज, लुम्बिनीमा बुद्धमाया गार्डेन रिसोर्ट गरी आठ वटा होटल तथा रिसोर्ट रहेका छन् । 

सीईओ शाक्यले अब आफूहरुले थप्ने होटलहरु ‘हेरिटेज लाइन’मा हुने बताए । सन् १९६८ मा काठमाडौं गेस्ट हाउस चार वटा कोठाबाट सुरु गरेको शाक्य परिवार अहिले केजीएच पाटनमा पुगेको हो । यो हेरिटेज होटल सञ्चालनमा ल्याउनुको उद्देश्य विदेशी पर्यटकहरुलाई नेपाली सम्पदाको कथा देखाउनु रहेको उनले सुनाए । 

पाटन भनेको एउटा जिवित सम्पदा क्षेत्र भएको बताउँदै शाक्यले भने, ‘नेपालमा हिमाल, पहाड, जंगल भनेको पर्यटनको हार्डवेयर हो । जबकि मानिस, सम्पदा र संस्कृति हिमालयलाई जीवित राख्ने सफ्टवेयर हो ।’

Advertisement