दक्षिण र उत्तर कोरियाबीच तनाब बढ्दै, एकले अर्कोलाई सिध्याउने चेतावनी

Advertisement

काठमाडौं । उत्तर र दक्षिण कोरियाबीच तनाव चर्कँदै जाँदा दक्षिण कोरियाली राष्ट्रपति यून सुक उलले यदि आफ्नो देशलाई उक्साउने गतिविधि भएमा उत्तर कोरियाविरुद्ध ‘ठूलो बलको प्रयोग गरेर’ जवाफ दिने चेतावनी दिएका छन् ।

उत्तर कोरियाली सर्वोच्च नेता किम जङ अनले आणविक अस्त्र प्रयोग गरेर दक्षिण कोरियालाई सिध्याउने कडा चेतावनी दिएको बेला दक्षिणबाट पनि कडा प्रतिवाद भएको हो । किमले आफ्नो देशको संविधानमा परिवर्तन गरेर दक्षिण कोरियालाई मुख्य दुश्मनका रूपमा व्याख्या गरिनुपर्ने पनि बताएका थिए । 

Advertisement

साथै, उनले संविधानमा त्यस्तो परिवर्तन गर्दा युद्ध भएको खण्डमा दक्षिण कोरियाली भूभाग उत्तरमा गाभ्न सकिने व्यवस्था पनि गरिनुपर्ने बताएका थिए । 

उत्तर कोरियाको सरकारी समाचार एजेन्सी केसीएनएलाई उदृत गर्दै बीबीसीले सोमवार एउटा महत्त्वपूर्ण संसदीय बैठकलाई सम्बोधन गर्दै नेता किमले दक्षिण कोरयालाई मेलमिलाप र एकीकरणको उद्देश्यका निम्ति आफ्नो देशको सहयात्रीका रूपमा परिभाषित नगर्न कानुनी उपायहरू तयार पार्न आग्रह गरेको उल्लेख गरेको छ । 

जवाफमा दक्षिण कोरियाका राष्ट्रपतिले, ‘उत्तर कोरयाली अधिकारीहरूले दक्षिण र उत्तर कोरियालाई समान मूल भएका देशका रूपमा नभई दुई शत्रुतापूर्ण सम्बन्ध भएका देशका रूपमा व्याख्या गरेका’ बताएका छन् । यसबाट उत्तर कोरियाली सत्ताले आफ्नो चरित्र राष्ट्रविरोधी र इतिहासविरोधी रहेको स्वीकार गरेको उनको भनाई छ । 

उलले यो कोरियाली गणतन्त्रलाई विभाजित तुल्याउने र दक्षिण जनताको मनमा संशय उत्पन्न गराउने राजनीतिक उक्साहट हो भन्दै दक्षिण कोरियाले एकजुट भएर उत्तरको भ्रमपूर्ण गतिविधि र मिथ्या प्रचारलाई पराजित गर्नुपर्ने बताए । 

यसैबीच, उत्तर कोरियाले अन्तरकोरियाली संवाद र सहकार्य प्रवर्धन गर्ने उद्देश्य बोकेका तीन वटा निकायलाई पनि भङ्ग गरिदिएको छ । दुई देशबीच गएको एक बर्षदेखि सुरु भएको तनाव अहिले झन चर्किएर गएको हो । तनाब बढ्दै जाँदा दुवै देशले सैन्य गतिविधिलाई पनि बढाउँदै लगेका छन् ।

Advertisement

Advertisement