नेपाल लाइफको नयाँ बोनस दर सार्वजनिक, अधिकतम कतिसम्म पाइन्छ ?

Advertisement

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले नयाँ बोनस दर सार्वजनिक गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७८/७९सम्मको जीवन बीमा कोषको बीमाङ्कीय मूल्याङ्कनका आधारमा नयाँ बोनस दर सार्वजनिक गरेको बताएको छ । 

कम्पनीले जारी गरेको विभिन्न बीमा योजनामा न्यूनतम प्रतिहजार ५० रुपियाँदेखि अधिकतम प्रतिहजार ८५ रुपियाँसम्म बोनस दर कायम गरेको हो । कम्पनीको आर्थिक वर्ष २०७८/७९को बीमा कोषको बीमांकीय मूल्यांकक प्रतिवेदन बीमा प्राधिकरणबाट माघ ३ गते स्वीकृत भई बीमालेखमा नयाँ बोनस दर कायम हुने गरी सार्वजनिक गरेको हो ।

Advertisement

सावधिक जीवन बीमालेख (सुरक्षित जीवन, जीवन ज्योति, ग्रामिण सावधिक, सावधिक लघु, केटाकेटी, सुनिश्चित भविष्य तथा शिक्षा जीवन बीमा, जीवन लक्ष्मी, अनमोल जीवन, जीवन उदय एकल) बीमालेखमा ० देखि १० वर्ष अवधिको प्रतिहजार ६० रुपियाँ, ११ देखि १५ वर्ष अवधिको ६० रुपियाँ, १६ देखि २० वर्ष अवधिको ६० रुपियाँ, २१ देखि २५ वर्ष अवधिको ७० रुपियाँ, २६ वर्षदेखि ३० वर्षको ८२ रुपियाँ र ३० वर्षभन्दा माथि अवधिको ८२ रुपियाँ बानेस दर निर्धारण गरिएको छ ।

त्यसैगरी, सावधिक जीवन बीमालेख (नौलो सुरक्षित, नौलो केटाकेटी जीवन बीमा) योजनामा न्यूनतम ६५ रुपियाँदेखि अधिकतम ८२ रुपियाँ बोनस दर निर्धारण गरिएको कम्पनीले जनाएको छ ।

सावधिक जीवन (जीवन समुन्नत) बीमालेखमा प्रतिहजारमा न्यूनतम ५६ रुपियाँदेखि अधिकतम ७० रुपियाँ बोनस दर तोकेको छ ।

सावधिक तथा आजीवन (जीवन साहारा) बीमायोजनामा प्रतिहजारमा न्यूनतम ६० रुपियाँदेखि अधिकतम ८२ रुपियाँ बोनस दर निर्धारण गरेको छ ।

कम्पनीले अग्रिम भुक्तानी (जीवन समृद्धि) बीमा योजनाको १५ र २० वर्षे अवधिको प्रतिहजार ५० रुपियाँ बोनस दर तोकेको छ । साथसाथै, अग्रिम भुक्तानी सावधिक (धन वर्षा–१५, धन वर्षा–२०, नौलो जीवन समृद्धि, नौलो धन वर्षा, जीवन उन्नति, छोराछोरी र सदाबहार जीवन) बीमा योजनामा सबै अवधिका लागि प्रतिहजार ५० रुपियाँ बोनस दर तोकेको छ ।

अन्य (जीवन सारथी) बीमा योजनामा कम्पनीले न्यूनतम ६१ रुपियाँदेखि अधिकतम ८५ रुपियाँ बोनस दर निर्धारण गरेको छ ।

कम्पनीले घोषणा गरेको बोनस दर मृत्युदाबी, पूर्ण वा आंशिक अवधि भुक्तानी दाबी, समर्पण मूल्य दाबी, चुक्ता मूल्य दाबी तथा चालू बीमालेखमा समेत लागू हुनेछ । साथै कम्पनीको आगामी बीमांकीय मूल्यांकन नभएसम्म सोही बोनस दर लागू हुने पनि कम्पनीले जनाएको छ ।

Advertisement

Advertisement