बीमाको बोनस दर विवादः घट्नुको कारण बुझ्दिनुपर्छः पराजुली, सीईओको भूमिका हुन्नः खत्री

Advertisement

काठमाडौं । नेपालका पूराना र ठूला बीमा कम्पनीहरुले बोनस दर घट्नुको कारण नेपाल बीमा प्राधिकरणको नीति, बीमांकीय मूल्यांकन तथा अन्य प्राविधिक कुरा प्रमुख रहेको बीमा कम्पनीका सीईओहरूले बताएका छन् । 

ती कम्पनीका सीईओहरुले बोनस दर घट्नुमा कम्पनीको कमजोरी नरहेको बताएका छन् । सीईओले चाहेर या सीईओको कमजोरीले बोनस दर नघट्ने बरू ‘फ्युचर बोनस प्रोभिजनिङ’ सम्बन्धी नयाँ व्यवस्थाका कारणा बोनसमा असर परेको उनीहरुको तर्क छ । यद्यपि आफूहरु यस्तो बोनस दर घट्न हुँदैन भन्ने पक्षमा रहेको सीईओहरू बताउँछन् ।  

Advertisement

‘फ्युचर बोनस प्रोभिजनिङ (भविष्यको लाभका लागि सञ्चिति) सम्बन्धी जुन नयाँ व्यवस्था आयो, त्यसले पुराना र राम्रै व्यावसाय गरिरहेका जीवन बीमा कम्पनीहरुको बोनस दर घट्ने अवस्था आएको हो,' नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका सीईओ प्रवीणरमण पराजुलीले भने, 'यो व्यवस्थाले बीमितलाई बोनसका रुपमा दिनुपर्ने पैसा रिजर्भ कोषमा राख्नुपर्ने भएको छ ।’

त्यसरी जीवन बीमा कोषमा पैसा राख्दा बीमितहरुले भविष्यमा पाउने बोनस दरमा एकरुपता आउने उनले बताए । प्राधिकरणले हामीलाई दिएको निर्देशन पनि त्यही नै हो भन्दै पराजुलीले बोनसमा समानता ल्याउने उद्देश्य भएकाले क्षणिकका लागि कुनै ‘फिज’मा सामान्य तलमाथि हुँदै त्यसलाई गलत प्रचार गर्न नहुने बताए । 

उनले भने, ‘बीमामा बोनसको वास्तविकता, नियमनकारी प्रावधान, एक्चुरीको प्राविधिक विश्लेषणलाई सबैले बुझ्न जरुरी छ ।’ सीईओ पराजुलीले ‘कुनै पनि सीईओ आफ्नो एकल मनले चाहेर बोनस दर निर्धारण हुने भए जो कोहीले पनि सकेसम्म उच्च दर कायम गर्ने प्रयास गर्ने थिए’ भने । 

त्यस्तै, उनले नेपाल लाइफले ‘एन्टिसिपेटेड प्लान’ (बीमित जिउँदो हुँदा नै पाइने अतिरिक्त लाभ)का केही बोनस दर घटे पनि त्यसलाई अफवाहको रुपमा भन्दा फ्युचर बोनस प्रोभिजननिङको असरको रुपमा सबैले बुझ्न आवश्यक रहेको बताए । नेपाल लाइफले मंगलबार आफ्नो बोनस दर सार्वजनिक गरेको थियो । 

कम्पनीले सार्वजनिक गरेको नयाँ बोनस दर अनुसार बीमितहरुले प्रति हजार न्यूनतम ५० रुपियाँ तथा अधिकतम ८५ रुपियाँ पाउने छन् । तर, नेशनल लाइफ इन्स्योरेन्सले भने केहीदिन भित्रै आफ्नो नयाँ बोनस दर सार्वजनिक गर्ने बताएको छ । 

त्यस्तै, अर्को ठूलो जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनीका सीईओ सुरेश खत्रीले प्राधिकरणले बीमा बजारको अध्ययन गरेर बीमितहरुको हितको लागि नै ‘फ्युचर बोनस प्रोभिजनिङ’को व्यवस्था लागू गरेकाले यसलाई सबैले सम्मान गर्न आवश्यक रहेको बताए । 

सीईओ खत्रीले तत्कालका लागि कुन कम्पनीको बोनस दर कति छ ? भन्ने कुराले मात्र भन्दा पनि २० औं वर्षसम्म बीमितको दायित्व बीमा कम्पनीहरुले बोक्ने भएकाले उनीहरुले आगामी दिनमा कम्पनी बलियो बनाउन, कम्पनीको जोखिम धारण क्षमता बढाउन, बीमतिले पाउने प्रतिफलमा एकरुपता कायम गर्न यस्तो नीति लागू गरिएको बताए । 

बीमामा बोनस दर तोक्ने कुरा निकै प्राविधिक विश्लेषण भएकोले यसमा सीईओहरुको निर्णयक भूमिका नहुने उनले बताए । खत्रीले थपे, ‘नेशनल लाइफको हकमा चाहिँ यस भन्दा अघि बोनस दरमा धेरै फेरबदल भएको छैन् । यसपाटक पनि प्राविधिक अध्ययन भइरहेको अवस्था छ । अब बीमा कम्पनीहरुको बोनसलाई मात्र आधार बनाएर कम्पनीको अरु सुचांकलाई ख्याल नगरी बीमितहरुले आत्तिनुपर्ने अवस्था रहँदैन । हाम्रो बोनस दर अध्ययनकै क्रममा रहेकाले पनि मैले तत्काल अरु विश्लेषण गर्ने अवस्था छैन् ।’

Advertisement