फूलबारी रिसोर्टको बैंकसँगको विवाद मिल्दै, नवीकरण गरेर आउँदो दशैंअघि सञ्चालनमा ल्याइने

Advertisement

काठमाडौं । लामो समयदेखि बन्द रहेको पोखराको फूलबारी रिसोर्ट एण्ड स्पा पुनः खुलाउने प्रयास सफल हुन लागेको छ । ऋण तिर्न नसकेपछि बैंकले लिलामीमा लगेको यो रिसोर्टले बैंकसँगको कारोबार मिलाएर सेवा सुचारु गर्न लागिएको हो । 

व्यावसायी पियुसबहादुर अमात्यको यो रिसोर्टका एक व्यवस्थापकले आउँदो भदौ–असोजभित्र सञ्चालनमा आइसक्ने बताए । उनले भने, ‘रिसोर्ट पुनः सञ्चालन गर्ने प्रयास पहिलेदेखि भए पनि सार्थक हुन सकेको थिएन् । अहिले भने बैंकसँगको कारोबार मिल्ने प्रक्रियामा गएको छ । कारोबार मिलेपछि रिसोर्ट मर्मत संभार, कर्मचारी व्यवस्थापन, नवीकरणको काम सबै गरेर आउँदो दशैंअघि नै सञ्चालनमा ल्याउँछौं ।’ 

Advertisement

फूलबारी रिसोर्ट विगत पाँच बर्षदेखि बन्द छ । ती व्यवस्थापकले बैंकसँगको काम अब थोरै मात्रै बाँकी रहेको बताए । त्यो काम टुंगिएपछि रिसोर्टको नवीकरण र जनशक्ति व्यवस्थापनको काम गर्ने बताए । अन्तर्राष्ट्रिय चेन होटल म्यारियट ग्रुपसँग सम्वद्ध यो रिसोर्ट अब पनि उसैको चेनमा सञ्चालन हुनेछ । 

ती व्यवस्थापकले भने, ‘हाम्रो योजना यही सिजनमा रिसोर्ट सञ्चालनमा ल्याउने थियो । प्रयास गर्दा ढिलो भयो । अब आउँदो सेप्टेम्बरसम्ममा सञ्चालनमा ल्याउने योजनाका लागिपरेका छौं ।’ दक्षिण एशियाकै ठूलो रिसोर्टको रुपमा चिनिएको फूलबारी रिसोर्ट बन्द भएपछि पोखरामा पाँच तारेस्तरको एउटा मात्रै होटल ‘होटल पोखरा ग्राण्ड’ बाँकी रहेको छ । 

जबकी पोखरा नेपालको मुख्य पर्यटकीय शहर हो । पर्यटकीय नगरीमा पर्याप्त मात्रामा ठूला सुविधासम्पन्न होटलहरु हुनुपर्नेमा भएको पनि बन्द हुँदा पर्यटन व्यावसायी र स्थानीय निराश हुँदै आएका छन् । चार सय रोपनी क्षेत्रफलमा फैलिएको यो रिसोर्टमा दुई वटा बैंक र कर्मचारी सञ्चय कोषको ऋण लगानी रहेको छ । 

रिसोर्टमा २०५३ सालमा नेपाल बैंकको नेतृत्वको सहवित्तीयकरणमा राष्ट्रिय वाणिज्य बैंक र कर्मचारी सञ्चय कोषले एक अर्ब ३१ करोड रुपियाँ ऋण लगानी गरेका थिए । 

Advertisement