आन्तरिकतर्फको नयाँ टर्मिनल भवन सञ्चालनमा

Advertisement

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिकतर्फ नयाँ आगमन टर्मिनल भवन सञ्चालनमा आएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले भैरहवाबाट काठमाडौँ अवतरण गरेका बुद्ध एयरका यात्रुलाई स्वागत गर्दै नयाँ टर्मिनल भवन उद्घाटन गरे । 

टर्मिनलको उद्घाटन गर्दै मन्त्री किरातीले विमानस्थलको पूर्वाधार विकासले हवाई यात्रुलाई थप सुविधा र विमानस्थल सुरक्षामा थप मद्दत पुग्ने बताए । ‘विमानस्थल देशको मुहार हो,’ उनले भने, ‘नयाँ टर्मिनल भवनले आन्तरिक हवाई यात्रु आवागमनमा सुविधा र सहजता थप्ने छ । 

Advertisement

विमानस्थललाई विकास निर्माणको ढोकाका रूपमा लिएको जनाउँदै उहाँले देश र जनताप्रति उत्तरदायी भएर सेवा दिन कर्मचारीलाई निर्देशनसमेत दिए । 

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले आन्तरिकतर्फ टर्मिनलमा आगमन र प्रस्थान कक्ष एकै ठाउँमा हुँदा यात्रुको भीडभाड हुने समस्या अबदेखि छुट्टाछुट्टै भवनबाट सहज रूपमा सेवा दिइने जानकारी दिए । प्राधिकरणले यात्रुको सुविधाका लागि विभिन्न विमानस्थलमा नयाँ भौतिक संरचना निर्माण र प्रविधि जडान भइरहेको भन्दै उनले गुरुयोजना अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नयाँ अन्तर्राष्ट्रिय टर्मिनलबाहेकका काम पूरा भएको बताए । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले विमानस्थलमा पछिल्लो एक वर्षमा भएका पूर्वाधार विकास र आगामी योजनाबारे जानकारी र्दिए । 

प्राधिकरणका अनुसार २०८० पुस ३० गते भवन निर्माण सम्पन्न भएको भवनको सुरुवाती लागत पाँच करोड ८८ लाख ८३ हजार ७३८ रुपियाँ रहेकोमा निर्माण अवधि र आगमन कक्षको क्षेत्रफलसमेत बढेपछि छ करोड ४० लाख ४३ हजार ४८४ रुपियाँमा सम्पन्न भएको हो । पुरानो आगमन कक्षबाट विशिष्ट व्यक्तिलाई ओहोरदोहोर गराइने छ । नयाँ आगमन कक्षमार्फत एक घण्टामा चार सय यात्रुले सेवा लिन सक्ने छन् ।

Advertisement