अन्ततः दुर्गा प्रसाइँकै पथमा केपी ओली, बैंकहरु मिटरब्याजी भएको आरोप

Advertisement

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले बैंकहरु मिटरब्याजी भएको आरोप लगाएका छन् । शुक्रवार बैंक, बीमा तथा वित्तीय क्षेत्र कर्मचारी संघको महाधिवेशनमा उनले अभियान्ता दुर्गा प्रसाइँकै पथमा गएर बैंकहरुको आलोचना गरेका हुन् । 

मिटरब्याजीको जस्तो गरी तीन महिनापछि ब्याजलाई पनि सावाँमा गाभ्ने भएकाले बैंकहरु पनि मिटरब्याजी जस्तै भएको आरोप ओलीको तर्क छ । उनले बैंकहरुले ऋणीले लिएको कर्जाको ब्याज तीन महिनामा सावाँमा गाभ्न नहुने भन्दै गाभे मिटरब्याजीसरह हुने बताए । 

Advertisement

नेता ओली बैंकबाट कर्जा लिनेले पनि लगानी गरेर प्रतिफल आएपछि तिर्ने भएकाले बैंकले त्यहीअनुसार बुझ्न आवश्यक रहेको बताए । उनले प्रतिफल आउन नसक्ने गरी केही वर्षभित्र बैंकको ब्याजदर दोब्बर बनाएर बैंकले मात्रै कमाउने तरिका ठिक नभएको उल्लेख गर्दै बैंकको ऋण नतिर्ने आन्दोलन बैंकहरुले नै बनाएको आधारमा भएको दाबी गरे । 

ओलीले बैंकहरुले ऋण आवश्यक नभएकालाई नै बिना धितोमा ऋण दिने गरेको दाबी गरे । उनले बैंकको ऋण सदुपयोग भए÷नभएको अध्ययन र अनुगमन गर्न आवश्यक रहेको पनि बताए । कर्जा दिँदा लिएको धितो छ भन्दैमा धितो लिलाम गर्नु र ऋण असुल गर्नु मात्रै बैंकको काम नभएको भन्दै ओलीले बैंकहरुले ऋणीलाई कर्जा दिँदा ब्याजदर घटाउन÷बढाउन सकिने उल्लेख गरेको भएपनि बैंकहरुले एकतर्फी रुपमा बढाउने काम मात्रै गरेको बताए । 

उनले बैंकबाट कर्जा लिँदा दुई पक्षिय सहमति बिना ब्याजदर घटबढ गर्न नपाउने व्यवस्था गर्नुपर्ने बताए । ओलीले बैंकका निक्षेपकर्ता र ऋण लिनेहरु नै बैंकका जीवन भएको बताए । बैंकहरु नाफाखोर, निर्मम साहुजी नभएको भन्दै उनले बैंक विकासका सहयोगी भएको बताए । 

ओलीले भने, ‘बैंकहरुले नराम्रो नमान्नु होला । बैंकहरु पनि मिटरब्याजी नै छन् । बैंक मिटरब्याजी होइन र तीन महिनाको ब्याजलाई सावाँमा गाभ्नु मिटरब्याजी त्यही हो । बैंकहरु पनि मिटरब्याजी भएका छन् । तीन महिनामा साँवामा गाभ्ने भएन । कर्जा लैजानेले तिर्नु पनि पर्छ होला । कर्जा तिर्नेले प्रतिफल लिएर तिर्ने हो । लगानी गरेर प्रतिफल आउनुपर्छ । प्रतिफल आउन नसक्ने गरी केही वर्षभित्र डब्बल कसरी हुन्छ । अरुले नकमाउने बैंकले मात्रै कमाउने तरिका ठिक भएन । बैंकको ऋण नतिर्ने भनेर बैंकहरुले केही आधार बनाइदिएकाले आन्दोलित भएका हुन् । बैंकहरुले जसलाई ऋण आवश्यक छैन । उसलाई बिना धितोमा पनि ऋण दिन्न्छन् । जसलाई पुँजी आवश्यक छ त्यसलाई बैंकले राम्रो खालको धितो लिन्छ । बैंकले दिएको ऋण सदुपयोग भएको छ वा छैन । त्यो बैंकले केही हेर्दैन। धितो छ के मतलव भनिएको छ । धितो लिलाम गर्नु र ऋण असुल गर्नु मात्रै बैंकको काम होइन ।’ 

उनले थपे, ‘बैंकहरुले लगानी गरेपछि अनुगमन र सदुपयोग भएको छ की छैन भनेर पनि हुर्नुपर्छ । बैंकले सस्तो ब्याजमा पैसा पाएको हुन्छ । बैंकहरुले ऋणलाई कर्जा दिँदा ब्याजदर घटाउन बढाउन सकिने छ भनेको हुन्छ तर घटाउने कहिल्यै हुँदैन । कर्जा लिँदा दुईपक्षिय सहमति बिना ब्याज दर घटबढ गर्न पाइँदैन । यो व्यवस्था गर्नुपर्छ । बैंकले एकतर्फि रुपमा कर्जाको ब्याजदर बढाउनु हुँदैन । ऋणले ९ प्रतिशतमा लिएको कर्जा १४ प्रतिशतसम्म पुग्यो । ऋण तिर्न जाँदा बैंकको हिसाव ठूलो बनाएर बसेको हुन्छ । कर्जा लिँदा भएको सम्झौता परिवर्तन गर्नुपर्छ भने ऋण लिने र ऋण दिने दुवैको सहमतिबाट मात्रै गर्नुपर्छ होइन भने कर्जा तिर्न नसक्ने हुन्छ । बैंकहरुलाई मर्का परेर ब्याज बढायौं भनेर अरुलाई परेको मर्का पनि बुझ्नुपर्छ । बैंकका निक्षेपकर्ता र ऋण लिनेहरु नै बैंकका जीवन हुन् । बैंकहरु नाफाखोर निर्मम साहुजी होइनन् । बैंक विकासका सहयोगी हुन् । विकासका प्रयासमा बैंकहरुले सहयोग गर्नुपर्छ ।’

ओलीले नेपालमा बीमा कर कापले गर्ने गरेको बताउनु भयो । उहाँले करले गरेको बीमाको तीन किस्तासम्म तिर्ने त्यसपछि बीमा अलपत्र पर्ने गरेको उल्लेख गरे । उनले अलपत्र परेको बीमा कम्पनीको नाफामा जाने तर बीमा गर्नेले उसको लागत कटाएर पैसा फिर्ता गर्न नजानेको बताए । ओलीले बीमा गरेर प्रिमियम तिर्न नसक्दा बीमकको पैसा ल्याप्स हुन नहुने बताए । 

Advertisement