काठमाडौं । एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले देश राम्रोसँग नचलेको भए राम्रो प्रधानमन्त्रीको रुपमा देशलाई विकल्प दिन राजा ज्ञानेन्द्र शाहलाई सुझाव दिएका छन् ।
शनिवार ललितपुरमा आयोजित एक कार्यक्रममा उनले राज्य शासन प्रणाली ठिक ढंगले चलेको छैन भने र मुलुक राम्ररी चलाउन सकेनन् भन्ने लागेको भए नेता भई चुनाव जितेर प्रधानमन्त्री बन्दै देशको नेतृत्व गर्न राजालाई सुझाव दिएका छन् ।
राष्ट्रपति बन्नका लागि मानिसहरुको अभाव नरहेको माधव नेपालको तर्क थियो । उनले देशको काम प्रधानमन्त्रीले गर्ने भएकाले प्रधानमन्त्रीसँगको विवाद हो भने चुनाव लड्न सुझाव दिए । माधव नेपालले देशमा अहिले प्रतिगामी शक्तिहरुले टाउको उठाउने र व्यवस्थालाई समाप्त पार्ने काम भइरहेको तर्क गरे ।
उनले राजतन्त्रले प्रकृतिको एकलौटी लुट मच्चाएको, लुम्बिनी विकास कोषमा लुट मच्चाएको, पशुपति विकास कोषमा लुट मच्चाएको, जनकपुरमा पनि त्यही ढंगले बाहिरबाट आएका अनेक श्रोतसाधनहरुलाई एकलौटी कब्जा गरेको गम्भीर आरोप लगाए ।
माधव नेपालले भने, ‘अहिले हाम्रो देशको सामुमा समस्या प्रतिगामी शक्तिहरुले टाउको उठाउने र यो व्यवस्थालाई समाप्त पार्ने मात्रै देखिएको छ । त्यसको सामना गर्ने हो । राजतन्त्रले फेरि फर्किएर आउने चाहना राखेको छ । त्यो कदापि सम्भव छैन । राजाको पालामा प्रकृतिको एकलौटी लुट मच्चाएको, लुम्बिनी विकास कोषमा लुट मच्चाएको, पशुपति विकास कोषमा लुट मच्चाएको, जनकपुरमा पनि त्यही ढंगले बाहिरबाट आएका अनेक श्रोतसाधनहरुलाई एकलौटि कब्जा गरेको, न खोजे, न अनुसन्धान, न कुनै कसैले प्रश्न गर्ने ? यस्तो स्थिति थियो ।’
उनले थपे, ‘कुनै कोणबाट हेर्दा पनि राजतन्त्रको औचित्यता पुष्टि गर्न सकिँदैन । त्यसो हुनाले यहाँ राजतन्त्रको बारेमा कुरा उठाउनु भनेको असान्दर्भिक हो । यदी राज्य शासन प्रणाली ठिक ढंगले चलेको छैन भने, मुलुक राम्ररी चलाउन सकेका छैनन् भने नेता भएर आए हुन्छ । जनताको बीचमा भिजे हुन्छ । चुनाव जितेर आए हुन्छ । राम्रो प्रधानमन्त्रीको रुपमा देशलाई विकल्प दिए हुन्छ । अहिले राष्ट्रपति हुने मान्छेको अभाव भएर होइन । काम गर्ने भनेको प्रधानमन्त्रीले हो, प्रधानमन्त्रीसँगको यदी विवाद हो भने प्रधानमन्त्री बन्न तपाइँ चाहनुहुन्छ भने आउनुस् ।’
माधव नेपालले सरकारको अहिलेको स्थितिसँग आफू सन्तुष्ट नरहेको जिकिर गरे । उनले आफ्नो पार्टी मुलुकमा विद्यमान स्थितिको बारेमा गम्भीर रहेको बताए । माधव नेपालले अहिलेका समस्या समाधानका लागि गम्भीर विचार मन्थन हुन जरुरी रहेको बताए । उनले असन्तुष्ट मात्रै भएर पनि समस्या समाधान नहुने बताए ।
नेता नेपालले भने, ‘हामी हाम्रो पार्टी, हाम्रो मुलुकमा विद्यमान स्थितिको बारेमा गम्भीर छ । अहिलेको स्थितिसँग हामी सन्तुष्ट छैनौँ । तर असन्तुष्ट मात्रै भएर पनि केही हुँदैन । असन्तुष्टि समस्याको समाधान होइन । समस्याको समाधान भनेको खोजेर पत्ता लगाउने हो । समस्याका कारण पत्ता लगाउनुपर्छ । खोजि गर्नुपर्छ । त्यसको समाधानको बारेमा गम्भीर विचार र मन्थन हुनुपर्छ । हामीले दिएको समाधानले स्थितिमा परिवर्तन गर्छ कि गर्दैन, हाम्रो मुलुक अघि बढाउन त्यसले सहयोग पुग्छ कि पुग्दैन ।’
अध्यक्ष नेपालले विश्वविद्यालयहरुमा विद्यार्थीहरु कमी भइरहेको बारेमा गहन अध्ययन गर्न जरुरी रहेको बताए ।