अन्नपूर्ण केवलकारले भारतबाट ल्याएर साराङकोट डाँडामा ३५ फिट अग्लो गणेशको मूर्ति राख्ने

Advertisement

काठमाडौं । पोखराको अन्नपूर्ण केवलकारले साराङकोट डाँडामा ३५ फिट अग्लो गणेशको मूर्ति राख्ने भएको छ । कम्पनीका एक कर्मचारीले डाँडामा राखिने उक्त मूर्ति भारतबाट केही दिनमा आइपुग्ने बताएका छन् । 

अन्नपूर्ण केवलकारले पोखराको फेवाताल किनारबाट साराङकोट डाँडासम्म जोड्ने केवलकार सञ्चालनमा ल्याएको छ । यही माघ वा फागुन पहिलो हप्तासम्ममा गणेशको मूर्ति पोखरा आइपुग्ने कम्पनीको भनाई छ । 

Advertisement

कम्पनीका ती कर्मचारीले भने, ‘भारतबाट गणेशको मूर्ति ल्याएर यहाँ फिट गर्ने हो । ल्याएपछि फिट गर्न एक हप्ता जति समय लाग्छ । मूर्ति बनाउने मान्छेहरु पनि फिट गर्न आउनुपर्यो । जसले मुर्ति बनायो, उनीहरु नै आएर फिट गर्ने हो ।’

कम्पनीले पर्यटकहरुको आकर्षणको लागि केवलकारको सुविधासँगै जिपलाइन, स्काई साइक्लिङ, स्विङ पनि सञ्चालनको तयारी गरेको बताउँदै उनीहरुको आकर्षणको लागि गणेशको मूर्ति पनि छिटै स्थापना हुने बताएको छ ।

अन्नपूर्ण केबलकारमा दिनमा तीन सयदेखि चार सय पर्यटक चढ्ने गरेको कम्पनीको दावी छ । विशेषगरी शनिबार धेरै पर्यटक यात्रु हुने गर्छन् । 

कुल २.२ किलोमिटर लामो यो केवलकार सेवा २०७३ बाट सुरु भए पनि सेवा थप गर्ने क्रम भने चरणवद्ध रुपमा गरिएको छ । सूर्योदय अवलोकनका लागि प्रख्यात सराङ्कोट चढ्ने मानिसहरुलाई लक्षित गरी कालु गुरुङलगायतको लगानीमा यो केवरकार निर्माण गरिएको हो । कम्पनीले सराङकोटमा भ्यूटावरसँगै रेस्टुरेन्ट पनि सञ्चालन गरेको छ । 

Advertisement