नेपालगन्ज–जनकपुर हवाई सेवा यही सातादेखि
प्रतीकात्मक तस्बिर ।

Advertisement

नेपालगन्ज। नेपालगन्ज–जनकपुर हवाई सेवा यही सातादेखि सुरु हुने भएको छ ।

नेपाल एशोसियशन अफ टुर एण्ड ट्राभल्स एजेन्ट (नाटा, बाँके च्याप्टरका अध्यक्ष श्रीराम सिग्देलले नेपालगन्जमा रहेको मिथिला समाजको आग्रहमा आगामी शनिबार र सोमबार चार्टर उडान हुने जानकारी दिए । यसले धार्मिक पर्यटन प्रवर्द्धन हुनुका साथै भारतको अयोध्यासँग नेपालगञ्जको बागेश्वरी मन्दिर र जनकपुर मन्दिरलाई जोड्न सहयोग पुग्ने अपेक्षा गरिएको उनले बताए ।

Advertisement

अध्यक्ष सिग्देलले यति एयरलाइन्सबाट सुरु हुने हवाई उडानका लागि अहिले एकतर्फी रूपमा ८ हजार ५ सय रुपैयाँ भाडा कायम भएको जानकारी दिँदै उडान अवधिको समय १ः३० निर्धारण गरिएको बताए । उनका अनुसार विभिन्न सरोकारवाला संघसंस्थाको पहलमा सुरु हुने हवाई सेवाका लागि ३० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।

‘अहिले हामीले बाटो देखाउने कोसिस मात्रै गरेका छौँ,’ अध्यक्ष सिग्देलले भने, ‘यसबाट पर्यटकको चहलपहल बढ्ने छ । साथै नेपालगञ्जको बजार चलायमान हुएर यहाँको व्यापार व्यवसाय गतिशील बन्दै जानेछ ।’

भारतको अयोध्यामा श्रीराम मन्दिरको दर्शन गरेपछि नेपालको जनकपुरमा रहेको जानकी मन्दिरको दर्शन गर्नाले पुण्य प्राप्त हुने पौराणिक मान्यता छ । उनले पर्यटन प्रवर्द्धनका लागि हवाइमार्गसँगै नेपालगञ्ज–अयोध्या अत्याधुनिक बस सेवा सञ्चालन गर्न आवश्यक रहेको भन्दै यसबाट नेपालगञ्जको वास्तविक समृद्धि हुने बताए ।

‘भारतको अयोध्याबाट नेपालगञ्ज सबैभन्दा नजिकको सहर हो । नेपालगञ्जबाट भारतको अयोध्या एक सय ७१ किलिमिटरको दूरीमा रहेको छ,’ उनले भने । नेपालका सबै पर्यटकीयस्थललाई जोडन हवाई मार्ग प्रभावकारी हुने भएकाले हवाई कनेक्टीभिटी पर्यटनको लागि सबैभन्दा सहज माध्यम भएको अध्यक्ष सिग्देलले बताए ।

नागरिक अभियन्ता तथा अधिवक्ता विश्वराज तिवारीले हवाई मार्ग सुरु भएपछि धार्मिक पर्यटन चलायमान हुने उल्लेख गर्दै जनता र संस्कृतिबीचको निकटता बढ्ने बताए । उनले भारत र नेपालीबीचको सम्बन्ध थप बलियो हुनेमा जोड दिँदै यसबाट जनकपुर जानेलाई मानसरोवर जानका लागि सहज हुने बताए ।

नेपालगन्जमा बागेश्वरी मन्दिर बाहेक नेपालगञ्जमा अन्य धार्मिक मठमन्दिर र पर्यटकीयस्थलसमेत छन् । 

Advertisement

Advertisement