‘एक्सपेडिसन कुक’को रुपमा ३५ बर्ष बिताएर पनि नथाकेका शान्तबहादुर

Advertisement

काठमाडौं । विगत ३५ वर्षदेखि कुकको रुपमा काम गर्दै आएका वरिष्ठ ‘एक्सपेडिशन कुक’ शान्तबहादुर गुरुङ अझै पनि यही पेशामा रमाइरहेका छन् । 

ट्रेकिङमा भरियाका रुपमा काम गर्दैगर्दा कुकहरुले काम गरेको देखेर आफूमा पनि कुक बन्ने रहर उनमा जाग्यो । ट्रेकिङ अथवा एक्सपेडिशन कम्पनीहरुले काम दिएसम्म कुकको काम गर्न नछोड्ने गुरुङ बताउँछन् । 

Advertisement

उनी भन्छन्, ‘अझै पनि आफ्नो त्यो रुची नमेटेको र यही पेसाबाट आफ्नो बालबालिका हुर्काएँ । पढाएँ । परिवार पालें ।’ भरिया हुँदै कुकको काम गरेको ३५ वर्ष ब्यतित भइसकेको स्मरण गर्दै गुरुङले अहिले ‘सिनियर एक्सपेडिशन कुक’को रुपमा आफूलाई सबैले चिन्दा खुःसी लाग्ने बताए । 

यो ३५ वर्षमा गुरुङले सगरमाथा आरोहण गर्ने पहिलो नेपाली महिला पासाङ ल्हामु शेर्पासँग पनि काम गरे । पासाङको टेकिङ कम्पनी थामसेकुमा उनले २० वर्ष काम गरे । अहिले गुरुङ एभरेष्ट शेर्पा एक्सपेडिसनमा कार्यरत छन् । नामक कम्पनीमा कार्यरत छन् । यति लामो समय काम गरेर पनि थकिन नभएका गुरुङ अझै एक्सपेडिसन कुक भएर काम गर्न तयार छन् । 

शान्तबहादुर गुरुङको एक्सपेडिशन कुकको यात्रा पहिलो पटक मकालु आधार शिविरको यात्राबाट भएको हो । त्यहाँ उनी पहिला भरिया (पोटर) र दोस्रो पटक ‘किचेन ब्वाई’को रुपमा पुगेका थिए । युरोपेली खाना बनाउन निपूर्ण उनीसँग सगरमाथाको आधार शिविर, क्याम्प–२ (६,२००–६,३०० मिटर)को उचाइसम्म काम गरेको अनुभव छ । 

‘मैले सानै उमेरमा गाउँ छोडेर आएँ र १७ बर्षको उमेरदेखि नै पोटरको काम सुरु गरेको हो’ गुरुङले भने, पहिलो पटक फ्रान्सको टोलीसँग मकालु बेसक्याम्प गएको थिएँ । मकालु गएको बेला इमानसिङ गुरुङसँग चिनजान भएको सुनाउँदै उनले इमानसिंहले ‘तिमी काम गर्नसक्ने रहेछ’ भनेर आफूलाई कुकको काम गर्न बोलाएको बताए । 

त्यसपछि शान्तबहादुर गुरुङले राजधानीको एक रेस्टुरेन्टमा नौ महिना काम गरे । पिज्जा बनाउन सिके । त्यसपछि उनी ट्रेकिङ तर्फ फर्किए । ‘इमानसिंह दाईले मलाई रुची भएको पेसामा आउन भनेपछि मैले रेस्टुरेन्टको काम छोडेर हिँडे । त्यसपछि म उहाँसग मकालु बेस क्याम्पसम्म किचेन ब्वाईको रुपमा गए । त्यहाँबाट फर्किएपछि कुकको अलिअलि ज्ञान भएकोले पासाङ ल्हामु शेर्पा दिदीले मलाई आफ्नो ट्रेकिङ कम्पनीमा काम दिनुभयो । त्यसपछि सगरमाथा बेस क्याम्पमा किचेन ब्वाईको रुपमा काम गरें । किचेनको सबै काम म गर्थें ।’  

त्यतिबेला आधार शिविरमा दाउरा बालेर पकाउनुपर्थो । अहिले भने एलपी ग्यासको प्रयोग हुन्छ । त्यस्तो चिसो ठाउँमा दाउरा बालेर खाना पकाउन निकै गाह्रो हुन्थ्यो । सुरुवाती दिनमा जोश जाँगरले गर्दा रमाइलो नै लाग्थ्यो भन्दै गुरुङले चिसोमा बिहान बेलुका काम गर्न निकै कठिन भने हुने अनुभव सुनाए । उनले भने, ‘किचेन ब्वाई भनेर गएपनि कुकले लगाएको काम गर्नैपर्ने । त्यस्तो चिसोमा काम गर्दा तलब हामीलाई एक सयदेखि १५० रुपियाँ दिन्थ्यो । हिमाल आरोहणको टिममा जाँदा धेरै समय त्यही चिसोमा बस्नुपर्थो । महिना दिन काम गर्दा पनि दुई–तीन हजार पाउँथ्यो ।’ 

दुई बर्ष किचन ब्वाईको रुपमा काम गरेपछि गूरुङले कुकको रुपमा काम गर्न पाए । उनले कुकको रुपमा धौलागिरी बेस क्याम्पबाट काम सुरु गरेका थिए । मकालु, लाङटाङ, चोयु, मनास्लु, सगरमाथा, ल्होत्से, अन्नपूर्ण–१, कञ्चनजङ्घा, तिब्बतको शिशपाङ्मा, पाकिस्तानको नङ्गा पर्वत, गाशरब्रम–१, गाशरब्रम–२, केटुमा काम गरे । विश्वका आठ हजार मिटर अग्ला १४ वटा हिमालहरु मध्ये १० वटामा कुकको रुपमा काम गरेको उनले बताए । 

शान्तबहादुरले नेपालका विभिन्न पदयात्रा ट्रेलहरूमा स्वादिष्ट भोजनहरू पकाइसकेका छन् । उनी भन्छन्, ‘हिमालमा कुक काम गर्नु भनेको सजिलो छैन् । चुनौती त त्यतिकै हुन्छ । पहिला मलाई खाना बनाउन त्यति गाह्रो भएन । सजिलो नै लाग्यो । त्यसमै रमाए । हामीभन्दा तल किचेन ब्वाईमा काम गर्नेहरुलाई अल्ली गाह्रो थियो । चिसो ठाउँमा बिहान बेलुका काम गर्नु सजिलो छैन् । बिहान ४ बजे उठ्नुपर्ने हुन्छ । हिमालमा काम गर्न जाने आरोहीहरुलाई खाना खुवाएर पठाउनुपर्ने हुन्छ । एकदेखि डेढ घण्टाभित्रमा खाना तयार गरेर खुवाएर पठाइसक्नुपर्ने हुन्छ ।’ 

आफूलाई काम गर्न सबैभन्दा धेरै गाह्रो भएको अन्नपूर्ण–१ हो भन्दै गुरुङले उक्त हिमालको आधार शिविरमा पुग्न जंगल हुँदै जानुपर्ने, त्यस क्रममा कुल्लीलाई पनि धेरै गाह्रो हुने, भनेको बेलामा कुल्ली नआइपुग्ने, जंगलतिरै बास बस्नुपर्ने अवस्था सुनाए । ‘त्यतिखेर चाहिँ यो पेसा नै छोडेर जाउँ जस्तो पनि लाग्थ्यो । अहिले चाहिँ बाटो बनाएकोले जान सजिलो छ’, उनले बताए । 

Advertisement

Advertisement