धितोले खामेन भन्दै बैंकिङ कसुर लगाउने हो भने कर्जा दिने सबै बैंकर जेल जानुपर्ने हुन्छः ज्ञवाली

Advertisement

काठमाडौं । नविल बैंकका डेपुटी सीईओ मनोज ज्ञवालीले धितोले खामेन भनेर बैंकिङ कसुर लगाउँदै पक्राउ गर्दै जाने हो भने बैंकको कर्जा प्रवाहमा काम गर्ने कुनै पनि बैंकर बाँकी नरहने, सबै जेल जानुपर्ने अवस्था आउने बताएका छन् । 

तत्कालिन सेन्चुरी बैंकको कर्जा प्रवाहको विषयलाई लिएर उक्त बैंकका सीईओहरु तुल्सीराम गौतम र मनोज न्यौपाने (हालका प्रभु बैंकका सिनियर डीसीईओ)लगायतलाई पक्राउ गरिएको प्रसंगमा ज्ञवालीले फेसबुकमा लेख्दै यो स्थितिले बैंकहरुको कर्पोरेट÷इन्फ्रामा कर्जा दिन बसेका सबै बैंकर जेल जानुपर्ने अवस्था आउने बताएका हुन् । 

Advertisement

उनले लेखेका छन्ः 
समाचारहरुमा देखे पढे अनुसार असुल्नुपर्ने ऋण भन्दा धितो कम भएकाले क़र्ज़ा दुरुपयोग अभियोगमा १२ जना बैंकरलाई सीआईबीले समात्यो रे !!

कुनै बैंकले प्रवाह गरेको कर्जा ख़राब कर्जामा परिणत भयो र ऋण असुलीको क्रममा धितोले खामेन भने बैंकिङ कसुर लगाउने अनि आरएमदेखि सीईओ, बोर्डसम्मलाई हथकड़ी लगाउने हो भने छ महिना मात्र कर्पोरेटरइन्फ्रामा कर्जा दिन बसेका कुनै बैंकर जेल बाहिर हुँदैनन् । जसलाई मन लाग्छ, एक हप्ता फ़ाईल खोजेर टप्प टिपेर जेल हाले हुन्छ । कर्जा प्रवाह गर्दा व्यक्तिगत लाभ हुने र बैंकलाई नोक्सानी हुने गरी बेईमानी गर्ने बैंकरलाई नागरिकको पैसामा बदमासी गरेको अपराधमा हदैसम्मको कारबाही हुनुपर्दछ तर सामान्य बैकिङ अभ्याससम्म नबुझी कुनै पेशाकर्मीलाई दुःख दिनु ग़लत हो। रिसिवी साध्न, दुःख दिने नियतले गरिएको कर्म हो वा बैकिङ नबुझी गरेको काम हो भने म खेद प्रकट गर्छु । जहाँसम्म तुलसी गौतम जस्ता बैंकरले बदमासी गरेको चार्ज बैकिङ सेक्टरलाई पत्याउन मुस्किल छ । अरु बैकरहरुको बारेमा म जानकार हुन सकिन तर मनोज, दिपेश र राजेशले घुस खाए, बेईमानी गरे भनेर पत्याउन म सक्दिन । यस पूर्व बीओकेका सीईओलाई यसै दुःख दिईयो । बदमासी छैन भने साथीहरुले उन्मुक्ति पाउछन् नै तर यसरी लागि पनि सेटिङ कति मिलाउनु पर्ने हो ? उनीहरुले भोगेको मानसिक तनाव को क्षतिपूर्ति कसरी हुन्छ ? के बैकहरुले अब रियलेस्टेट र घर कर्जा वा मार्जिन लैण्डिङ मात्र गर्ने हो ? धेरै प्रश्न आईरहे ।

Advertisement

Advertisement