आर्थिक एजेन्डामा सबै राजनीतिक दलको साझा धारणा आवश्यक : अध्यक्ष ढकाल
फाइल तस्बिर ।

Advertisement

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको अर्थतन्त्र जटिल मोडमा रहेको बताएका छन् । उनले सबै राजनीतिक दलहरूको साझा एजेन्डा बनेर सुधार नभए दुर्घटना हुन सक्नेतर्फ सचेत गराएका छन् ।

राज्य व्यवस्था समितिमा बिहीबार भएको छलफलमा अध्यक्ष ढकालले सरकार र राजनीतिक दलहरू संवेदनशील नभए स्वदेशी र विदेशी लगानी हुन नसक्ने अवस्था रहेको बताएका हुन् । ‘सबै मिलेर अर्थतन्त्रको जटिलता समाधानमा पहल नहुने हो भने निजी क्षेत्र लगानी बढाउने नभई कसरी व्यवसायबाट बाहिरिने भन्ने बाटो खोज्ने अवस्था आउने छ’ अध्यक्ष ढकालले भने ।

Advertisement

महासंघ र अन्तर्राष्ट्रिय वित्त निगमले सार्वजनिक गरको अध्ययन अनुसार अर्थतन्त्रमा ८१ प्रतिशत रोजगारीमा ८७ प्रतिशत योगदान निजी क्षेत्रको छ । अहिले निजी क्षेत्रमा समस्या आउँदा समाधानको उपायको खोजी हुनुपर्ने अध्यक्ष ढकालले बताए । सरकारभित्र पनि अन्तर निकाय समन्वय नहुँदा समस्या बल्झिँदै गएको उनको भनाइ छ ।

‘सबैले राम्रो काम गरेको भनिरहनुभएको छ’ उनले भने, ‘तर नतिजा सकारात्मक आएको छैन । मूलतः निजी क्षेत्रले काम गर्न नसक्दा सरकारको राजस्वमा पनि असर परेको छ ।’ चालु आर्थिक वर्षको पहिलो ६ महिनामा सरकारको घाटा करिब ५० अर्ब रुपैयाँ छ । निजी क्षेत्रले निर्वाध काम गर्न नसक्दा राजस्वमा चाप परेको छ ।

आगामी लगानी सम्मेलनलाई लक्षित गरेर तयार पारिएको कानुन सुधारसम्बन्धी व्यवस्था पारित गर्नुपर्नेमा पनि अध्यक्ष ढकालको जोड थियो । महासंघले करिब १ दर्जन कानुनमा सुधार आवश्यक रहेको सुझाव सरकारलाई बुझाएको छ ।

सोहीअनुसार प्रधानमन्त्री कार्यालयका सचिव एक नारायण अर्यालको संयोजकत्वमा निजी क्षेत्र सम्मिलित कार्यदलले सुधार सुझाव तयार पारेर मुख्य सचिव वैकुण्ठ अर्याललाई बुझाइसकेको छ । अध्यक्ष ढकालले लगानी आकर्षित गर्न तयार पारिएका सुझाव संसद्ले पारित गर्नुपर्ने बताए ।

छलफल कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले नीति नियमनहरु बनाउँदा सरकारले निजी क्षेत्रलाई साक्षीको रुपमा मात्र लिने गरेको बताए । उनले निजी क्षेत्रले दिएका सुझावहरू नीति नियमहरूको मस्यौदा तयार पार्दा सरकारले ध्यान दिएर समावेश गरे देशको अर्थतन्त्रमा अझै सुधार आउने बताए ।

Advertisement

Advertisement