चिनियाँ प्रभाव बढेपछि माल्दिभ्सबाट आफ्ना सेना फिर्ता गर्दै भारत

Advertisement

काठमाडौं । चिनियाँ प्रभाव बढेपछि माल्दिभ्सबाट आफ्ना सैनिक फिर्ता गर्ने तयारी भारतले गरेको छ । भारतले भोलि( आइतवार) माल्दिभ्सबाट आफ्ना सैनिकहरूको पहिलो टोली स्वदेश फर्काउने तयारी गरेको हो ।

भारतको छिमेकी तथा सानो टापु माल्दिभ्स चीन निकट बनेपछि भारतलाई आफ्ना सेना फिर्ता गर्न नैतिक संकट सिर्जना भएको हो । माल्दिभ्समा रहेका झन्डै ८० जना भारतीय सैनिकहरूलाई आगामी मे महिनाभित्र चरणबद्ध रूपमा फिर्ता गर्न त्यहाँका राष्ट्रपति मोहम्मद मुइज्जुले समयसीमा तोकिदिएका छन् । 

Advertisement

माल्दिभ्सको अहिलेको सरकारलाई चीनको ठूलो समर्थन रहेको छ । केही दिनअघि चिनियाँ र भारतीय पक्षधर साँसदहरुबीच संसदमा नै कुटाकुट भएको थियो । तर भारतले वर्षौंअघि अनुदानमा दिएका उद्धारमा प्रयोग हुने दुई वटा हेलिकप्टर र एउटा सानो विमान मर्मत तथा सञ्चालनका लागि आफ्ना सैनिक माल्दिभ्समा तैनाथ गरेको तर्क गरेको छ । 

करिव चार महिनाअघि निर्वाचित भएर सत्तामा आएका माल्दिभ्सका अहिलेका राष्ट्रपति मुइज्जुले भारतीय सेनालाई आफ्नो देशबाट हटाउने चुनावी वाचा गरेका थिए । सो वाचा पूरा गर्न उनी चीनसँग नजिकिएका थिए । तर भारतले आफ्नो रणनीतिक स्थानमा रहेको माल्दिभ्समा पडक कायम गर्ने प्रयास गर्दै आएको छ । माल्दिभ्सबाट हिन्द महासागरका महत्त्वपूर्ण भागलाई निगरानी गर्न सकिने बीबीसीले जनाएको छ । 

Advertisement

Advertisement