वसन्त ऋतुमा हिमाल चढ्नेहरुको संख्यामा गिरावट, कारण– सरकारी नीति

Advertisement

काठमाडौं । गत वर्षको तुलनामा यस बर्ष वसन्त ऋतृमा हिमालमा आरोहण गर्नेहरुको संख्यामा गिरावट आएको छ । वसन्त ऋतुका लागि आरोहण अनुमति लिन बाँकी रहे पनि आरोहण कम्पनीमा आएका बुकिङहरुको आधारमा आरोहण संख्या घट्ने सुनिश्चित देखिएको हो ।  

हरेक बर्ष वसन्त ऋतृ सुरु भएसँगै नेपालको हिमाली क्षेत्रमा विदेशी पर्यटकहरुको चहलपहल सुरु हुन्छ । विश्वका आठ हजार मिटर अग्ला १४ वटा हिमालमध्ये आठ वटा नेपालमा छन् । गत वर्ष वसन्त ऋतुमा सगरमाथा चढ्नेको संख्यामा सन्तोषजनक वृद्धि थियो । यस बर्ष पनि सगरमाथा चढ्नका लागि बुकिङ सन्तोषजनक रहे पनि अन्यमा भने गिरावट भएको पर्वतारोहण संचालक संघका महासचिव ऋषि भण्डारीले जानकारी दिए । 

Advertisement

उनका अनुसार बुकिङ गर्ने सबैलाई अनुमति लिन्छन् वा पाउँछन् भन्ने हुँदैन् । तर गत वर्षको तुलनामा यस वसन्त ऋतुका लागि बुकिङ कम आएको छ । बुकिङको अनुपात हेर्दा अनुमति लिनेको संख्या सगरमाथाबाहेक अरु हिमालमा घट्ने निश्चित छ । अन्नपूर्णमा करिब २६ जना आरोहीले मात्रै बुकिङ गरेका छन् । जबकी गत बर्ष वसन्त ऋतुका लागि करिब ५० जनाले बुकिङ गरेका थिए । 

त्यस्तै, धौलागिरीमा गत बर्ष ३८ जनाले बुकिङ गरेकोमा अहिले २०–२२ जना मात्र छन् । कञ्चनजङ्घामा गत बर्ष ४० जनाले बुकिङ गरेकोमा अहिले २२ जना छन् । मकालुमा थोरै विदेशी आरोहीले बुकिङ गरेका छन् । 

सरकारले हवाई भाडादेखि होटल तथा पर्यटन व्यवसायमा भ्याट र लक्जरी कर लगाएका कारण हिमाल आरोहणका लागि बुकिङ गर्ने विदेशी पर्यटकहरुको संख्या कम भएको भण्डारीको भनाई छ । उनले भने, ‘पहिला चाहिँ रोयाल्टीमा भ्याट लाग्दैन थियो । अहिले रोयल्टीसहित भ्याट लगाउने काम भएको छ । संख्या घट्नुको मुख्य कारण त्यही हो । हेलिकप्टरमा लाग्ने मूल्य बढेको छ । पहिला कार्गो हेलिमा लानुपर्यो सामान १० लाख खर्चमा हुन्थ्यो भने अहिले १६ लाख खर्च लाग्छ ।’

यसरी भ्याटलगायतका कर जोडिएपछि पर्यटन व्यवसायी र विदेशी पर्यटक दुवैलाई गाह्रो भएको भण्डारीले बताए । उनले थपे, ‘हामीसँग लगभग पाँच सय जति आरोही हुन्थ्यो । यदि सरकारले एकैचोटी विभिन्न शीर्षकमा कर नबढाइदिएकोले हामीले करिब एक सय जना आरोही गुमाएका छौं । यसले गर्दा राज्यलाई रोयल्टी घाटा लागेको छ । पर्यटक आउँदा धेरै खर्च गर्थे । कर तिर्थे । हामी व्यवसायले आम्दानीका आधारमा आयकरसहित करिव ४० प्रतिशत कर तिर्छ । सबै कुरालाई सरकारको नीतिले असर परेको छ । फेरि सरकार देशमा पर्यटक बढाउने, आर्थिक विकास गर्ने भन्न चाहिँ छोड्दैन् ।’

गत वर्ष सगरमाथा आरोहण गर्ने आरोहीको संख्या र रोयल्टी संकलन हालसम्मकै उच्च रहेको पर्यटन विभागले जनाएको थियो । कोभिड–१९ महामारीपछि चीनबाट सगरमाथालगायत अन्यहरुको आरोहण बन्द भएपछि नेपालबाट सगरमाथाको आरोहण गर्ने आरोहीहरुको संख्यामा वृद्धि भएको थियो । तर आगामी वसन्त ऋतृबाट चीन तर्फबाट आरोहण खुल्ला गरेकाले पनि असर परेको छ । तर नेपालले चीनतर्फबाट आरोहण गर्नेहरुलाई आकर्षित गर्न असफल भएको छ । 

अर्को एक एक्सपेडिसन कम्पनीका सञ्चालकका अनुसार नेपालबाट सगरमाथाको आरोहण गर्दा खुम्बु आइफलको डर छ । त्यही खतराको डरले यस पटक हिमालमा गाइड गर्नेहरु पनि नेपालबाट भन्दा चीन तर्फबाट आरोहण गर्न इक्छुक बनेका हुन् । उनले चीनतर्फको सगरमाथाको आधार शिविरसम्मै ट्रक र गाडीहरु पुग्ने बताए । ती व्यवसायीका अनुसार त्यो आधार शिवर नेपालको भन्दा आधुनिक छ । छ हजार चार सयदेखि छ हजार पाँच सय मिटरको उचाइमा यो रहेको छ । त्यतिको उचाइसम्म याकको सहारामा सामान पुर्याउन सकिन्छ । अधिकांश गाइडहरु नेपालबाट भन्दा चीनबाट आरोहण गराउन लागिपर्छन् । 

नेपालबाट सगरमाथा आरोहण गर्न सहजीकरणका लागि स्याङ्बोचेबाट हेलिकप्टरको प्रयोग गर्न नमिल्ने निर्णय सच्याउनुपर्ने व्यवसायीको माग छ । सगरमाथा आरोहण गर्दा दुघटना भइहाले उद्धार गर्न सहज छ । तर चीनमा हेलिकप्टरको प्रयोग गर्न रोक छ । चीनमा लजिस्टिक्स सामान लैजान सजिलो भएकोले चीनतर्फ आरोहण गर्ने आरोहीहरुको संख्या बढी देखिएको ती व्यवसायीको भनाई छ । 

Advertisement

Advertisement