राष्ट्रियसभा अध्यक्षमा प्रधानमन्त्रीका भाई नारायण दाहाल निर्वाचित

Advertisement

काठमाडौं । राष्ट्रिय सभाको अध्यक्षमा नारायण दाहाल निर्वाचित भएका छन् । सत्तारुढ ठठवन्धनबाट निर्वाचित उनी प्रधानमन्त्री पुष्पकमल दाहालका भाई पनि हुन् । 

मंगलबार राष्ट्रिय सभामा भएको मतदानमा दाहालको पक्षमा ३९ र विपक्षमा १७ मत परेको छ । मतदानमा ५६ जना सांसद उपस्थित थिए । यो संख्या राष्ट्रिय सभामा तत्काल कायम रहेको संख्याको बहुमत रहेको उल्लेख गर्दै सभाध्यक्ष उर्मिला अर्यालले दाहाल अध्यक्षमा निर्वाचित भएको घोषणा गरिन् ।

Advertisement

उनलाई नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले समर्थन गरेका थिए । नेपाली कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टीका तर्फबाट उम्मेदवार रहेका युवराज शर्मालाई राष्ट्रिय सभाको अध्यक्षमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव बहुमतले अस्वीकृत भएको थियो ।

राष्ट्रिय सभाको अध्यक्षका लागि भएको मतदानमा राष्ट्रिय जनमोर्चाले मतदानमा भाग लिएन । राष्ट्रिय सभामा जनमोर्चाका एक जना तुलप्रसाद विश्वकर्मा सदस्य छन् । राष्ट्रपतिबाट मनोनित एक जनाको पद रिक्त छ । सभाध्यक्षले मत बराबर भएको अवस्थामा मात्रै मतदान गर्न पाउँछन् ।

Advertisement