सुरक्षित पर्यटन प्रवर्द्धन गर्न महिला गाइडलाई दिइयो रेस्क्यु तालिम

Advertisement

काठमाडौं । सुरक्षित पर्यटन प्रवर्द्धन गर्न महिला गाइडहरुलाई रेस्क्यू सम्वन्धि तालिम दिइएको छ । 

सीपयुक्त जनशक्तिको विकास नगरेसम्म गुणस्तरीय पर्यटन प्रवर्द्धन सम्भव नहुने भन्दै नेपाल पर्यटन बोर्ड र पासाङ ल्हामु पर्वतारोहण प्रतिष्ठानले महिला गाइडहरुलाई सात दिने रेस्क्यू तालिम दिएको हो । 

Advertisement

माउन्टेन गाइड बन्नका लागि आवश्यक पर्ने पाठ्क्रममा आधारित रहेर पदयात्रा र हिमाल आरोहणका क्रममा दुर्घटनाबाट बचाउन र उद्धार गर्ने सीपहरु उक्त तालिमका क्रममा सिकाइएको प्रशिक्षक लामवावु शेर्पाले जानकारी दिए । 

नेपाल पर्वतारोहण प्रशिक्षक संघको प्राविधिक सहयोग रहेको उक्त तालिम काठमाडौंको जकडोल जंगलमा चैत ७ गतेबाट सुरु भएर मंगलबार सम्पन्न भएको थियो । 

पदयात्रा र आरोहणका क्रममा पर्यटकहरुको मृत्यु हुनेको संख्या बार्षिक रुपमा वड्दै गएकाले यो नियन्त्रणका लागि यो तालिम फलदायी हुने भएकाले तालिम आयोजना गरिएको पासाङ ल्हामु पर्वतारोहण प्रतिष्ठानकी अध्यक्ष दावा फुटी शेर्पाले बताइन् । सीप र दक्षता विनको जनशक्तिले पर्यटन क्षेत्रमै नकरात्मक सन्देश जाने भएकाले यस्ता तालिमको आयोजना गर्नु आवस्यक भएको उनले बताइन् ।  

उद्धार सम्वन्धि २५ जना महिला गाइड सहभागि रहेको यो तालिम पहिलो पटक आयोजना गरिएको बताउदै नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक हिक्मत सिं ऐरले आगामी दिनमा दक्ष जनशक्ति विकासका लागि बोर्डले निरन्तर यस्ता तालिमको आयोजना गर्ने बताए । सरकारले राखेको पर्यटन दशक ९२०२३–२०३३० को उदेश्य पुरा गर्न समेत यस्ता सीपयुक्त जनशक्ति विकास गर्नु पर्ने आवस्यकता भएको उनले जानकारी दिए । 

भीर र खोँचमा फसेका व्यक्ति, आरोहणका क्रममा क्रिभास भित्र पसेका व्यक्तिलाई सहज रुपमा उद्धार गर्न र सुरक्षित स्थानमा पुर्याउने लगायत सक्ने गरी तालिममा अभ्यास गराइएको प्रशिक्षकहरुले बताए  ।

ट्रेकिङ गाइड र आरोहीहरु मात्र सहभागिता जनाएको तालिमले सहभागिहरुलाई अन्तराष्ट्रिय माउन्टेन गाइड बन्न सहयोग पुर्याउने आयोजकले जनाएको छ । हालसम्म नेपालमा दावा याङजुम शेर्पा मात्र  महिला माउन्टेन गाइड बन्न सफल भएको छ । 
 

Advertisement

Advertisement