अर्थतन्त्रको अवस्थाः १८ खर्ब ७२ अर्ब विदेशी मुद्रा सञ्चिति, ‘१४ महिनाको आयात धान्न पुग्छ’-राष्ट्र बैंक

Advertisement

काठमाडौं । चालु आवको ८ महिना अर्थात फागुन मसान्तसम्म मुलुकमा १८ खर्ब ७२ अर्ब विदेशी मुद्रा सञ्चिति रहेको छ । 

नेपाल राष्ट्र बैंकले आज ८ महिनाको तथ्याङ्क सार्वजनिक गर्दै २०८० असार मसान्तमा रु.१५३९ अर्ब ३६ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति २१.७ प्रतिशतले वृद्धि भई २०८०फागुन मसान्तमा रु.१८७२ अर्ब ८२ करोड पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०८० असार मसान्तमा ११ अर्ब ७१ करोड रहेकोमा २०८० फागुन मसान्तमा २०.८ प्रतिशतले वृद्धि भई १४ अर्ब १४ करोड पुगेको छ ।

Advertisement

undefined

कूल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८० असार मसान्तमा रु.१३४५ अर्ब ७८ करोड रहेकोमा २०८० फागुन मसान्तमा २२.२ प्रतिशतले वृद्धि भई रु.१६४४ अर्ब ६ करोड पुगेको छ । बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंक बाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०८० असार मसान्तमा रु.१९३ अर्ब ५९ करोड रहेकोमा २०८० फागुन मसान्तमा १८.२ प्रतिशतले वृद्घि भई रु.२२८ अर्ब ७६ करोड कायम भएको छ । २०८० फागुन मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.१ प्रतिशत रहेको छ ।

सञ्चिति पर्याप्तता सूचक
राष्ट्र बैंकको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८०/८१ को आठ महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १४.८ महिनाको वस्तु आयात र १२.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ । २०८० फागुन मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः ३४.८ प्रतिशत, १०३.१ प्रतिशत र २८.२ प्रतिशत रहेका छन् । २०८० असार मसान्तमा यी अनुपातहरु क्रमशः २८.६ प्रतिशत, ८३.० प्रतिशत र २५.० प्रतिशत रहेका थिए ।

चालु खाता एवम् शोधनान्तर स्थिति
यसैगरी समीक्षा अवधिमा चालु खाता रु.१६६ अर्ब ८७ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता रु.५५ अर्ब २८ करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ४२ करोड ९३ लाखले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा १ अर्ब २५ करोडले बचतमा रहेको छ ।

समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर ३०.२ प्रतिशतले कमी आई रु.३ अर्ब ८९ करोड कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी रु.५ अर्ब ६३ करोडले धनात्मक रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर रु.५ अर्ब ५८ करोड कायम भएको थियो भने खुद प्रत्यक्ष वैदेशिक लगानी रु.१ अर्ब १७ करोडले धनात्मक रहेको थियो ।

समीक्षा अवधिमा शोधनान्तर स्थिति रु.३२७ अर्ब ५५ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु.१४२ अर्बले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब ८ करोडले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा २ अर्ब ४६ करोडले बचतमा रहेको छ ।

Advertisement