सरकारले निजी क्षेत्रको संरक्षण गर्न करका दरहरु घटाउनुपर्छः चेम्बरका नवनिर्वाचित अध्यक्ष

Advertisement

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका नवनिर्वाचित अध्यक्ष कमलेशकुमार अग्रवालले आफ्नो पहिलो प्राथमिकता निजी क्षेत्रलाई उत्साहित बनाउनु रहेको बताएका छन् । 

नानसँगको कुराकानीमा उनले आफ्नो पहिलो प्राथमिकता निजी क्षेत्रको खस्केको मनोबल उच्च बनाएर अर्थतन्त्रलाई लयमा फर्काउनेमा रहेको उल्लेख गरे । अग्रवालले मुलुकको अर्थतन्त्रलाई लयमा फर्काउने, निजी क्षेत्रलाई उत्साहित बनाउने र लगानीमैत्री वातावरण निर्माण गर्ने प्रतिवद्धता जनाए । 

Advertisement

अध्यक्ष अग्रवालले अर्थतन्त्रमा शिथिलता हुँदा निजी क्षेत्र समस्यामा रहेको भन्दै निजी क्षेत्रका समस्या समाधानको लागि सरकारसँग सहकार्य गर्ने बताए । उनले सरकारले दुई वर्षअघि लिएका सहज नीतिलाई परिमार्जन गरी संकुचन नीति लिँदा निजी क्षेत्र धरासयी अवस्थामा पुगेको बताए । 

अग्रवालले अर्थतन्त्रमा शिथिलता आउनुको प्रमुख कारण पनि निजी क्षेत्र समस्यामा पर्नु भएको दाबी गर्दै मुलुकमा उत्पादनमुलक क्षेत्र ४० प्रतिशत मात्रै सञ्चालनमा रहेको बताए । देशभरका सटरहरु खाली गरेर धेरै व्यवसायीहरु विदेश पलायन भएको उल्लेख गर्दै उनले रोजगारी कटौती हुँदा विदेश जानेहरुको संख्या बढेको बताए । 

विश्वव्यापी रुपमा फैलिएको कोभिड महामारी र रुस–युक्रेन युद्वको कारण अर्थतन्त्रमा आएको प्रभावलाई कुशल व्यवस्थापन गर्न नसक्दा अर्थतन्त्रमा समस्या आएको अग्रवालले बताए । उनले भारतमा कोरोना महामारीलगायतका समस्यालाई कुशल ढंगले नियन्त्रण गर्दा जीडीपी ग्रोथ (कुल गार्हस्थ उत्पादनमा वृद्धि) ७ प्रतिशत बढी भएको उदाहरण दिए । 

अग्रवालले राज्यले लिने नीगिगत व्यवस्थाहरु लगानीमैत्री हुन नसके लक्ष्य अनुसारको आर्थिक वृद्धिदर हुन नसक्ने बताए । राजश्वको लक्ष्य पूरा गर्न पनि निजी क्षेत्रले दबाब खेप्नुपरेको उनको भनाई छ । अग्रवालले भने, ‘अर्थतन्त्र शिथिल अवस्थामा छ । निजी क्षेत्र धेरै समस्यामा परेको अवस्था हो । कोभिड–१९ को प्रभाव, रुस–युक्रेन युद्वले विश्वमा परेको प्रभावले निजी क्षेत्रको २० प्रतिशत गिरावट भएको अवस्था थियो । केही समयको लागि सरकारका सहज नीतिहरु आए । तर पछि सबै नीतिहरु फिर्ता लिएर संकुचनकारी नीतिहरु आए । त्यसले गर्दा निजी क्षेत्र धरासयी अवस्थामा पुग्यो । अहिलेको शिथिलता आउनुको कारण त्यही हो ।’ 

उनले थपे, ‘अहिले पनि १५० भन्दा बढी व्यवसायीहरु कालोसूचीमा परेका छन् । यस्तो भनेको अर्थतन्त्रको लागि राम्रो पक्ष होइन । उत्पादनमुलक क्षेत्र अहिले पनि ४० प्रतिशतको हाराहारीमा मात्रै चलिरहेको छ । देशका मुख्य शहरहरुमा सटरहरु खाली नै देखिन्छ । धेरै व्यवसायीहरुले व्यापार व्यवसाय बन्द गरेका छन् । रोजगारी कटौती भइरहेको छ । विदेश जानेहरुको सख्या बढेको छ । मेरो पहिलो प्राथमिकता भनेको पछिल्लो समय निजी क्षेत्रको खस्केको मनोबल, लगानीमैत्री वातावरण नभएको लागि राज्यसँग सहकार्य गरेर यसलाई उकास्ने हो ।’ 

अग्रवालले अर्थतन्त्र लयमा ल्याउनको लागि योजना तथा नीति निर्माण गर्ने निकायहरुबीच समन्वय आवश्यक रहेको बताए । उनले आगामी वर्षको लागि सरकारले ल्याउने नीति तथा कार्यक्रम र बजेट यथार्थपरक आउनुपर्ने बताए । अग्रवालले सरकारले गत वर्ष जथाभावी रुपमा व्यवस्था गरेका करका दरहरु पूरानै अवस्थामा फर्काउनुपर्ने बताए । 

उनले बजेटमार्फत सरकारले अनावश्यक करका दरहरु बढाउन नहुने भन्दै करका दरहरु बढाउँदा व्यवसायीहरु निरुत्साहित हुने बताए । करका दर वृद्धि गर्दा चोरीपैठारी बढ्ने र निजी क्षेत्रको व्यापार घट्न थालेको अग्रवालको भनाई थियो । सरकारले निजी क्षेत्रको संरक्षणको लागि करका दरहरु घटाउनु पर्ने बताए । 

Advertisement

Advertisement