नौ महिनामा भित्रिए साढे १७ अर्बको ७ हजार ९३ विद्युतीय गाडी

Advertisement

काठमाडौं । चालु आर्थिक बर्ष २०८०/८१ को ९ महिनामा १७ अर्ब ४९ करोड ४९ लाख रुपियाँ बराबरको विद्युतीय गाडी नेपाल भित्रिएको छ । कार, जीप र भ्यान गरेर सो मुल्य बराबरका ७ हजार ९३ वटा विद्युतीय गाडी आयात भएको हो ।

भन्सार बिभागले सार्वजनिक गरेको चैत मसान्तसम्मको तथ्यांकले यस्तो देखाएको हो । यतिका विद्युतीय गाडी आयात हुदाँ सरकारले ७ अर्ब ७८ करोड २१ लाख ४९ हजार रुपियाँ राजश्व प्राप्त गरेको छ ।

Advertisement

समीक्षा अवधीमा विद्युतीय गाडीको आयात संख्याका आधारमा १८९.३९ प्रतिशत र रकमका आधारमा १५५.७४ प्रतिशतले बढेको देखिन्छ । गत आवको ९ महिनामा ६ अर्ब ८४ करोड ७ लाख रुपियाँ बराबरको २ हजार ४५१ वटा विद्युतीय गाडी नेपाल भित्रिएको थियो । 

समीक्षा अवधीमा ५० किलोवाटसम्मको २ हजार ९०२ वटा विद्युतीय गाडी नेपाल भित्रिएको छ, त्यसको लागत ५ अर्ब ४० करोड २९ लाख रुपियाँ रहेको छ । यसैग्रि ५१ देखि १०० किलोवाटको विद्युतीय गाडी भने ४ हजार ७७ वटा आयात भएको छ । त्यसको लागत ११ अर्ब ४६ करोड ९८ लाख रुपियाँ रहेको छ । 

यसैगरी १०१ देखि २०० किलोवाटसम्मको ९३ वटा गाडी आयात भएको छ, त्यसको लागत ४६ करोड ८८ लाख रुपियाँ रहेको छ । यसैगरि २०१ देखि ३०० किलोवाटसम्मका २१ गाडी आयात भएको छ, त्यसको लागत १५ करोड ३२ लाख रुपियाँ रहेको छ ।

बढ्दो जलवायु परिवर्तनका कारण पछिल्लो समय शुन्य कार्वन उत्सर्जन गर्ने विद्युतीय गाडीको महत्व बढ्दै गएको छ । साथै, पेट्रोलियम गाडीको तुलनामा यसको सञ्चालन खर्च पनि कम हुने गर्छ । यी यस्ता कारण पछिल्लो समय नेपालमा विद्युतीय गाडीको माग बढ्दै गएको छ । सोहीअनुसार यसको आयात पनि बढ्दै गएको छ । 

यस्तै, समीक्षा अवधीमा १० करोड ४४ लाख रुपियाँ बराबरको २१ वटा हाइव्रीड गाडी नेपाल भित्रिएका छ, जुन गाडी विद्युत र पेट्रोलियम पदार्थ दुवैले सञ्चालन गर्न सकिन्छ । 

यसैगरि ९ हजार ३७३ वटा तीन पांग्रे विद्युतीय गाडी पनि आयात भएको छ, त्यसको लागत भने १ अर्ब १ करोड ३८ लाख ४९ हजार रुपियाँ रहेको छ । त्यसमा २५ करोड २८ लाख बराबरको २ हजार १०१ वटा तीन पांग्रे गाडी भने एसेम्बल नगरी नेपाल ल्याइएको छ ।
 

Advertisement