काठमाडौं महानगरपालिकाले न्युरोडमा गरेको क्रियाकलाप कानुनसम्मत नभएको महासेठको दावी

Advertisement

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले काठमाडौं महानगरपालिकाले न्युरोड क्षेत्रमा गरिरहेको क्रियाकलाप कानुनसम्मत नभएको दावी गरेका छन् । 

आईतवार संसद बैठकपछि उनले न्युरोडमा काठमाडौं महानगरपालिकाको क्रियाकलाप कानुनसम्मत नभएको बताएका हुन् । काठमाडौं महानगरपालिकाको मेयर बालेन शाहले फेसबुक स्टाटसमा लेखेको कुरामा कुनै सत्यता नभएको महासेठले दावी गरे । 

Advertisement

शनिवार मेयर शाहले मन्त्री महासेठलाई सम्बोधन गर्दै कलंकीदेखि महाराजगञ्जसम्म रिङरोड बिस्तारको नाममा महानगरवासीले धेरै धुलो र कष्ट व्यहोर्नुपरेको औंल्याएका थिए । सोही विरोधमा बालेन शाहले सडक विभाग अगाडि एक ट्रक धुलो थुपार्दिएका थिए । 

उनले काम अगाडि नबढाउँदासम्म पायक पर्ने ठाउँमा एक ट्रक धुलो उपहार पठाउने भन्दै सडक विभागको कार्यालय अगाडी उक्त फोहोर राखिदिएको भिडियो हालेका थिए । यसप्रति प्रतिक्रिया दिँदै मन्त्री महासेठले मेयर शाहको सल्लाह, सुझावलाई सकारात्मक रुपमा लिएको बताए । 

रिङरोड बनाउने सम्झौता चीनसँग भएको भन्दै उनले सरकारले पनि आन्तरिक बजेटबाट केही स्थानमा बनाउनका लागि बजेट व्यवस्थापन गरिसकेको दावी गरे । उनले भने, ‘हामीले सामान्य रुपमा लिएका छौँ । उहाँले सल्लाह दिइरहनुभएको छ । मुखले बोल्नु भन्दा पनि उहाँले जुन धुलो फालेर गरिरहनुभएको छ, त्यसप्रति हाम्रो अहिले कुनै कमेन्ट छैन । चक्रपथ मित्रराष्ट्र चीनसँगको सम्झौतामा भएको हो । उहाँहरुले बनाउदिन भनेपछि सरकारले बनाउँछौँ । हाम्रो छलफल भइरहेको छ ।’ 

उनले थपे, ‘उहाँले स्टाटसमा लेखेको कुरा सत्यता छैन । हामीले रोकेर त्यो रोकिने पनि होइन । मित्र राष्ट्र चीनसँग पूरै रिङरोड बनाउने सम्झौता भएको छ । यद्यपी नेपाल सरकारले आफ्नो आन्तरिक बजेटबाट पनि यसपालि केही निर्माण गर्न बजेट व्यवस्थापन गरिसकेका छौँ । जुन प्रकारले अहिले काठमाडौं महानगरपालिकाले आफ्नो क्रियाकलाप देखाउनुभएको छ, त्यसप्रति हामीले सरसल्लाह गर्दैछौँ । न्युरोडमा अहिले जुन तोडफोड भइरहेको छ, र सडक विभागले यसलाई रोकेको छ । कलंकिदेखि महाराजगञ्जको कुरा मैले व्यक्तिगत रुपमा सुझावको रुपमा लिएको छु । सल्लाहको रुपमा लिएको छु । सल्लाहको लागि उहाँलाई धन्यवाद । मेरो कुनै आपत्ति छैन । यसलाई सकारात्मक रुपमा लिएको छु । त्यो बनाउनै पर्छ सरकारले । त्यसलाई मैले अन्यथा लिएको छैन । न्युरोडमा जुन क्रियाकलाप छ, त्यो कानूनसम्मत छैन ।’

Advertisement

Advertisement