सहकारीमा आफूलाई बचाएर गिरिबन्धुमा ओलीलाई बचाउने ध्याउन्नमा गृहमन्त्री लागेः शर्मा

Advertisement

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भ्रष्टाचारका प्रकरणहरु ढाकछोप गर्नका लागि संगठित अपराध जस्तो प्रवृत्ति सरकारबाट प्रश्तुत हुन थालेको बताएका छन् । 

आईतवार काँग्रेसले सहकारी ठगी प्रकरणलाई लिएर काठमाडौं केन्द्रीत प्रदर्शनका क्रममा सम्बोधन गर्दै उनले पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी ओली सहकारी ठगीमा गृहमन्त्रीलाई जोगाएरै बोल्ने मनोभावनाका साथ अघि बढिरहेको बताए । 

Advertisement

ओलीको विगत दुई महिनाको सम्पूर्ण ध्याउन्न देश, श्रमजीवि, नागरिकको चिन्ताको बारेमा नभइ सहकारी प्रकरणमा गृहमन्त्रीको रक्षा गर्नेमा केन्द्रीत रहेको बताउँदै गृहमन्त्री रवि लामिछाने पनि सहकारीमा आफूलाई बचाएर गिरिबन्धु टि स्टेट प्रकरणमा अध्यक्ष ओलीलाई बचाउने ध्याउन्नमा लागेको आरोप लगाए । 

उनले अहिलेको गठबन्धन सहकारीबन्धु गठबन्धन भएको बताए । शर्माले भने, ‘भ्रष्टाचारका प्रकरणहरु ढाकछोप गर्नका लागि संगठित अपराध जस्तो प्रवृत्ति प्रश्तुत हुन थालेको छ । सम्माननीय पूर्वप्रधानमन्त्री कमरेड केपी ओली सहकारी ठगीमा गृहमन्त्रीलाई जोगाएरै बोल्ने मनोभावमा बोकेर देखिनुभएको छ । तपाईहरु सबैले सुनिरहनुभएको छ, कमरेड केपी ओलीको विगत दुई महिनाको सम्पूर्ण ध्याउन्न भनेको देश, श्रमजीवि, नागरिकको चिन्ताको बारेमा छैन ।’ 

उनले थपे, ‘उहाँलाई केवल सहकारी प्रकरणमा गृहमन्त्रीजीको रक्षा कसरी गर्ने । एकातर्फ पूर्वप्रधानमन्त्रीको त्यो भुमिका देखिन्छ भने अर्कोतर्फ गृहमन्त्रीको भुमिका देखिन्छ की एमालेको अध्यक्षलाई गिरिबन्धु प्रकरणमा जोगाउन मज्जाले साथ दिएर जाने । एउटाले सहकारीमा ड्याम्मै काँध हाल्ने र अर्कोले गिरीबन्धुमा काँध हाल्ने । त्यसैले आज हामीले नामाकरण गरेका छौँ । यो गठबन्धनको एउटाले सहकारी र गिरिबन्धु भन्ने । मिलाएर यो सहकारीबन्धु गठबन्धन हो ।’

महामन्त्री शर्माले महान्यायाधिवक्ता कार्यालयले गृहमन्त्री रवि लामिछानेमाथि अनुसन्धान नै गर्नु नपर्ने भनेको उल्लेख गर्दै महान्यायाधिवक्ता कार्यालय रास्वापको हो ? भन्दै प्रश्नसमेत गरे । उनले महान्यायाधिवक्ता कार्यालयले गृहमन्त्री सहकारी ठगीमा दोषी छैनन् र दुई वटा राहदानी भए पनि मुद्दा चलाउनु नहुने भनेर बोलिरहेको भन्दै आपत्ति जनाए । 

Advertisement

Advertisement