चैत ४ गतेबाट अन्तर्राष्ट्रिय व्यापार मेला हुने, स्वदेशी तथा विदेशी गरी तीनसय बढी स्टल रहने

Advertisement

काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघको आयोजनामा आउँदो चैत ४ गतेदेखि आठ गतेसम्म नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला आयोजना हुने भएको छ । 

नेपालका निर्यातजन्य वस्तुहरुको निकासी प्रवद्र्धनका लागि विगतमा जस्तै यो वर्ष पनि मेला भृकुटीमण्डपमा आयोजना गर्न लागिएको हो । नेपाल अन्तर्राष्ट्रिय व्यापार मेलाको यो पाँचौं संस्करण हो । स्वदेशी तथा विदेशी गरी तीनसय बढी स्टल रहने मेलामा भारत, चीन, बंगलादेश, पाकिस्तान, थाइल्याण्ड, भुटान, ताइवानलगायतका मुलुक सहभागी हुनेछन् । 

Advertisement

मेलामा चीनको ९० र भारतको ७० वटा स्टल रहने छ भने जापान, दक्षिण कोरिया, थाइल्याण्ड व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको सहयोगमा हुने यस मेलाको सहआयोजक नेपाल हस्तकला महासंघ र जडिबुटी उत्पादन संघ रहेका छन् । 

मेलामा सहभागी हुन चाहनेलाई स्टल बुकिङ खुल्ला भइसकेको उद्योग बाणिज्य महासंघले बिहीबार पत्रकार सम्मृलन गरी जानकारी दिएको हो । यो मेला आर्थिक क्षेत्रमा नविन सोच, उत्पादन, सेवा तथा प्रविधिको प्रवद्र्धन गर्ने उद्देश्यले सशक्त माध्यम बनेको भन्दै महासंघले मेलामा एउटै छानामुनी स्वदेशी तथा विदेशी वस्तुको प्रवद्र्धन, खरिद बिक्री र प्रत्यक्ष अन्तरक्रिया हुने जनाएको छ । 

मेलामा नेपाली र अन्तर्राष्ट्रिय प्रदर्शनीकर्ताबीच प्रविधि र सीप आदान प्रदान हुने, एकल र संयुक्त लगानीका संभावनाहरुको खोजी तथा पहिचान हुने जनाइएको छ । महासंघले यस मेलालाई अन्तर्राष्ट्रियरुपमा ब्राण्डिङसमेत गरेको छ । 

मेलामा नेपाली हस्तकला, पर्यटन, सुचना प्रविधि, कृषि उत्पादन, उर्जा, भवन तथा निर्माण, शिक्षा, औषधिजन्य, जडिबुटी, फलाम तथा स्टिल, तयारी पोषाक, छालाजन्य उत्पादन, सेवा क्षेत्रका स्टलहरु रहनेछन् । मेलामा व्यापार एकीकृण रणनीतिअन्तर्गतका वस्तुको प्रदर्शनीलाई विशेष जोड दिइनेछ । 

महासंघ र यससँग आवद्ध जिल्ला तथा नगर संघहरुको वर्षको २० देखि ३० वटा साना ठूला मेलाहरु आयोजना हुँदै आएका छन् । महासंघले विगत १२ वर्षदेखि यस्ता मेला आयोजन ागर्न थालेको हो । गएको वर्षको अन्तर्राष्ट्रिय व्यापार मेलामा २३० स्वदेशी र १०३ विदेशी प्रदर्शनीकर्ता सहभागी थिए । 

महासंघका अध्यक्ष पशुपति मुरारकाले मेलाको लागि सरकारले छुट्टाउँदै आएको बजेट यस वर्ष घटाएको असन्तुष्टी जनाउँदै यस्ता मेला निजी क्षेत्रले नाफा कमाउनका लागि मात्रै नभएर मुलुकको व्यापार प्रवद्र्धनका लागि पनि हो भने । उनले यस वर्षको मेलामा सहभागिता राम्रो हुने बताए । 

वरिष्ठ उपाध्यक्ष भवानी राणाले मुलुकको असहज परिस्थितिपछि हुन लागेको अन्तर्राष्ट्रिय व्यापार मेलाको विशेष महत्व छ भन्दै मेलाको लागि भृकुटीमण्डप साह्रै साघुँरो भएको बताइन । यस ठाउँमा प्रदर्शनका साथै विजनेश टु विजनेश मिटिङ, तालिम आयोजना गर्न नसकिने उनको भनाई छ । 

केन्द्रका कार्यकारी निर्देशक इश्वरी घिमिरेले अर्थमन्त्रालयको सोचाई यस्ता मेला रमाइलो गर्नलाई हो भन्ने छ भन्दै यस वर्ष व्यापार मेलाहरुको बजेट आधै घटाइएको जानकारी दिए । उनले २०–२५ वर्षदेखि कुरा उठे पनि अन्तर्राष्ट्रियस्तरको प्रदर्शनीस्थल निर्माण हुन नसक्नु निजी क्षेत्रको दबाब र पहलको कमी हो भने । 

महासंघको मेला समितिका संयोजक केशव पाण्डेले भृकुटीमण्डपमा मेला आयोजना गर्नु विदेशीहरुको अगाडि लाजमर्दो भएको भन्दै यो ठाउँ निजी क्षेत्रलाई दिए नमुना प्रदर्शनीस्थल निर्माण गर्ने बताए । 

Advertisement

Advertisement