नेपाल टेलिकमको चाडपर्व लक्षित छुट सुविधा आयो, आधा दर्जन बढि फरक योजना

Advertisement

काठमाडौं । सरकारी स्वामित्वको दूरसञ्चार सेवा प्रदायक नेपाल टेलिकमले नजिकिँदा ठूला चाडपर्वलाई लक्षित गरी विभिन्न छुट सुविधासहितको अफर ल्याएको छ ।  

डाटा अफर
टेलिकमले जीएसएम तथा सीडीएमएका प्रिपेड तथा पोष्टपेडका ग्राहकलाई दशैं, तिहार तथा छठको उपलक्ष्यमा डाटा अफर प्रदान गरी त्यसमा निःशुल्क भ्वाइस तथा एसएमएस समेत उपलब्ध गराउने भएको छ । 

Advertisement

जसअनुसार शनिबारदेखि असोज २९ गतेसम्म र कात्तिक १२ देखि २१ गतेसम्म एकसय एमबीको डाटा ५० रुपियाँमा र २५० एमबीको डाटा सय रुपियाँमा उपलब्ध गराइने छ । सय एमबी डाटाको अवधि पाँच दिनसम्म र २५० एमबी डाटाको अवधि १० दिनसम्म रहनेछ । 

सो अवधिमा डाटा प्रयोगकर्ताले क्रमशः १० मिनेट भ्वाइस कल गर्न तथा १० वटा एसएमएस पठाउन र २५ मिनेट भ्वाइस कल गर्न तथा २५ वटा एसएमएस पठाउन पनि सक्नेछन् । 

नाइट डाटा अफर
कम्पनीले जीएसएम तथा सीडीएमए दुवैमा नाइट डाटा अफर पनि उपलब्ध गराइने भएको छ । जसअनुसार राती १० बजेदेखि बिहान ६ बजेसम्म ४० रुपियाँमा पाँचसय एमबी र ८५ रुपियाँमा एक हजार दुईसय एमबी डाटा प्रयोग गर्न सकिने छ । यी डाटा भोल्युमको अवधि क्रमशः सात दिन र १५ दिन हुनेछ । नाइट डाटा अफर शनिबारदेखि १५ देखि तीन महिनासम्म उपलब्ध गराइने छ । 

भ्वाइस कलमा छुट
टेलिकमले जीएसएम तथा सीडीएमए मोबाइल सेवामार्फत कम्पनी कै नेटवर्कभित्र हुने कलमा विद्यमान महसुल दरमा १० प्रतिशत छुट उपलब्ध गराउने भएको छ । जसअनुसार प्रिपेड मोबाइलबाट प्रति मिनेट एक रुपियाँ ३५ पैसा र पोष्टपेड मोबाइलबाट प्रतिमिनेट ९० पैसामा कल गर्न सकिने छ । उक्त छुट आगामी असोज २२ देखि असोज २९ गतेसम्म र कात्तिक १४ देखि २१ गतेसम्म उपलब्ध गराइने छ । 

एसएमएस अफर
हाल जीएसएम तथा सीडीएमए मोबाइल सेवामा प्रति एसएमएस शुल्क एक रुपियाँ भएकोमा आगामी असोज २२ देखि २९ गतेसम्म र कात्तिक १४ देखि २१ गतेसम्म प्रत्येक एसएमएसमा ५० प्रतिशत छुट उपलब्ध गराइने कम्पनीले जनाएको छ । 

स्थानीय टेलिफोनमा थप सय कल निःशुल्क
कम्पनीबाट वितरण गरिएको स्थानीय टेलिफोन सेवामा दुई सय रुपियाँमा १७५ कल निःशुल्क उपलब्ध गराई आएकोमा २०७३ असोज र कात्तिक महिनाको मासिक महसुल दुईसय रुपियाँमा थप सय लोकल कल उपलब्त्र गराइने छ । सो अनुसार अब असोज र कात्तिक महिनामा १७५ मा सय कल थप गरी २७५ लोकल गर्न सकिनेछ । 

एडीएसएल, वाईम्याक्स, एफटीटीएच सेवामा भ्यालिडिटी थप गर्ने
कम्पनीले दशैं, तिहार तथा छठको समयमा भ्यालिडिटी सकिने भोल्युक बेस्ड तथा अनलिमिटेड एडीएसएलका ग्राहकहरुलाई समय थप गर्ने भएको छ । वाइम्याक्स तथा एफटीटीएचका ग्राहकहरुको हकमा डाटा भोल्युम बाँकी भएको तर भ्यालिडिटी सकिएको खण्डमा समय थप गरिने छ । 

सो अनुसार दशैंको समयमा असोज २२ देखि असोज २८ सम्म भ्यालिडिटी सकिने ग्राहकको अवधि असोज २९ गतेसम्म र तिहार तथा छठको समयमा कात्तिक १४ देखि कात्तिक २० गतेसम्म भ्यालिडिटी सकिने ग्राहकको अवधि कात्तिक २१ गतेसम्म थप गरिने जनाइएको छ । 

जीएसएम प्रिपेड तथा सीडीएमए प्रिपेडमा एमपीओएस (पिनलेस) सिस्टमबाट एकसय रुपियाँ र सो भन्दा माथिको दरको रिचार्ज गर्दा १० प्रतिशत टक टाइम बोनस उपलब्ध गराइने जनाउँदै उल्लेखित सबै सेवाहरुमा सरकारको नियमअनुसार कर लाग्ने कम्पनीले जनाएको छ ।

Advertisement

Advertisement