प्रविधिका कुरा गर्ने महानगर अझै झाडु चलाउँदै, आर्थिक चलखेलका कारण ब्रुमर आउन सकेन्

Advertisement

काठमाडौं । देशको केन्द्रीय राजधानी रहेको काठमाडौंलाई आधुनिक र सुविधासम्पन्न बनाउने बताउँदै आएको काठमाडौं महानगरपालिकाले सडक सरसफाई गर्न अझै पनि झाडु (कुचो) प्रयोग गर्दै आएको छ ।

ब्रमर खरिदका लागि गरिएको टेण्डर प्रक्रियामा आर्थिक चलखेल हुँदा यसअघि नै आउने भनिएको ब्रुमर (सडक सफा गर्ने यन्त्र) अझै आउन सकेको छैन् । महानगरले यही मंसिर पहिलो साता आउने भनेको ब्रुमर आउन अझै महिनौ कुनुपर्ने भएको छ ।

ब्रुमर खरिदका लागि यसअघि गरिएको टेण्डर प्रक्रिया सार्वजनिक खरिद ऐनविपरित भएको भन्दै सार्वजनिक खरिद अनुगमन कार्यालयले महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यलाई स्पष्टिकरणसमेत सोधेको थियो । साथै, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत टेण्डर प्रक्रियामा भएको अनियमितता छानविन अघि बढाए पनि प्रधानमन्त्री केपी ओलीको आग्रहमा यसलाई तामेलीमा राख्ने काम भएको थियो ।

महानगरपालिकाले न्यून बोलकबोल गर्ने कम्पनीलाई ठेक्का नदिएर बढि रकम प्रस्ताव गर्ने इटालियन कम्पनीलाई छनोट गरेपछि सार्वजनिक खरिद अनुगमन कार्यालयले स्पष्टिकरण सोध्नुका साथै अख्तियारले प्रक्रियामा आपत्ति जनाएको थियो । यद्यपि महानगरपालिकाले पौडे दुई करोड रुपियाँ बढी प्रस्ताव गर्ने कम्पनीलाई ठेक्का दिए पनि अहिलेसम्म ब्रुमर ल्याउन सकेको छैन् ।

बढि धुलो र फोहर हुने नेपालका सडकहरुलाई भारतीय ब्रुमरहरु उपयुक्त हुने विज्ञहरुले बताउँदा बताउँदै मेयर शाक्यले इटालियन ब्राण्ड डेलोभोको ब्रुमर ल्याउने निर्णय गरेका थिए । सफा खालका सडक, विमानस्थल, सुपरमार्केटहरुमा मात्रै उपयुक्त हुने डेलोभो ब्रुमर नेपालका सडकमा धेरै समय टिक्न नसक्ने विज्ञहरुको भनाई छ ।

यसअघि सार्क शिखर सम्मेलनमा ल्याइएको चिनियाँ ब्रुमर केही दिन प्रयोग गरेपछि नै बिग्रिएर बसेको बर्षौ भए पनि मर्मत गरेर चलाउन महानगरले सकेको छैन । भारतीय ब्रुमर भए बिग्रिएमा पनि सामान सजिलै पाइने, मर्मत खर्च पनि कम हुने, सडक पनि बढि सफल हुने तथ्यलाई उपेक्षा गर्दै महानगरपालिकाले भित्राउन लागेको इटालियन ब्राण्डका पाँच वटा ब्रुमरहरु आउन अझै अनिश्चितता देखिएको हो ।

महानगरपालिकाको वातावरण विभागका प्रमुख हरिकुमार श्रेष्ठका अनुसार ब्रमर ल्याउन केही प्रक्रिया बाँकी रहेकाले ढिलाई भएको हो । यी ब्रुमरहरुलाई उसले १२ करोड रुपियाँभन्दा बढि खर्चिएको छ । कुचोले बढारेर धूलो सफा गर्ने र ट्याङ्करको पानीले सडक सफा गर्दै आएको महानगरपालिकाभित्र हुने आर्थिक चलखेलका कारण नगरवासीको स्वास्थ्यमा धुलोले हानी गरिरहेको छ ।

Advertisement

Advertisement

Advertisement