राजस्व छलेको भन्दै ४१ व्यापारिक फर्ममाथि कारवाही

Advertisement

काठमाडौं । राजस्व अनुसन्धान विभागले ४१ वटा व्यापारिक फर्मलाई कारबाहीको दायरामा ल्याएको छ । कारबाहीको दायरामा परेका फर्महरूले दुई अर्ब ५१ करोड ५६ लाख १४ हजार रुपैयाँ धरौटी वुझाउनुपर्ने छ ।

धरौटीबापत २२ करोड ५७ लाख ९८ हजार १३९ रुपैयाँ रकम दाखिला भएको राजस्व अनुसन्धान विभागले जनाएको छ।
विभागले फर्महरु विरूद्ध अदालतमा मुद्दा दायर गर्दै पाँच अर्ब एक करोड २० लाख ५४ हजार बिगो र तीन वर्षको सजाय तोकेकोे छ । प्रधानमन्त्री कार्यालयको मातहत काम गरेको छ महिनाको अवधिमा भन्सार चुहावट गर्ने नेपालगञ्ज भन्सारका प्रमुख अधिकृतसहित कर्मचारीहरू समेत कारबाहीमा परेका छन् ।

कारबाही भोग्नेहरुमा प्रमुख भन्सार अधिकृत जनार्दन आचार्य, अधिकृत बटुकृष्ण अधिकारी, जाँचकी वसन्तकुमार सुवेदी, भन्सार एजेन्ट दिनेशकुमार बानियाँ, कम्प्युटर अधिकृत चन्द्रबहादुर क्षेत्री, भन्सार सहायक जितबहादुर श्रेष्ठ र रामबहादुर थापा छन् । उनीहरू सबैलाई ४६ लाख ४० हजार बिगो मागी अदालतमा मुद्दा दायर गरिएको छ।

विभागका अनुसार राजस्व छली गर्नेमा भन्सार कर्मचारी र भन्सार एजेन्ट कारबाहीमा परेको यो पहिलोपटक हो । व्यापारिक फर्ममा सबैभन्दा बढी हिमालयन कार्गोले ५४ करोड ४२ लाख कर छलेको प्रमाणित भएको छ ।

हिमालय कार्गाेलाई राजस्व चुहावटको अभियोगमा बिगो र जरिवाना सहित काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरिएको छ । साथै २ अर्ब ७२ करोड असुल गर्न र तीन वर्षसम्म कैद सजाए पनि माग गरिएको छ।
भदौ १ गते दायर गरिएको मुद्दामा हिमालयन कार्गोका सञ्चालक विनोदकुमार गुप्ता र उनकी श्रीमती मधुकुमारी गुप्ता जेल सजाय भोग्दैछन् ।

त्यसैगरी १० किलो सुन चोरीमा निकासीमा छिरिङ लामा, लोप्साङ तेन्गे लामालाई अदालतमा मुद्दा दर्ता गरिएको छ ।
उनीहरुको लागि ५४ करोड २७ लाख ५७ हजार १०५ रुपैयाँ बिगो जरिवाना र तीन वर्ष कैद सजाय मागिएको छ ।

त्यस्तै तीन किलो सुन भन्सार चोरी निकासी सम्वन्धि राजस्व चुहावट गरिएको विषयलाई लिएर विदेशी विनिमय अपचलन अभियोगमा दीपककुमार मौय सहित ६ जनाविरूद्ध अदालतमा मुद्दा दायर गरिएको छ ।

उनीको लागि ४४ करोड ६५ लाख ४४ हजार बिगो र जरिवानासहित तीन वर्ष सजाय माग गर्दै अदालतमा मुद्दा दायर गरिएको हो । ६ किलो सुन चोरी पैठारीमा तेञ्जिङ तामाङविरूद्ध ५० करोड ५५ लाख ४४ हजार बिगो जरिवाना र तीन वर्ष सजाय मागी मुद्दा दायर गरिएको छ।

कालो हिरा चोरी पैठारीमा व्यवसायी रमेश रजकसहित ८ जना, छाला भनी मरिच निकासी गर्ने सञ्जय अग्रवाल, रामशंकर यादव, धर्मेन्द्रकुमार र राजकुमार गुप्ता पनि कारबाहीमा परेका छन्। उनीहरूलाई ६ करोड ७३ लाख २९ हजार बिगो जरिवाना र कैद माग गरिएको छ ।
कारबाहीमा पर्ने अन्य फर्महरूमा शिव इन्टरप्राइजेज, मण्डला अजिमा इन्टरप्राइजेज, सुभान इन्टरनेशनल, लुम्बिनी पान मसला उद्योग पनि छन्।

अर्थ मन्त्रालय मातहत रहँदा विभागले गर्न नसकेको कारवायी ‘प्रधानमन्त्री कार्यालय मातहत आईसकेपछि यति ठुलो संख्यामा कारवायी गरिएको विभागका महानिर्देशक दीर्घराज मैनालीले वताए ।

यस अघि विभागले अर्थ मन्त्रालयमा रिपोर्टिङ गर्दा यसरी कारवायी गर्न सकेको थिएन । अहिले राजस्व संकलनको प्रगतिविवरणको ‘रिपोर्टिङ’ सिधै प्रधानमन्त्री कार्यालयमा पुग्छ ।

राजस्व चुहावट अनुसन्धान तथा संकलन ऐन–२०५२ ले राजस्व संकलनमा शून्य सहनशीलता लागू गरे पनि अर्थ मन्त्रालय मातहत रहँदा यसको कार्यान्वयन कमजोर रहेको थियो ।

विभाग प्रधामन्त्री कार्यालयको मातहतमा आईकन विभागले जेठ महिनादेखि राजस्व छलीका मुद्दामा कारबाही थालेको थियो ।
यसैबीच, कर छलीमा कडाइ गरेपछि आर्थिक वर्षमा रसुवा भन्सार कार्यालयको भन्सार असुली दरमा ठूलो वृद्धि भएको छ ।

गत आर्थिक वर्षको ४ महिनामा ८७ करोड २० लाख ८५ हजार रुपैयाँ राजस्व संकलन गरिएको थियो।
जबकी चालू वर्षको राजस्व लक्ष्य ३ अर्ब ७४ करोड ९३ लाख १४ हजार हुदाँ चार महिनामै २ अर्ब ६० करोड ४ लाख २२ हजार रुपैयाँ राजस्व संकलन भएको छ ।

त्यस्तै विराटनगर भन्सार कार्यालयले गत वर्षको चार महिनामा ८ अर्ब ८१ करोड २९ लाख ५४ हजार रुपैयाँ असुली गरेको थियो ।
यस्तै, नेपालगञ्ज भन्सार कार्यालयले यस वर्ष ४ अर्ब ७ करोड २ लाख १८ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।

विभागका अनुसार गएको आर्थिक वर्षको चार महिनाको तुलनामा चालू वर्षको राजस्व असुलीदर ३६ प्रतिशतले वृद्धि भएको छ।

Advertisement

Advertisement

Advertisement