काठमाडौं । व्यापार घाटाले सीमा नाघेको बेला नेपाल राष्ट्र बैंकले आन्तरिक उत्पादन वृद्धि र निर्यात प्रवद्र्धनमा जोड दिएर आगामी आर्थिक वर्षको बजेट ल्याउन सरकारलाई सुझाव दिएको छ। अर्थसमितिको बिहीबारको प्रिबजेट छलफलमा राष्ट्र बैंकका गर्भनर चिरञ्जीवी नेपालले व्यापार घाटालाई कम गर्न आन्तरिक उत्पादन बढाउनु अत्यन्तै जरुरी भइसकेको बताए ।
चालु आर्थिक बर्षको पहिलो १० महिनामै आयात झण्डै १० खर्ब पुगेको र सोही कारण शोधनान्तर स्थिति नकारात्मक तथा विदेशी मुद्राको संचितमा समेत कमी आएको बेला गर्भनर नेपालले बढ्दो आयातलाई प्रतिस्थापन गर्न उत्पादन बढाउनु जरुरी रहेको बताए ।
उनले विप्रेशनको भर नपर्न सरकारलाई आग्रह गर्दै उत्पादनमा नै जोड दिनुपर्ने बताए । उत्पादन वृद्धिमा जोड दिँदा रोजगारी सिर्जना हुनुका साथै आयात कम गर्न सहयोग पुग्ने बताए । गर्भनर नेपालले मुलुकमा आर्थिक गतिविधिलाई बढावा दिन पूँजीगत खर्च बढाउने गरी आगामी आर्थिक वर्षको बजेट ल्याउनुपर्छ भन्दै चालू आर्थिक वर्षको हालसम्म केन्द्र सरकारले ३५ प्रतिशत मात्रै पूँजीगत खर्च गरेको प्रति असन्तुष्टि जनाए ।