धितोपत्र बोर्डको धितोपत्र तथा वस्तु विनिमय बजारसम्बन्धी नीति तथा कार्यक्रम सार्वजनिक

Advertisement

काठमाडौं । नेपाल धितोपत्र बोर्डले धितोपत्र तथा वस्तु विनिमय बजारको विकास, विस्तार तथा सुधारका लागि आर्थिक वर्ष २०७६/७७ मा सम्पन्न गर्नुपर्ने विभिन्न विकासात्मक तथा नियमित कार्यक्रमहरु समावेश गरी बोर्डको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । बोर्डले धितोपत्र तथा वस्तु विनिमय बजारलार्ई अन्र्राष्ट्रिय स्तरको बनाउने, बजार पुर्वाधारको विकाससँगै बजार सहभागीहरुको कार्यक्षेत्र, स्तर तथा व्यवसायिकतामा सुधार ल्याउने, बजार सुपरिवेक्षण व्यवस्थामा सुधार गर्ने तथा वित्तीय साक्षरताको स्थितिलाई सुदृढ गर्ने लक्ष्यले उक्त नीति तथा कार्यक्रम सार्वजनीक गरेको हो ।

सोमबार आयोजित कार्यक्रममा धितोपत्र बोर्डका अध्यक्ष रेवत बहादुर कार्कीले बोर्डले पूँजीको दायरा बढाउने, बोर्डको कार्यक्रमले अनलाइन सेटिङ तथा दोस्रो बजारमा अझै सुधार गर्ने उद्देश्य रहेको बताएका छन् । उनले बजारमा बढदै गएको माग र पूर्तीको दायरालाई कसरी बढाउने भन्ने विषयलार्ई लिएर नीति तथा कार्यक्रम सार्वजनिक गरिएको बताए ।

कार्यक्रममा अध्यक्ष कार्कीले भने–‘बजारमा लगानीकर्ता फरक–फरक प्रकृतिका हुने भएकाले उनीहरुको चाहना पनि फरक हुन्छ, त्यसैले यस्ता चुनौतिहरुलाई ध्यानमा राखेर यो नीति तथा कार्यक्रम सार्वजनिक गरिएको हो ।’ साथै, उनले नेपाल धितोपत्र बोर्डले उत्पादनमूलक कम्पनीलाई सेयर बजारमा भित्राउने प्रक्रिया अघि बढाएको बताए । यसका लागि बोर्डले बुक बिल्डिङ प्रणाली लागु गर्ने तयारी गरेको छ ।

आगामी आर्थिक वर्षको धितोपत्र तथा वस्तु विनिमय बजारसम्बन्धित नीति तथा कार्यक्रम सार्वजनिक गर्दै कार्कीले ५० करोड रुपियाँ वा सोभन्दा बढी लगानीमा स्थापना भएका उत्पादनमूलक उद्योगलाई धितोपत्र बजारमा ल्याउन प्रोत्साहन र सहजीकरण गर्ने जानकारी दिए ।

बोर्डका अनुसार आव २०७६/०७७ को धितोपत्र तथा वस्तु विनिमयसम्बन्धी नीति तथा कार्यक्रमले नेपालको धितोपत्र र वस्तु विनिमय बजारलाई विकास तथा विस्तार गर्दै स्वस्थ, पारदर्शी, प्रतिस्पर्धी र प्रभावकारी बनाई सर्वसाधारणको पहुँच बढाउने उद्देश्य लिएको छ ।

यसको लागि धितोपत्र तथा वस्तु विनिमय बजारको प्रभावकारी नियमन, सुपरीवेक्षण तथा व्यवस्थापनका लागि आवश्यक कानुनी संरचनाको विकास तथा सुदृढीकरण गर्ने, बोर्डको संस्थागत तथा नियमन क्षमता अभिवृद्धि गर्ने, बजार पूर्वाधार, लगानी उपकरण आदिमा सुधार तथा विकास गर्ने तथा एक नेपाली एक डिम्याट खातालाई अभियानको रुपमा सञ्चालन गर्ने लक्ष्य बोर्डले लिएको छ ।  साथै, बोर्डले नयाँ स्टक एक्सचेन्ज खोल्न प्रक्रिया अघि बढाउने घोषणा समेत गरेको छ ।

Advertisement

Advertisement