यसपाली गुराँस लाइफले ऐतिहासिक फड्को मार्छ- भट्टराई

Advertisement

‘जीवन बीमा भनेको व्यवसाय मात्रै होइन, सामाजिक उत्तरदायित्व पनि हो । हरेक परिवारका मुल व्यक्तिहरुको बीमा गरिनुपर्छ’– यो भनाई हो गुराँस लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत नारायणकुमार भट्टराईको । भारतबाट एमबीएसम्मको अध्ययन गरेर नेपाल आएका उनी १७ वर्षदेखि जीवन बीमा क्षेत्रमा क्रियाशील छन् । एलआईसी नेपालबाट करियल आरम्भ गरेका उनी अहिले गुराँस लाइफको कार्यकारी नेतृत्व सम्हाल्दै आएका छन् । प्रस्तुत छ उनीसँग कर्पोरेट नेपालका प्रवन्ध सम्पादक नारायण पौडेलले गरेको कुराकानीको सारः

आर्थिक वर्ष २०७५/७६ सकिएको छ, गुराँस लाइफका लागि कस्तो रह्यो ?
हामीले गत आर्थिक वर्षलाई चुनौती र सफलताको वर्षका रुपमा लियौं । आर्थिक वर्ष २०७४/७५ मा नयाँ बीमा कम्पनीहरु आएका थिए । तिनै कर्मचारी तानातान गरेर नयाँ कम्पनी चलाउनुपर्ने अवस्था थियो । गत आवमा नयाँ कर्मचारी नियुक्ती गरेर तिनलाई तालिम दिएर कामको नतिजा निकाल्नुपर्ने बाध्यता थियो । त्यति हुँदा हुँदै पनि हामीले ७० प्रतिशत नयाँ व्यवसाय विस्तार गर्न सफल भयौं । ७० प्रतिशतको प्रिमियम ग्रोथ भनेको सानो कुरा होइन् ।

त्यस बाहेक हामीले गत आर्थिक वर्षमा कम्पनी भित्र पनि व्यापक परिवर्तन गर्यौं । नयाँ प्रविध भित्र्यायौं, सफ्टवेयर, हार्डवेयर र नेटवर्किङ तिनै पक्ष गत आवमा नयाँ लागु गरियो । कर्मचारीहरुको क्षमता पनि राम्रो विकास भएको छ । हामीले गत आवलाई सबै रुपले आधार वर्षका रुपमा लियौं । अब चालु आर्थिक वर्षमा कम्पनीले ठुलो फड्को मार्छ भन्नेमा विश्वस्त छौं । किन की हामीले आन्तरिक व्यवस्थापन, जनशक्ति र नयाँ बोनस दर घोषणा गरिसकेका छौं । हामी सबै भन्दा धेरै बोनस दिने कम्पनीका लागि आएका छौं । जसले चालु आर्थिक वर्षमा कम्पनीका लाागि ठुलो फड्को मार्ने आधार तयार पारेको छ ।

कम्पनीको वित्तिय अवस्था चाँही कस्तो छ ?
वित्तिय अवस्था पनि राम्रो छ । वित्तिय विवरण तयार गरेपछि एक्चुरीका लागि पठाउनुपर्छ । एक्चुरीले कम्पनीको दायित्व र सम्पतिको मूल्यांकन गर्छन् । दायित्व र सम्पति मूल्यांकनकै आधारमा बोनस दर कायम हुने हो । गुराँसको बोनस दर सबै भन्दा धेरै कायम भएको छ । कम्पनीका लागि कत्रो पुँजी भन्नेले अर्थ राख्दैन् । हामीले गत आवमा पहिलो प्रिमियम नै ७५ करोड आर्जन गरेका छौं । पुरानो १२० करोड थियो । अहिले १९५ करोडको बीमा शुल्क आर्जन गर्न सफल भएका छौं ।

तपाईहरु जीवन बीमा कम्पनीमध्ये कति औं नम्बरमा हुनुहुन्छ ?
हामी बजार हिस्साका आधारमा धेरै अगाडी छैनौं । त्यसले बीमितका लागि कुनै अर्थ पनि राख्दैन् । बीमितको सरोकार भनेको जोखिम हस्तान्तरण, बोनस, बचत र लगानीका लागि हो । हामीले सबै भन्दा धेरै बोनस दिएका छौं । यसरी हेर्ने हो भने बीमितले सबै भन्दा धेरै बोनस, सुरक्षित बचत र सहज दावी भुक्तानी हुने गरि जोखिम हस्तान्तरण गरेको अनुभूति गुराँस लाइफबाट गर्न पाउनेछन् । बीमालाई लगानी मान्ने हो भने कति रुपैंयाँ लगानी गरेँ र कति प्रतिफल पाएँ भनेर हेर्ने हो । त्यसका लागि बोनस दरले भूमिका खेल्छ । ८७ रुपैंयाँ दिन्छौं हामी प्रति हजार बोनस ।

त्यसपछि ग्राहकसँग असुलिने बीमा शुल्क पनि हो । हामीले थोरै प्रिमियममा धेरै बोनस दिईरहेका छौं । पुराना र ठुला दावी गर्ने कम्पनीहरु भन्दा यी मामलामा हामी अगाडी छौं । व्यापारको आधारमा धेरै अगाडी नभए पनि बोनस र ग्राहकलाई दिएको सेवाका आधारमा हामी निकै अगाडी छौं ।

बीमालाई जोखिम हस्तान्तरण, बचत र लगानीमध्ये के मान्ने ? के हो प्राथमिकता ?
बीमितको पक्षबाट हेर्ने हो भने बीमा भनेको पहिलो नम्बरमा जोखिम हस्तान्तरण नै हो । दोश्रो नम्बरमा बीमालाई बचत हो भनेर बुझ्दा हुन्छ । बीमाको तेश्रो प्राथमिकता भनेको लगानी हो । तर बीमितसँग जोखिमको कुरा गर्दा घट्नाको आउने भएकाले बचतका रुपमा अलि धेरै धारणा बन्ने गरेको छ ।

गुराँससहित केहि कम्पनी पुँजी पुर्याउन असफल देखिए, अबको योजना के छ ?
हामी पुँजी वृद्धिको प्रक्रियामा छौं । भर्खरै ८ प्रतिशत बोनस सेयर दिएका छौं । त्यो पुँजीकरण भैसकेको छ । २ बराबर १ कित्ता अनुपातको हकप्रद सेयर दिएका थियौं । त्यो पुँजीकरणको चरणमा रहेको छ । एक बराबर एक कित्ता अनुपातको हकप्रद सेयर साधारण सभाबाट पारित भैसकेको छ । त्यो अब जारी हुने चरणमा रहेको छ । तर केहि समय त लाग्ने नै देखियो

गुराँस लाइफले कति वटा बीमा योजना बेचिरहेको छ र ति कस्ता छन् ? सबै भन्दा बढि रुचाईएको योजना कुन हो ?
हामीले १ वटा बीमा योजना बेचिरहेका छौं । नेपालमा अरु कम्पनीसँग भएका सबै योजना हामीसँग छन् । चालु आर्थिक वर्षका लागि केहि नयाँ योजना ल्याउँदैछौं । एउटा योजना बीमा समितिबाट स्वीकृत नै भैसकेको छ । २० वटा घातक रोगको जोखिम समेट्ने गरि नयाँ योजना बनाएका छौं जुन छिट्टै आउँदैछ । त्यस बाहेक पनि २/३ वटा योजना यो वर्ष आउँछन् ।

हाम्रो सबै भन्दा धेरै रुचाईएको योजना भनेको बार्षिक नगद फिर्ता योजना हो । यो योजना नेपाली बजारमा हामीले नै पहिलो पटक ल्याएका थियौं । अहिले सबै जसो कम्पनीले यहि योजना ल्याएका छन् । यसमा बीमितले बीमा गरेको एक वर्षपछि हरेक वर्ष पैसा पाउँदै गर्छ । जसले गर्दा हरेक वर्ष बैंक ऋण, छोरा छोरी पठाउन उपयोग गर्न सक्छ । बीमा गरेपछि पैसा फिर्ता लिन योजना अवधीभर कुर्नुपर्ने बाध्यताबाट यसले मुक्त गरेको थियो ।

बैंकास्योरेन्स माथी राष्ट्र बैंकले रोक लगायो, यसलाई कसरी हेर्ने ?
हामीले जुन ढंगले बैंकास्योरेन्सलाई ठिक ढंगले बुझेनौँ । बैंकास्योरेन्स भनेको वृहत अवधारणा हो । अहिले हामी गरेको अभ्यास चाँही कर्पोरेट एजेन्ट हो । बैंकास्योरेन्सको अवधारणा पूर्ण कार्यान्वयनका लागि छुट्टै बीमा योजना र सफट्वेयर आवश्यक पर्छ । बैंक र बीमा कम्पनीको संयुक्त सफ्ट वेयरबाट छुट्टै खाले बीमा योजना बनाउनुपर्छ । राष्ट्र बैंकले बैंकास्योरेन्समा रोक लगाएको छ, यसमा केहि विकृतिहरु भित्रिएका थिए । अब यसलाई रोक्ने भन्दा पनि थप व्यवस्थित चैँ गरिनु आवश्यक छ भन्ने मलाई लाग्छ ।

बीमासँग अपराध पनि जोडिन थालेको छ, रौतहटमा छोरी र पोखरामा श्रीमति हत्या प्रकरण देखियो, यस्तो समस्याबाट कसरी जोगिने ?
बीमासँग सम्वद्ध सबैलाई राम्रो तालिम दिनुपर्छ । बीमा कम्पनीहरुले अभिकर्ताहरुलाई राम्रो तालिम दिनु पर्छ । पुराना ९ वटा कम्पनीमात्रै हुँदा यस्ता समस्या देखिएका थिएनन् । अहिले नयाँ कम्पनी आएसँगै पोखरा, गौरमा घट्ना देखियो, अर्काे एउटा घट्ना पनि आईरहेको छ । पोखराको एउटा घट्ना सार्वजनिक नै भएन् । यसमा अभिकर्तालाई राम्रोसँग तालिम नदिँदाको परिणाम हो ।

अभिकर्ताले आम्दानीका रुपमा मात्रै बीमा गराउन थालेपछि यस्तो अवस्था आउँछ । बच्चाको पोलिसीलाई जुभेनाईन पोलिसी भनिन्छ । बीमा गरेको केहि समय पुगेपछि मात्रै जोखिम वहन गर्ने व्यवस्था त्यसमा गरिएको हुन्छ । त्यसका लागि अभिकर्ताले सहि ढंगले व्याख्या गरिदिनुपर्ने हुन्छ ।

जीवन बीमा कम्पनीका अभिकर्ताहरुले मृत्युसँग डर देखाएर बीमा योजना बेच्छन भन्ने आरोप छ, त्यसलाई कसरी चिर्ने ?
हामी आफ्ना बीमितको दिर्घ जीवनको कामना गर्छाै । जीवन बीमा कम्पनीका लागि दावी भुक्तानी भनेको खर्च हो । आफ्ना बीमित स्वस्थ रहुन, आम्दानी बढोस भन्ने नै हुन्छ । मृत्युको त्रास देखाएर बीमा योजना बेच्ने कुरा अभिकर्ताहरुको कमजोर बुझाई हो । अब यस्तो प्रवृत्तिलाई सच्याइनुपर्छ । कम्पनीहरुले आ आफ्ना अभिकर्तालाई सही ढंगले परिचालन गर्नुपर्छ ।

बीमा क्षेत्रमा मर्जरको चर्चा छ, केहि तयारी गरिएको छ की ?
हामी मर्जरमा जानुपर्ने अवस्थामा छैनौं । पुँजी पुर्याउने स्पष्ट रोडम्याप तयार भैसकेको छ । बजार विस्तार राम्रो छ । कुनै कम्पनी खोजेर मर्जरमा जानुपर्ने बाध्यतामा हामी छैनौं । नियामक निकायले अहिले लिईरहेको नीति भित्र मर्जरमा जानुपर्ने अवस्था छैन् । नियामकले मर्जरको बिशेष नीति नै ल्यायो भने अर्कै कुरा हो ।

बीमा लिखित करार हुनेछ भन्ने कानुनमै लेखिएको रहेछ, हुम्लाको नागरिकले प्रविधि उपयोग गरेर बीमा गर्न पाउने की नपाउने ?
सबै क्षेत्रका सबै नागरिकले बीमा गर्न पाउनुपर्छ । बीमामा प्रविधिको अधिक उपयोग अनिवार्य बन्दै पनि गैरहेको छ । प्रविधिको उपयोगबाट बीमा गराउँदा जोखिम विश्लेषणका पाटो अहिलेको अवस्थामा यकिन गर्न मुस्किल हुन्छ । इन्टरनेटबाट उपलब्ध गराईएको सूचनाको वैधताको कुरा पनि छ ।

बीमासँग सम्पति सुद्धिकरणलाई जोड्न थालिएको छ, सिंगल प्रिमियम पोलिसीहरुमा त्यस्तो जोखिमको कुरा छ, गुराँसमा  त्यस्तो पोलिसीको हिस्सा  कति छ ?
सबै ठुला आर्थिक कारोबारमा सम्पति सुद्धिकरण जोडिएर आउँछन् । सिंगल प्रिमियम पोलिसीमा त झन सम्पति सुद्धिकरण जोडिने नै भयो । तर गुराँस लाइफ इन्स्योरन्स कम्पनीमा सिंगल प्रिमियम पोलिसीको हिस्सा जम्मा १.५ प्रतिशत मात्रै छ ।

Advertisement

Advertisement

Advertisement