हामी अरु जस्तो ‘ढटुवा’ सरकार होइन्ः बास्कोटा, सरकारको काम देखेर प्रसंसै प्रसंसा आएको दावी

Advertisement

काभ्रे । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारालाई सार्थकता दिन सरकार देश निर्माणको महाअभियानमा व्यस्त रहेको बताएका छन् । शुक्रबार पनौती नगरपालिकास्थित लाकुरीभञ्ज्याङ–पनौती–नमोबुद्ध सडक स्तरोन्नति कार्यको शुभारम्भ तथा कुशादेवी माध्यमिक विद्यालयबाट एसइई परीक्षामा उत्तीर्णलाई सम्मान गर्न आयोजित कार्यक्रममा मन्त्री बाँस्कोटाले सरकार गत वर्ष बनाएका योजना सञ्चालनमा व्यस्त रहेको र यस वर्षदेखि सरकारले नतिजा दिने बताए ।

बास्कोटाले भने, “हामी देश निर्माणको महाअभियानमा छौँ, त्यस कारण पनि अब सरकारको कामको नतिजा देखिँदै जानेछन् ।” उनले कुनै पनि देश एकैपटक, एकै वर्षमा नबनेको उल्लेख गर्दै सरकारले छोटो समयमा हालै मात्र योजना सम्पन्न भएको उदाहरण ‘पाइपलाइन तेल’ आयातलाई लिन आग्रह गरे ।

बास्कोटाले भने, “गत वर्ष बनाइएका योजनाअनुरुप यस वर्ष क्रमैसँग ठूला–ठूला योजना कार्यान्वयन हुँदै जानेछन्, केही योजनाको प्रतिफल यसै वर्ष पनि देखिनेछ ।” उनले वर्तमान सरकार अरुजस्तो ‘ढटुवा’ सरकार नभएको दाबी गरे । “हामी जे बोल्छौँ, त्यही गर्छौै, हामीलाई कसैको आलोचनाले हाम्रो महाअभियानमा फरक पर्दैन”, उनले भने । सरकारको सङ्कल्प ‘विकासदेखि विकाससम्म’ मात्रै भएको उल्लेख गर्दै बास्कोटाले सरकारको कामप्रति उत्साहजनक प्रतिक्रिया आइरहेको दावी गरे ।

मन्त्री बास्कोटाले वर्तमान सरकारले विकास निर्माणका क्षेत्रमा जनताले औँला ठड्याउने अवस्था सिर्जना नगर्ने दाबी गरे । उनले भने, “सरकारको महाअभियानमा तपाईहरुको पनि साथ चाहिन्छ, सरकार विकास निर्माणमा थाक्दैन र आराम पनि गर्दैन ।”

बास्कोटाले गौरवका अन्य योजनामा नवलपरासीमा फलाम उद्योग स्थापना हुँदै गरेको, नेपालमा पट्रोलियम खानी एवं उत्पादनका लागि अन्वेषण परीक्षण गर्न विदेश पठाइएको र रु एक खर्ब १० अर्बको लगानीमा सुनकोशी नदीमा विद्युत् उत्पादनका लागि अध्ययन भइरहेको बताए । साथै, उनले अरनिको राजमार्गअन्तर्गत सूर्यविनायक–धुलिखेल सडकखण्ड केही समयमै छ लेनको निर्माण शुरु हुने र सम्पन्न भएपछि धुलिखेलदेखि चार लेनको बनाउन थालिने बताए ।

मन्त्री बाँस्कोटाले आजै धुलिखेल नपा–२ पदालीमा ठाडोखोला खानेपानी आयोजना ‘एक घर एक धारा’ उद्घाटन तथा वैकल्पिक मार्गका रुपमा रविओपी–पाँचखाल सडक स्तरोन्नति एवं पक्की कार्यको शिलान्यास गरे ।

Advertisement

Advertisement

Advertisement