सेयर बजारमा ‘यू–टर्न’, एकै दिन झण्डै २७ अंकको उछाल

Advertisement

काठमाडौं । लगातारजसो घट्दै आएको सेयर बजारमा मंगलबार उच्च वृद्धि भएको छ । आज सेयर बजार परिसुचक नेप्से २६ दशमलव ९१ अंकले बढेर एक हजार १५० पार गरेको छ भने कारोबारमा पनि सामान्य सुधार भई ३८ करोड ३९ लाख रुपियाँको किनबेच भएको छ ।

पछिल्ला दिनमा नेप्सेमा दोहोरो अंकको गिरावट हुँदा लगानीकर्ताहरु थप निराश बनिरहेको बेला आजको उछालले उनीहरुलाई केही राहत मिलेको छ । बजारमा उच्च गिरावट भइरहेको बेला लगानीकर्ताहरुको संगठनले संयुक्त विज्ञप्ति जारी गरी सरकारको, विशेषगरी अर्थमन्त्रीको गलत नीतिका कारण सेयर बजारमा ४० प्रतिशतको संकुचन आएको बताएका थिए । उनीहरुले समस्या समाधानका लागि वार्ता गर्न प्रधानमन्त्रीसँग समय पनि माग गरेका थिए ।

आज म्युचुअल फण्डबाहेक बाँकी सबै समूहका सुचकहरुमा पनि सुधार आएको छ । सेयर बजारमा सबैभन्दा ठूलो हिस्सा ओगटेको बाणिज्य बैंक समूहको सुचक दुई प्रतिशतभन्दा बढिले बढेको छ भने जलविद्युत समूहको सुचक चार दशमलव २७ प्रतिशत, उत्पादनमूलक समूहको सुचक चार दशमलव ५२ प्रतिशत, अन्य समूहको सुचक तीन दशमलव २५ प्रतिशत, होटल समूहको सुचक तीन दशमलव १५ प्रतिशतले बढेको छ ।

आज सबैभन्दा धेरै कारोबार गर्ने सिद्धार्थ बैंकको सेयर तीन करोड ४९ लाख रुपियाँको कारोबार भयो । आज कुल १७१ वटा कम्पनीको सेयर कारोबार भएकोमा १८ वटा कम्पनीका लगानीकर्ताले मात्रै गुमाएका छन् । अनुपातका हिसावमा सबैभन्दा धेरै नाफा गर्नेमा शिवम सिमेन्ट्सका लगानीकर्ता अगाडि छन् भने घाटा खानेमा एभरेष्ट इन्स्योरेन्सका लगानीकर्ता अगाडि छन् ।

Advertisement

Advertisement

Advertisement