साह्रै अशुभ दिन संसद भवन शिलान्यास गरिएको भन्दै ज्योतिषहरुमा खैलाबैला, पञ्चाङ्गको बैठक बस्दै

Advertisement

काठमाडौं । साह्रै अशुभ दिन पारेर देशको भविश्य कोर्ने संसद भवनको शिलान्यास गरिएको भन्दै ज्योतिषहरु चिन्तित र निराश भएका छन् । सरकारले बनाएको पञ्चाङ्ग निर्णयक समितिले समेत यस विषयमा चाँडै बैठक राख्ने तयारी गरेको छ ।

प्रधानमन्त्रीले यही असोज १ गते सिंहदरबारमा बनाउन लागिएको संसद भवनको शिलान्यास गरेका थिए । वैदिक विधिअनुसार पण्डितहरु मन्त्र पढेर गरिएको शिलान्यासको विषयले अहिले ज्योतिष तथा पण्डित पेशामा रहेकाहरुबीच खैलाबैला मच्चिएको छ ।

ज्योतिषहरुका अनुसार यतिबेला शुक्र अन्ध छ । वृहस्पति र शुक्र अन्ध रहेको बेला गृहारम्भ लगायतका कुनै पनि धार्मिक एवं शुभकार्य गर्न हुँदैन । त्यसमाथि सोह्रश्राद्ध चलिरहेकाले पनि संसद भवनको शिलान्यास गर्नु ठिक होइन् । त्योभन्दा पनि महत्वपूर्ण कुरा असोज महिना, चौथी र सक्रान्तिको दिन शुभकार्यका लागि साह्रै अनिष्ठ दिन हो । यस्तो अनिष्ठ दिन पारेर किन संसद भवनको शिलान्यास गरियो ? भन्ने कुराले आफूहरुले सशंकित बनाएको नेपाल ज्योतिष परिषद्का अध्यक्ष माधव पाण्डे बताउँछन् ।

उनी भन्छन्– जुनकुरा हुनैनहुने, त्यही काम भयो । बरु वैद्धिक विधिअनुसार नगरेर रिवन मात्रै काटेको भए पनि हुन्थ्यो । केही समय कुरेको भए पनि हुन्थ्यो । हतार हतार सुरु गर्नुपर्ने के थियो र त्यस्तो ? यहाँ त पण्डित अगाडि बसेर मन्त्रोचारण गरेर गरिएको काम भएकाले ती कस्ता पण्डित हुन ? भन्ने पनि हाम्रो प्रश्न हो । पाण्डेले यति गम्भीर विषयमा पञ्चाङ्ग निर्णायक समिति मौन बसेको भन्दै आलोचना पनि गरे ।

ठूलोबडाले जे गर्यो, हाम्रोमा त्यही ठिक हुन्छ भन्ने गलत संस्कार विकास हुँदै गएको भन्दै उनले शुक्र अस्त, पितृ पक्ष, चौथी तिथी, सक्रान्ति, असोज महिना सबै हिसावले संसद भवनको शिलान्यास अशुभ भएको बताए ।

पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष रामचन्द्र गौतमले प्रधानमन्त्रीबाट भएको शिलान्यासको कडा आलोचना गरे । उनी भन्छन्– एउटा सानो घर बनाउन त साइत हेरेर गर्ने हाम्रो चलन छ । यहाँ त साह्रै अशुल दिन पारेर संसद भवन जस्तो महत्वपूर्ण कार्यको थालनी गर्ने काम भएको छ । हामीलाई एक शब्द सोधिएन् । कोसँग सल्लाह गरियो ? यत्रो राष्ट्रको भाग्य कोर्ने ठाउँ बनाउने कुरामा । हामी नै छक परेका छौं ।

गौतमले यस विषयले पञ्चाङ्ग समितिभित्र रहेका सबै विज्ञहरुलाई चिन्तित बनाएको बताउँदै चाँडै बैठक बसेर समितिले आफ्नो धारणा सार्वजनिक गर्ने बताए । उनले थपे– यहाँ सबैभन्दा ठूलो कमजोरी पण्डितहरुबाट भएको देखिन्छ । यो बेलामा गृहारम्भ गर्न हुँदैहुँदैन भन्ने थाहा पाउँदा पाउँदै र पात्रो लेखिँदा लेखिँदै प्रधानमन्त्रीको कार्यक्रममा गएपछि ठूलो मान्छे भइन्छ । पैसा पनि पाइन्छ भन्ने लोभमा लाचार पण्डितहरुले यत्रो अशुल कार्य गर्न दिन हुन्छ ?

गौतमले गलत काम गर्ने पण्डितहरुलाई कारवाही गर्न पनि समितिले सिफारिस गर्ने बताए । उनले पैसाका लागि जे पनि गर्ने प्रवृत्ति हाम्रो (पण्डितहरु)को समुदायमा बढ्दै गएको बताए । गौतमले प्रधानमन्त्री निवास पनि अशुल साइतमा शिलान्यास गरिएको भन्दै आलोचना गरे । प्रधानमन्त्री निकास असोज २ गते शिलान्यास भएको थियो ।

उनले पछिल्लो समयमा वैद्धिक सनातक धर्मलाई कमजोर बनाउने प्रयास भइरहेको भन्दै विधिलाई नमान्ने हो भने वैद्धिक सनातन धर्म समुल नष्ट गरेको घोषणा गर्न पनि चुनौति दिए । गौतमले समिति प्राज्ञिक संस्था मात्रै भएकाले धेरै कुरा आफूहरुले गर्न नसक्ने बाध्यता सुनाए ।

Advertisement

Advertisement

Advertisement